Wednesday, April 3, 2013

जिद्दीको अगाडी दैवले पनि हार्छ



एकजना मान्छेले आफ्नै मृत्‍यु भयो भन्ने ठानेछ । दुनियाँले सम्झाए - 'तँ मरेको छैनस् । जिउँदै छस् । किन आँफैले आफुलाई मरिसके भन्छस् !' उस्ले मानेन । उस्लाई डाक्टरकोमा लगियो । डाक्टरले पनि 'तपाईं जिँउदै हुनुहुन्छ । सत्य कुरा स्विकार्नुस् ।' भनेर सम्झायो । तर उस्ले मानेन । अन्त्यमा डक्टरले भन्यो - 'म तपाईंको शरीरमा कतै काट्छु । रगत आएछ भने तपाईं जिँउदै हुनुहुन्छ भनेर तपाईं मान्नुस् । रगत आएन भने म तपाईंको कुरामा सहमत हुन्छु । हुन्छ ?' । त्यो मान्छे डाक्टरको कुरा मान्न राजी भयो । अनी डाक्टरले उस्को हातमा काट्यो । रगत आयो । त्यो मान्छेले 'यहाँ मात्र काटेर हुन्न । अन्त पनि काट्नुहोस्' भन्ने आग्रह गर्‍यो । तर जती ठाउँ काट्यो त्यती ठाउँ रगत आयो । अनी त्यो जिद्दी मान्छेले अन्त्यमा के भन्यो थाहा छ ?

उस्ले भन्यो - 'माफ गर्नुहोस् डाक्टर साहेब, म गलत रहेछु । मरेको मान्छेको पनि रगत आउँदो रहेछ !'

सबैजना त्यो मान्छेसँग हार खाए ।

त्यस्ता मान्छेहरु समाजमा प्रसस्त छन् । मैले जानेबुझेको अनुभव र ज्ञानको आधारमा कतीपय ब्यक्तीलाई 'सत्य यो हो' भनेर सम्झाउँने प्रयास गर्छु तर उनिहरु मान्नेवाला छैनन् । त्यसैले कहिले-काँही म जानी-बुझी उनिहरुसँग हारिदिन्छु । सोंच्छु शायद उनिहरुले पनि मलाई त्यही सोच्दोहुन् जुन मैले उनिहरुको बारेमा सोंच्छु !

- योगेश कुमार खपाङगी

No comments: