Thursday, April 4, 2013

जय देश - जय किसान !


आधुनिकता भनेको के हो ? आधुनिकताको मापन के हो ? के गर्दा आधुनिक भईन्छ-के गर्दा पुरातन ? त्यस्को जवाफ कठिन छ । किनकी अठारौं शताब्दीका मान्छेले पनि आफुलाई आधुनिक नै भन्थे । अनी अहिलेको युगलाई पनि हामी आधुनिक नै भन्छौं । खास कुरा के हो त ! घोत्लिने हो भने बिज्ञानसम्मत र समय अनुसार आफुलाई ढाल्दै जानु नै आधुनिकता हो । यसै क्रममा एक जना मित्रले सकारात्मक सोचका साथ एउटा बिचार राखे - 'तपाई हामीले गरेको कृषिले केही नाफा हुदैन .... औधोगिक रूपमा कृषि औजार प्रयोग गरेर, उन्नत बिउ बिजन, अनुसन्धान, मल आदि सबै पुर्याउन ठूलो कम्पनिनै खोलेर खेतीपाती नगरी कसरी कृषिको बिकास होला र ?' कुरा ठिकै हो । तर हाम्रा पिता-पुर्खाले जुन तरिकाले खेतिपाती गर्थे त्यो पनि आधुनिक खेतीपाती नै हो । गोरु नारेर भूमी जोत्नु पनि आधुनिकता नै हो । पर्म (बाटर सिस्टम) लगाएर धान रोप्नु पनि आधुनिकता नै हो । तर अचेल केही यस्ता मान्छेहरु पनि छन् जस्ले आधुनिकताको परिभाषा बदलेका छन् । युरोपियन र अमेरिकिहरुको अन्धाधुन्द नक्कल गर्नु नै आधुनिकता हो भन्ठान्छन् । यस्तो बिचार फैलाउनमा पढेलेखेका आफुलाई शिक्षित भनाउने शहरी बर्ग, ब्यापारी र बिज्ञापन पाउने लोभमा मिडियाले गरेका छन् ।



उनिहरुले भने जस्तो आधुनिकताको चक्करमा पर्ने हो भने कृषिमा अहिले जती फाईदा छ त्यती पनि हुन्न । बरु उल्टो किसानलाई थप घाटा सहनु पर्ने तथा बिउ-बिजन र रासायनिक मलको लागि परनिर्भर हुनुपर्छ । एउटा उदाहरन दिन्छु - आधुनिकताको नाममा ट्राक्टर किन्नु पर्‍यो । सानो-तिनो रकमले ट्राक्टर किन्न पाइँदैन । त्यस्का लागि बैंकबाट रिन लिनुपर्‍यो । ब्याज बेला-बेलामा तिरेन भने बैंकले ब्याजको स्याज, स्याजको प्याज बनाउँछ । अन्त्यमा गरिखाने खेत पनि लीलाम गर्दिन्छ । जसो-तसो ट्राक्टर किनियो रे ।  ट्राक्टरलाई तेल नहाली चलाउन सकिदैन । त्यसकारण बिदेशबाट आयातित अत्यन्त महँगो डिजेल किन्नु पर्‍यो । बेला-बेलामा त्यस्को मर्म्मत पनि गर्नु पर्‍यो । त्यस्का लागि मेकानिकलाई पैसा बुझाउनु पर्‍यो । टायर खीईन्छ, किन्नु पर्‍यो । टायर कम पैसाले आउँदैन । अब आधुनिक कृषिका लागि बाली काट्ने औजार पनि त आधुनिक नै हुनुपर्‍यो । त्यस्का लागि पनि बैंकबाटै रिन लिनुपर्‍यो । अब गरीब किसानको टाउकोमा रिन माथि रिन थपिदै जान्छ । त्यो बाली काट्ने औजार पनि जसो तसो किनियो रे । तर त्यस्कोलागी पनि ट्र्याक्टरलाई जती खर्च गर्नुपर्थ्यो शायद अझ बढी गर्नुपर्ला तर कम्ती खर्चले त्यो पनि चल्दैन । अझ लगानी बढ्यो । फेरी अर्को कुरा ट्राक्टरले लगातार जोत्यो भने ४-५ बर्ष पछी जमिन बढी थिचिएर उब्जनी गर्नसक्ने शक्ती घट्छ । अनी बिउ पनि उन्नत चाहियो । उन्नत भन्नाले हाइब्रिड चाहियो । हाइब्रिड बिउ-बिजन पनि बिदेशकै भर पर्नु पर्‍यो । हाइब्रिड बिउ प्राय: नपुङ्सक हुन्छ । त्यस्मा आवश्यक प्रोटिन, खनिज लगायतका तत्व पनि हुन्नन । जस्ले गर्दा हाइब्रिड बिउबाट उत्पादित अन्न-बालीको माग विश्वमा घट्दो छ । त्यसैले बिउ किन्न सजिलै भए पनि राम्रो मुल्यमा बेच्न साह्रै कठिन छ । हाइब्रिड बिउलाई मल पनि युरिया लगायतका उन्नत नै चाहियो । त्यस्का लागि पनि बिदेशीकै मुख नताकी हुन्न । हाइब्रिड खेतीमा किटनासक हाल्नु पर्‍यो । त्यो पनि आधुनिक र उन्नत नै चाहियो । त्यस्को फ्याक्ट्री नेपालमा छैन । त्यो पनि बिदेशीकै मुख ताक्नुपर्‍यो । अब महंगोमा किनेको किट्नासक छर्कन पनि आधुनिक र बैज्ञानीक मेसिनहरु चाहियो । खर्चै-खर्च । त्यत्रो खर्च र दु:ख गरेर उब्जाएको अन्न बेच्दा आखिरमा किसानलाई केही फाईदा हुन्न । बिचौलियाले कौडीको भाउमा किनेर कुरुस्त नाफा कमाउँछ । जब कि किसान रिन माथि रिनमा पर्दै जान्छ । झन-झन उकासिनुको साटो किसान डुब्दै जान्छ । आखिर बैंक, आधुनिकता र बैज्ञानीक खेतीको चक्करमा परेर किसानको जमिन खोसिन्छ । त्यो जमिन कस्को हातमा पर्छ त ? धनी-पुंजीपतीको । देशको पैसा कहाँ जान्छ त ? - बिदेशमा । एकातिर आधुनिकताको चक्करमा किसान परनिर्भर हुन्छ । अर्कोतिर बाताबरणको बिनास पनि हुन्छ । त्यती मात्र नभएर पुरानो शिप र स्थानिय (लोकल)बिउ-बिजनको बिनाश पनि हुन्छ ।


यो भन्दा त हाम्रा पुर्खाले गर्ने खेती प्रणाली कता हो कता स्वाबलम्बी र बैज्ञानीक छ । किनभने हाम्रा पुर्खाले बिउ आफ्नै माटोमा उब्जिएको स्थानिय प्रयोग गर्थे । जस्का लागि युरोप-अमेरिकाको हिंजडा बिउको आश गर्नुपरेन । आफुसँग भएको बिउ प्रयोग गर्ने बित्तिकै लगानी घट्यो । जमिन जोत्न गोरु पाल्नुपर्छ । गोरुलाई ट्र्याक्टरलाई जस्तो इन्धन हाल्नु पर्दैन । खेतीमै भएको घाँस भए पुग्छ । त्यस्का लागि खर्च गर्नु परेन । फेरी लगानी घट्यो । अब मलको लागि त्यही गाई-गोरुको गोबर र सोत्तर भए हुन्छ । रासायनिक मलको लागि जस्तै बिदेशीको आश पनि गर्नु परेन । किटनाशकको रुपमा खरानी र गाईको पिसाब प्रयोग गर्थे । त्यस्का लागि पनि खर्च भएन । अनी अन्न बाली ओसार-पसार गर्न पशुले तान्ने गाडा प्रयोग गर्थे । न मेन्टेनेन्सको टन्टा न इन्धनको पिर । लोकल बिउ-बिजनबाट फलाईएको अन्न हाइब्रिड जस्तो चाँडो कुहुदैन । जती समय स्टोर गरेर राखे पनि हुन्छ । खानमा स्वादिलो र पोषिलो पनि हुन्छ । एकातिर श्वास्थ्य लाभ भयो अर्कातिर घरका सबैलाई रोजगारी पनि भयो । अब कम लगानी गरेर फलाएको अन्न बजारमा अलिकती सस्तो दाममै बेच्दा पनि खासै घाटा हुँदैन । सबैले श्वास्थ्यको महत्व बुझन थालेका छन् । त्यसैले हाइजेनिक अन्न, साग-पात, सब्जी र फलफुलको माग विश्वब्यापी रुपमा बढ्दोक्रममा छ ।  त्यसमाथी सरकारले आँफैले उचित दाममा किन्दिएर बिचौलिया हटाउने काम गरे त फाईदै-फाईदा !

त्यसैले आधुनिकताको नाममा युरोपियन र अमेरिकिहरुको अन्धाधुन्द नक्कल गर्न छोडौं । हाम्रा पिता पुर्खाले गरीआएको तरिका नै बैज्ञानीक, आधुनिक र दिगो छ । देशको पैसा देशमै राखौं- स्वाभलम्बी बनौं । जय देश - जय किसान !

- योगेश कुमार खपाङगी

Post a Comment