Saturday, January 7, 2017

अन्धविश्वासको चार महिने तस्वीर : अरु मंगलमा, हामी धामी–झाँक्रीकोमा !

- योगेश कुमार खपाङ्गी

संसार अहिले २१औं शताब्दीको संघारमा छ । गुगल, फेसबुक, माइक्रोसफ्ट जस्ता बहुराष्ट्रिय कम्पनीले मान्छेलाई कसरी अजर–अमर बनाउन सकिन्छ भन्ने अनुसन्धानका लागि करौंडौ रकम खर्चिरहेको छ । भने अमेरिकी अनुसन्धान संस्थान नासा मंगलग्रहमा बस्ती बसाउने कुरामा अनुसन्धानरत् छ । तर यसै बिच नेपालमा बोक्सी÷बोक्सा भएको आरोपमा मानव मलमूत्र खुवाउने, हत्या गर्ने, छाउपडीको नाममा महिलाहरु माथी अत्याचार गर्ने, छुवाछूत गरेर आफूजस्तै मान्छेलाई अपमानित गर्ने, दाइजोको लागि हत्या–हिंसा गर्ने तथा संस्कृतिको नाममा अबोध पशुहरुको बली दिने जस्ता खबर दिन–दिनै अखवारहरुको हेडलाईन बन्ने गर्छ ।

यसै सन्दर्भमा मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था 'सोच नेपाल'ले सार्वजनिक गरेको प्रतिवेदनले समाजको यो कहाली लाग्दो अनुहार देखाएको छ । संस्थाले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र नेपाल समाचार पत्र दैनिक मा प्रकाशित समाचारहरुलाई आधार बनाएर प्रतिवेदन बनाएको हो । प्रतिवेदन भन्छ – गत भदौ १ गते देखि मंसिर ३० गते सम्म मात्रै पनि कुरीतिजन्य हिंसाका ३४ वटा घटनाहरु दैनिक पत्रिकामा सार्वजनिक भएका छन् ।



यो अवधीमा बोक्सी प्रथा ७, बालबिबाहका ४, छाउपडी १, छुवाछुतका ३, दाइजो प्रथा ४, विधुवा प्रथा २, वलि प्रथा १, धामी झाँक्री ५, हलिया ५, कुमारी प्रथा १ गरी ३४ घटनाहरु सार्वजनिक भएका छन् ।

१. बोक्सी


यो अवधीमा बोक्सी सम्बन्धी सात वटा घटनाहरु सार्वजनिक भएका छन् ।

दाङ :
तुलसीपुर नगरपालिका—१९ जसपुरकी ६५ वर्षीया मोती परियारलाई बोक्सी आरोपमा कुटपिट गरेको अभियोगमा प्रहरीले तुलसीपुर—२० की अनिता भण्डारीलाई पक्राउ गरेको छ । छोरा लामो समयदेखी बिरामी भएका कारण भदौ ३० गते नवलपुरमा लाग्ने मेलामा धामीलाई अक्षता हेराउने बेला दलित र बोक्सी आएर अनिष्ट भएको भन्दै कुटपिट गरेको पीडितको गुनासो छ ।

बाँके :
नौबस्ती—९ तिलकपुरका २१ वर्षीया दिनेश थारुले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारुलाई चिरपटले हानेर हत्या गरेका हुन् । विवाह गरेको दुई महिनापछी नै कल्पना थारु बिरामी पर्न थालीन् । उपचार गराइन्, तर चार वर्ष सम्म पनि निको नभई उल्टै दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति धामीझाँक्री कहाँ धाउन थाले र बोक्सीको कारण भएको शंकामा राती ८ बजे छिमेकीको आँगनमा मकै छोडाइ रहेको बेला डन्डीको हत्या गरेका हुन् ।

खोटाङ :
च्यानडाँडा—१ छोरालाई बोक्सी लागेर बोल्न नसक्ने बनाएको आरोप लगाउँदै स्थानीय धनगन्ज राई दम्पतीले ७२ वर्षीया एकल वृद्वालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । तीन महिना बित्दा पनि पीडित वृद्वाले न्याय पाउन सकेनन् भने प्रहरीले समेत कमजोर मुद्दा चलाएर दोषीलाई कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिन खोजिएको देखिएको थियो ।

जनकपुरधाम :
खरीहानी गाविसा सिमराढी वडा नं ५ निवासी ६० वर्षीया वृद्वा जानकीदेवी कापडलाई बोक्सी आरोपमा स्थानीयले वर्ष दिनदेखी लगातार यातना तथा कुटपिट गर्दै आएका हुन् । गरिब परिवारकी कापडलाई कुटपिटका कारण उनको हातखुट्ठामा चोटपटक लागे पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि घटना बाहिर आएको हो ।

दोलखा :
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको तिर्थामाया बिक सहन नसकेर न्याय माग्दै सदरमुकाम पुगेइन् । देवरहरुले अघिल्लो वर्ष पनि बोक्सी आरोपमा दिसा र पिसाब खुवाउन खोजेको पीडितले बताए ।

वीरगन्ज : 
पर्साको बहुअर्वाभठा गाविस ६ गर्दौलकी ६० वर्षीया राधिकादेवी तुरहिनलाई छिमेकी रामानन्द बिन र उनका छोरा मुकेश बिनले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित राधिकादेविका छोरा बैजनाथले बताए । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

काभ्रे :
सानो गौथली वडा नं ७ निवासी ३३ वर्षीया लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर निर्घात कुटपिट गर्दा उनको मृत्यु भयो । स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा परियारलाई डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । आफुमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरीमा निवेदन दिएका थिए र स्थानीयले मिलापत्र गराएको २४ घन्टा नबित्दै परियारको मृत्यु भएको थियो ।

२. बालबिबाह



यो अवधीमा बालविवाह सम्बन्धी चार वटा घटनाहरु सार्वजनिक भएका छन् ।

पाल्पा :
ज्यामिरेस्थित लाभेदाकी १५ वर्षीया दीपा आले टाढाको विद्यालय पढ्न जान नसक पछि बिहेलाई रोजेको बताइन् । साथी–संगतको लहै–लहैमा र विद्यालय जान टाढा भएपछि पढ्नुभन्दा बिहे गर्न राम्रो ठानिन् ।

पर्वत :
चित्रे गाविस—८ की रितु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग विवाह गरिन् । विवाह गरेको केहि महिनापछि नै उनी गर्भवती भइन् । उमेर नपुगीकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्याहरु देखिए । अहिले उनको पहिलो सन्तान दुई वर्षको भइसकेको छ भने लगत्तै दोस्रो सन्तान पनि जन्माइन्, दोस्रो सन्तान एक वर्षको काखमा छ ।

महोत्तरी :
फुलकाहा—९, जमुनियामा जबरजस्ती बालविवाह गराउन लक्ष्मण चौधरीको घरमा बन्धक बनाएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई प्रहरी र बालअधिकार संरक्षणकर्मीले उद्घार गरेका छन् । लक्ष्मणका १६ वर्षीया छोरा कृष्णसँग प्रेमसम्बन्ध रहेको भन्दै गाँउका कथित पञ्चभलाद्मीहरुले केटा पक्षलाई ८० हजार भने केटी पक्षलाई ५० हजार जरिबाना गराई किशोरीलाई जबरजस्ती कृष्णको घरमा राखेका थिए ।

महोत्तरी : 
फुलकाहा—९ जमुनियामा १३ वर्षीया अञ्जली चौधरी र रुपेश चौधरीको प्रेमसम्बन्ध रहेको भन्दै गाँउका पञ्चहरुले केटा पक्षलाई ७५ हजार र केटी पक्षलाई ४० हजार जरिबाना माग्दै मंसिर १८ मा विवाह गराउने निधो गरेका थिए । रुपेशको आफन्तको निधन भएपछि विवाह रोकिएको स्थानीयले बताए ।

३. जातीय छुवाछुत


यो अवधीमा जातीय छुवाछुत सम्बन्धी तीन वटा घटनाहरु सार्वजनिक भएका छन् ।

चैनपुर :
रिलु गाविस ८ द्वारीमा लागेको हरेलो मेलामा स्थानीय लालबहादुर आग्रीले मन्दिर छोएपछि सुनसहित नगद जरिवान तिरेका छन् । रिलु गाविस घरभएका आग्रीले भक्तजनका लागि प्रसाद पकाएको स्थान र कालिका देवीको मन्दिरमा प्रवेश गरेपछि एक आना सुनसहित २ हजार नगद

सिराहा :
कुर्बा हनुमाननगरमा स्थानीय लिलिय मल्लिक र जहरी मल्लिकलाई कथित उच्च जातका गाँउलेले छठको अवसरमा मुलबाटो हिड्नु र पोखरीघाट जान रोक लगाए । मल्लिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाट सफाइ गरे पनि आफ्नै बारीमा खाल्डो खनेर ट्युबवेलको पानी जमाएर जेनतेन छठ मनाउन बाध्य भएका थिए ।

सुर्खेत : 
सालकोट ७ दुई वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोड्ने तयारीमा रहेका टीकाराम बिकले छिमेकी गाविस बाबियाचौर ८ की कठायत युवतीलाई दिदीको घरमा ल्याइसकेका थिए तर माइतीले दलित युवासँग छोरी भागेको थाहा पाएपछि बिहेमा अवरोध हुने भएमा कारण उनीहरु इन्डिया भागे । भाग्ने क्रममा बेचबिखन गर्न लगेको भन्दै नेपालगन्जमा झुटा मुद्दा लगाएर फसाएका थिए । माइती पक्षको दबाबपछि युवतीले नै टिकाराम विरुद्घ मुद्दा दिएको परिवारको आरोप थियो ।

४. विधुवा प्रथा


चार महिनाको अवधीमा विधुवा प्रथा सम्बन्धी दुई वटा समाचार प्रकाशित भएको छ ।

वीरगन्ज :
पर्साको विश्रामपुर घर भएकी ४० वर्षे एकल महिला उर्मिला देवी श्रीमानको मृत्यु भए यता वर्षदेखी कुटपिट सहँदै आएकी छिन् । परिवारका ससुरा, जेठान, जेठानी र उनीहरुका छोराछोरी मन लागेको बेला गालि गर्ने तथा कुटपिट गर्ने गरेको र टोलछिमेककाले पनि मन लागेको बेला निहँु झिकेर कुटिहाल्ने पिडीतको गुनासो छ ।

सप्तरी :

भारदह, मधेस आन्दोलनमा प्रहरीको गोली लागेर श्रीमानको मृत्यु भएपछि नीलमलाई सासू र ससुराले घर छोड्न दबाब दिइरहेका छन् । छोरासँग खुसीसाथ विवाह गराए पनि छोरा नभएपछि बुहारी राख्न अस्वीकार गर्दै दुःख दिइरहेको पिडीतको भनाई छ ।

५. हलिया



यो अवधीमा हलिया सम्बन्धि पाँच वटा समाचार प्रकाशित भएको छ ।

बाजुरा :
कोटीला २ खोया गाँउका धनमले लोहारको जीवनभर स्थानीय कालीबहादुर मल्ल परिवारको हलिया बस्दा बस्दै मृत्यु भयो । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरेपछि धनमलका छोराहरुले मुक्तिको परिचयपत्र त पाए तर जीवन निर्वाह गर्न फरि साहूहरुकै घरमा हलिया बस्न बाध्य छन् ।

जाजरकोट :
पुस्तौंदेखि हलिया बस्दै आएका जाजरकोट दह —९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ वर्षअघि निकै खुसी थिए तर जीवन निर्वाह सहज नभएपछि निराश छन् । गानोका हजुरबुबा जयवीर दमाईले गाउँकै मुने बस्नेतका बाजेबाट ऋणस्वरुप लिएको एक सय रुपैयाँ तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए ।

बाजुरा :
बधु, पिपलडाँडा—५ मानबिर लुवारले पाँच वर्ष पहिले लिएको ६ हजार तिर्न नसक्दा स्थानीय डबल कार्कीकोमा हलिया बस्न बाध्य भए । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरे पनि उनिहरुमा कुनै फरक नरहेको मानबिरले बताए ।

डडेल्धुरा :
कैलपालमाडौं—१ मोईका २० वर्षदेखि साहुको घरमा काम गर्दै आएका टिकाराम टमटाले हलियामुक्तको परिचयपत्र पाए पनि साहुबाट मुक्त नभएको बताए ।

बझाङ : 
सरकारले बझाङका मुक्त हलियालाई दिने जग्गा खरिद तथा घर निर्माणको राहत रकम रोकिएको छ । चैनपुर, डाडागाउँका रंगे सार्कीले मालपोत कार्यलयामा जग्गा खरिद भनेर दुई लाख रुपैयाँको सम्झौता गरे पनि एक लाख ५० हजार रुपैयाँ मात्र पाएको गुनासो छ ।

६. छाउपडी



चार महिनाको अवधीमा छाउपडी सम्बन्धी एक वटा समाचार प्रकाशित भएको छ ।

अछाम :
तिमिल्सेना—८ डम्मरा उपाध्यायको घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा ज्यान गएको छ । राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन ।

७. बलि प्रथा



चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी एक वटा समाचार प्रकाशित भएको छ ।

काठमाडौं :
स्वयम्वु, सानोभप्याङ स्थित घरको अँध्यारो कोठामा धादिङकी एक युवती र युवकलाई बली दिनको लागि १८ दिनसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । ओमकार शाह व्यापार व्यवसाय भन्दा तन्त्र–मन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिरहँदा भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे । पहरीले मानव बलि दिने व्यवस्था गरे चमत्कार हुने सुनेपछि शाह त्यसको तयारीमा जुटे । पीडित युवतीलाई उनकै कान्छा बुबाका छोराले फकाएर तान्त्रिक कहाँ ल्याए र दिनहुँ पूजामा सहभागी गराउने गरेका थिए । बेहोसीमा युवतीलाई तान्त्रिकले बलि दिने कुरा बताएपछि रजस्वला भएको मौका छोपी दाइलाई लिएर भागिन् । युवतीले धादिङ प्रहरीमा जाहेरी दिएपछि थप अनुसन्धान गर्दा युवतीले भनेको ठाउँमा सामाग्री भेटेपछि आरोपीलाई पक्राउ गरेका हुन् ।

८. दाइजो



चार महिनाको अवधीमा दाइजो प्रथा सम्बन्धी चार वटा समाचार प्रकाशित भएको छ ।

बिराटनगर :
भारतीय ज्वाँइलाई छोरो बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने रंगेली ४ चोप्राहाका वीरेन्द्रप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले आफ्नी छोरी अनितादेवीको विवाह सुरजसँग गराउँदा दाइजोका नाममा नेपाली नागरिकता बनाइदिने सहमति गरेको खुलेको छ ।

नेपालगन्ज :
जयसपुर २ की १८ वर्षीया बैसर जाहाँ अन्सारी दाइजोकै कारण श्रीमानलगायत घरपरिवारका सदस्यबाट हिंसामा परिन् । श्रीमान रहमत अलीसँग पछि मिलापत्र भएको छ ।

नेपालगन्ज :
नेपालगन्ज ३ की लब्ली सोनीलाई ६ लाख दाइजो नल्याएको आरोपमा यातना दिएपछि २ वर्षदेखि माइतीमा नै बस्दै आएकी छन् ।

सर्लाही :
मूतिया ५ की २० वषीया अमृता कुमारीले सामाजिक परम्पराअनुसार ०७२ मंसिरमा लालबन्दिका सागर महतोसँग बिहे गर्दा अमृताको परिवारलाई आठ लाख रुपैयाँभन्दा बढी खर्च भयो । विवाह भएको केही महिनामै अर्मतालाई श्रीमान्को घरमा बस्न दिएनन्, उनी माइतीमा बस्दैछिन् ।

९. कुमारी


चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी दुई वटा समाचार प्रकाशित भएको छ ।

भक्तपुर :
जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक जम्मा ३ हजार ५० रुपैयाँ मात्र छ । काठमाडौं र ललितपुरका कुमारीको पारिश्रमिक भने भक्तपुरकी कुमारीभन्दा बढी छ ।

ललितपुर : 
१० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किए पछि शिक्षाको महत्वको बारेमा बोल्दै आएकी छन्, पाटनकी पूर्वकुमारी चनिया बज्राचार्य । कुमारीको जीवनमा भोगेका समस्या के–कस्ता हुन्छन् भन्ने कुरा उनले त्यहाँबाट निस्के पछि बताउन थालेकी हुन् । बज्राचार्यको अनुसार कुमारी बन्दा शिक्षक खोज्ने, उनीहरुलाई तलब खुवाउने कुरामा पनि समस्या छ ।

१०. धामी–झाँक्री प्रथा



चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी पाँच वटा समाचार प्रकाशित भएको छ ।

लमजुङ : 
प्यारजुङस्थित बुद्वमिलन माविका विद्यार्थीहरु बर्बराउँदै दौडने, रुने, कराउने, आफ्नै कपाल भुतल्याउने समस्या देखा परेपछि विद्यार्थी राखेर पूजापाठ गरिएको थियो । पूजापाठ पाचोकका नाम चलेका झाँक्री देवीराम तामाङले गरेका थिए ।

कालिकोट :
चिलखायाँ—३ ससुराली बस्दै आएका हस्तबहादुर सिंहलाई धामी झाँक्री बसाल्ने विषयमा बिाद हुँदा सोही ठाँउका सबै गाँउले मिलि सामूहिक रुपमा आक्रमण गरेका र उपचारकै क्रममा घाइतेको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।

दैलेख :
द्वन्द्वको समयमा भुत–प्रेत हुँदैन र देवी–देउता मान्नु हुँदैन भनेर भनेर धामी पुजारीका टुप्पी काट्ने माओवादीका कार्यकर्ता धामी भएको देखेर गाउँका सबै मानिस अचम्ममा परेका छन् । यसरी धामी हुनेमा चामुण्डा—७ का नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना रामबहादुर शाही हुन् ।

सिन्धुपाल्चोक : 
हैबुङ—५ कान्छिमाया तामाङको स्तनको घाउ गहिरिने र छातीमा फैलने क्रम जारी छ तर खर्चको अभावका कारण उनको उपचार हुनसकेको छैन । अस्पताल नगए पनि घाउ दुखेर चल्न नसक्दा झारफुकका लागि धामीझाँक्री बोलाउने गरेकी छिन् । वर्षौदेखीको छातीको घाउ झारफुक र जडीबुटीले केही असर नगरेको स्थानीय सेते तामाङले बताए ।

बाँके :
बर्दिया धधवारका धनीराम थारुको हात खुट्टा असाध्यै दुखेपछि गाँउका गुरुवा (झाँक्री) लाई देखाए र गुरुवाले भुत नलागेको भनेर फर्काए । खुट्टाको दुखाई कम नभएपछि डाक्टरलाई देखाउँदा धनीरामलाई ‘सिकलसेल एनिमिया’ भएको पुष्टि गरेका थिए ।
गत चौमासिकको तुलनामा यस चौमासिकमा गरिएका कुरीतिजन्य घटनाको संख्यात्मक तुलना तलको ग्राफमा गरिएको छ :

Graph: Society for Humanism (SOCH) Nepal

गत महिनाको ग्राफ हेर्दा यो महिनामा बोक्सि प्रथाको घटना बढेको छ । यो चौमासीकमा बोक्सि प्रथाको सात वटा घटना प्रकाशीत भएको देखिन्छ भने बालविवाह र दाइजो प्रथाको चार वटा घटना घटेको छ । ग्राफ अनुसार यो चौमासकिमा बालविवाहाको घटना कम भएको देखिन छ । दाईजो प्रथाको घटना पनि कम भएको देखिन्छ । त्यसैगरि गरी छुवाछुत प्रथा बढेको ग्राफमा देख्न सकिन्छ भने छुवाछुतको तीनवटा घटना सार्वजनिक भएको छ । त्यसैगरी बहुविवाहको घटना यो चौमासीकमा कुनै पनि घटना घटेको फेला परेन । उक्त ग्राफमा छाउपडीको जम्मा एक वटा घटना प्राप्त भएको छ भने बलि प्रथाको पनि एक वटा घटना सार्वजनिक भएको देखिन्छ । धामी–झाँक्रि प्रथा र हलिया प्रथा सम्बन्धि जम्मा पाँच वटा घटना प्रकाशीत भएको छ । त्यसैगरी कुमारी प्रथा र विधुवा प्रथाको दुईवटा घटना प्रकाशीत भएको छ

यसैबिच, यदी यस्तै तरिकाले दक्षीण एसियाको समाजलाई बिना रोकटोक चल्न दिने हो भने महिला र पुरुष बिचको असमानता हटाउन अझै एक हजार वर्ष लाग्ने वल्र्ड इकोनोमिक फोरमको सन् २०१६ को आँकडाले देखाएको छ । आँकडामा उस्ले पश्चिमी युरोपमा ४७ वर्ष, ल्याटिन अमेरिका र क्यारेबियनमा ६१ वर्ष, सब साहारन अफ्रिकामा ६३ वर्ष पूर्वी युरोप र मध्य एशियामा ९३ वर्ष, पूर्वी एशिया र प्याशिफिकमा १ सय ११ वर्ष, मध्यपूर्व एशिया र उत्तरी अफ्रिकामा ३ सय ५६ वर्षमा समानता आउने देखाएको छ भने नर्थ अमेरिका झन–झन पछाडि फर्किरहेको उल्लेख गरेको छ ।

अन्त्यमा, बिस्तारै समयले सबै अन्धबिश्वासको अन्त्य गर्दै लान्छ भन्ने हो भने सम्ब्रिद्धी हाम्रै जुनीमा त आउला तर चेतनास्तर आउन कयौं पिंढी लाग्नसक्छ । अत: जसरी कडा कानुन र त्यसको कार्यान्वयनका कारण सतीप्रथा बन्द गरियो, त्यसै यस्ता कूरिती र कुसंस्क्रितीको अन्त्य गरौं, चाहे त्यो धर्मको नाममा जेलिएको किन नहोस् ! 00

www.news24nepal.tv मा प्रकाशित

No comments: