Friday, November 23, 2012

कुरा बुझ्नु भो त ?



साप्ताहिक(कान्तिपुर पब्लिकेशन,काठमान्डु,नेपाल)मा प्रकाशित

Friday, November 16, 2012

भिंडतन्त्र


- योगेश कुमार खपाङगी

मेरा अङ्कल सुरेश भारतीले सुनाउनु भएको आफ्नै घटना : २०४६ सालको आम जनआन्दोलन ताकाको कुरो रे ! बिर्तामोडमा एउटा भिँड 'मन्डलेलाई ठोक, मन्डलेलाई ठोक !!' भन्दै दौडिराख्या'थ्यो रे ! अनी अङ्कल पनि 'मन्डलेलाई ठोक !' भन्दै दौडिनु भएछ ! त्यसै भिँडमा अङ्कललाई समेत दुई-चार जना मिलेर ठोक्न थालेछन् । जसो-तसो ज्यान बचाएर भाग्नु भएछ ! अनी त त्यो दिन मात्र अंकललाई थाहा भो रे 'आफुलाई 'मन्डले' भन्दा रहेछन् भनेर !

त्यस्तै घटना मलाई पनि जनआन्दोलन भाग-२ मा भयो । त्यतीखेर म 'गोरखापत्र'मा काम गर्थें । कुनै पनि कर्मचारी आन्दोलनमा लागेमा 'जाच' (जागिर चट्ट) सम्म हुनेछ भनेर अफिसले उर्दी जारी गर्या'थ्यो । तापनी आन्दोलनमा सरिक हुन मेरो पायकको ठाँउ गोङगबुसम्म पुगें । भींडमा सामेल भएको एक्कै छिन मात्र भा'थ्यो । एउटा डेढअक्कलीले मलाई त 'सरकारी जासुस' पो भन्यो । अनी मैले त्यसै बेला झल्यास्स सुरेश अंकललाई सम्झें । अनी कुलेलम ठोकें ।

ओशोले भनेका छन् - 'भिंड्के हिस्सा मत बनो । क्यों कि भिंडके पास बुद्धी नही होते हैं ।' ठिकै भनेका होलान् । वास्तवमा लोकतान्त्रिक ब्यवस्थाको सबै भन्दा नराम्रो पक्ष भनेकै यही हो; 'भिंडको निर्णय ठीक भन्नु पर्छ, चाहे त्यो गलत नै किन नहोस् ।'

हुनत विश्वपरिस्थिती हेर्दा लोकतन्त्र भन्दा अरु गतिलो ब्यवस्था नै छैन । तापनी लोकतन्त्रको भनेको 'भिंडतन्त्र' पनि हो भन्दा गलत नै चैं नहोला कि ।

Tuesday, November 13, 2012

Did you understand?



साप्ताहिक(कान्तिपुर पब्लिकेशन,काठमान्डु,नेपाल)मा प्रकाशित

लोककथा


आहारिसेलाई सजाय !

कुनै गाउँमा दुई किसान दाजु-भाइ थिए । बाउले अंशमा बराबर खेत र बचेखुचेको सम्पत्ती दिएको भये पनि भाईको घरमा सुखै-सुख, दाईको घरमा दु:खै-दु:ख थियो । दाईचैंको एउटा घोडा थियो । त्यसैले खनजोत गरेर हात-मुख जोर्दै थियो । अभागी मोरोलाई जताबाट पनि दु:खै-दु:ख; एउटा भएको घोडा पनि मर्यो । खेत जोत्न खाँच्चै परेपछी भाईसँग घोडा माग्न गयो ।

भाईले भन्यो - 'पहिला मेरो खेत जोतिदे अनी मात्र तेरो जोत्न लैजा ! काम सकिने बित्तिकै घोडालाई दाना-पानी ख्वाएर खुरुक्क ल्याउलास् !'
'हस् !'- दाईले बिन्ती बिसायो ।

मरी-मरी भाईको खेत जोतिरहेको थियो । त्यसैबेला कसैले खित्का छोडेर हाँसेको सुन्यो । दांया-बाँया हेर्यो कोही थिएन ।
डराउँदै दाईचैंले भन्यो - 'को हो यसरी मलाई खिल्ली उडाएर हाँस्ने ? अगाडि देखा पर !'
एउटा डरलाग्दो आक्रिती देखा पर्‍यो र भन्यो - 'म तेरो दुर्भाग्य हो ! तेरो घरमा मेरो बास छ । तँलाई म अत्ती मनपराउँछु । त्यसैले तँलाई म जिन्दगी भर छोड्दिन बुजिस् !' भनेर त्यो  डरलाग्दो आक्रितीले फेरी अट्टहास गर्‍यो ।
डरले हतार-हतार भाईको खेत जोतीसकेर आफ्नो खेत जोत्न थाल्यो ।

गरीब भए पनि सधैं हाँसी-खुशी रहने दाईलाई आज अत्ती दुखी देखेर कसैले सोध्यो - 'के भो ? आज किन यती दुखी छौ ?'
फेरी भयभित हुंदै दाई सोध्यो - 'पहिला भन, को हो तिमी ?'
एउटा सानो बाँसको छेस्का देखा पर्‍यो र भन्न लाग्यो - 'म तिम्रो भाग्य हो ! के भो तिमीलाई ? बताऊ !'
अभागी दाईले सबिस्तार सबै कुरा सुनायो ।
उपाय सुझाउंदै बाँसको छेस्काले भन्यो - 'कुनै उपाय गरेर त्यो दुर्भाग्यलाई बोरामा हालेर घरभित्र नै पुरिदेऊ । अनी मलाई लिएर शहर जाऊ, अनी ब्यापार गर !'

अभागी दाईले छेस्काले भने अनुसार नै गर्‍यो र शहरमा गएर टूथपिक (दाँत कोट्याउने बाँसको छेस्का) लगायतको ब्यापार गर्‍यो । ब्यापार चम्किएर दाई चैं शहरकै नामी धनी बन्यो ।

दाई चैं धनी भएर आफु समान भएको थाहा पाएर भाई चैंलाई रात भरी निन्द्रा लागेन । अनी धन कमाएको रहस्य थाहा पाउन एकदिन भाई चैं दाइको घरमा पाहुना लाग्न गयो । खानपान गरिसकेपछी भाईले दाईलाई रहस्य बताउन अनुरोध गर्‍यो । सोझो दाईले सबै कुरा सबिस्तार सुनायो । रहस्य थाहा पाएर मक्ख पर्दै गाँउ फर्कियो । अनी  दाईको घरमुनी बोरामा गाडीएको दुर्भाग्यलाई निकालेर स्वतन्त्र गर्दियो । अट्टाहास गर्दै खुशी भएर दुर्भाग्यले भाई चैंलाई धन्यवाद दियो ! त्यसपछी भाईले भन्यो - 'ए मेरा प्यारा दुर्भाग्य ! तिम्रा मालिक अहिले शहरमा छन् ! जाऊ अब उन्कोमा ! तिमीलाई मैले स्वतन्त्र गर्दियें !'
दुर्भाग्यले खुशी हुँदै भन्यो - 'चिन्नु न जान्नुको ठाउँमा अब म कता जाउँ । मेरो मालिक यो संसारमा कोही छैन । म नै आफ्नो मालिक हुँ । मलाई जता मन लाग्यो त्यतै बस्छु । तिमी यती असल मान्छे रहेछौ । अब म तिमीलाई जिन्दगीभर छोड्ने छैन !'
यती भनेर दुर्भाग्यले फेरी अट्टहास गर्‍यो !

Monday, November 12, 2012

'नेगेटिव थिन्किङ'को परिणाम !

- योगेश कुमार खपाङगी

साइकल सिक्दा नलढ्ने मान्छे को होला ? कसै-कसैले त मान्छे समेत ठोकेका होलान् । मैले पनि ठोकेको छु । त्यस्तो किन हुन्छ ? जुन कुरा हामीले चाहेका थिएनौं । तर त्यही कुरा किन हुनुपरेको होला ? मेरो बिचारमा 'नेगेटिव थिन्किङ'को कारण हो । हामी कुनै कुरा 'कसरी राम्रो गर्न सकिन्छ' भन्दा पनि त्यो कुरालाई 'नराम्रो हुनबाट कसरी बचाउने' भन्ने तिर लाग्छौं । त्यसै कारण हामीले चलाएको साइकल-मोटरसाइकलले मान्छे, पशु वा बिजुलिको पोल ठोक्छ ।

हामी कुनै काम शुरु गर्नुपूर्व नै भगवान गणेशको पुजा गर्छौ; ता कि काम शुरु गरेपछी नबिग्रियोस्, बिघ्नबाधा नआवोस् भनेर । तर यदाकदा मात्र हामीले थालेको काम सफल हुन्छ । किन ? उत्तर हो -'नेगेटिव थिन्किङ'! हामीलाई आफुमाथी नै  पट्टकै भरोसा छैन, झन् अरुमाथी त हुने कुरै भएन । हामीलाई त कथित देवता माथी मात्र भरोसा छ । अनी देवता खुशी पार्न पट्टी मात्र ध्यान छ हाम्रो ।

काम गर्नेको इज्जत छैन हाम्रोमा । स्वदेश वा बिदेशमा मिहिनेत-मजदुरी गर्नेलाई-'भाँडा माझ्नेहरु, कुखुरा काट्नेहरु, फोहोर सोर्नेहरु, चिहान खन्नेहरु, लेबरहरु, खातेहरु' भनेर हियाएर बोल्छौ । तर रामनामी गेरुवस्त्र लगाउने वाक्पटुहरुलाई चैँ 'श्री १०८ गुरु' भनेर साष्टाङगदन्डवत्, मान-सम्मान गर्छौ हामी नेपाली । अनी कसरी बन्छ त हाम्रो देश ? हाम्रो सामाजिक ढाँचा देखेर पनि दिक्क लागेर आउँछ मलाई त !

Thursday, November 1, 2012

नीतीकथा



पाप र धर्म

एउटा बुढो गाँउलेको घोडाले घर छोडेर हिंडेछ । गाँउले चिन्तित बनेन ।
तर छिमेकीले खुच्चिङ मान्दै भनेछ -
'कुन जन्ममा पाप गरेको थियो, एउटा भएको घोडा पनि हरायो !'

केही समय पछी छोडेर हिंडेको घोडाले सातवटा जङगली घोडा लिएर घर फर्केछ ।
आठवटा घोडा पाये पनि गाँउले दङग थिएन ।
तर छिमेकीले आरिश गर्दै भनेछ -
'कुन जन्ममा धर्म गरेको थियो, हराएको घोडाले समेत सातवटा जङगली घोडा लिएर फर्कियो !'

एकदिन गाँउले सानो छोरो जङगली घोडामा चढ्दा पिठ्युबाट लडेर खुट्टा भाँचेर लंगडो भएछ । गाँउले बिचलित भएन ।
तर छिमेकीले खुच्चिङ मान्दै भनेछ -
'कुन जन्ममा पाप गरेको थियो, एउटा भएको छोरा पनि लंगडो भयो !'

पछी देशमा युद्ध सुरु भयो । सबै युवाले अनिबार्य सैनिकहरुसंग लडाँइमा जानुपर्ने भयो । गाँउलेको छोरो लंगडो भएको हुनाले लडाँइमा जानु नपर्ने भयो । फेरी पनि गाँउले दङग परेन ।
तर छिमेकीले दिक्क मान्दै भनेछ -
'कुन जन्ममा धर्म गरेको थियो, पराइको त छोरोपनी कती भाग्यमानी ! युद्धमा जानै परेन !'

- ताओ नीतीकथा