Tuesday, December 31, 2013

धनीको बिरोध किन ?


-योगेश कुमार खपाङ्गी 
नांगो-भुतुङ्गो भएर हिंड्ने महात्मा गान्धीको टेबलमा ब्यापारी जी.डी. बिरलाले साइन गरेको ब्ल्यांक-चेक नै राखिदिएका थिए । जुन पैसाको बलमा गान्धीले देशभरीका जनताको शक्ती एकत्रित गरे अनी अंग्रेजलाई भगाए । गान्धी एउटा बनिया (ब्यापारी) परिवारका ब्यक्ती थिए । तर गान्धीले जहिले पनि आफुलाई गरीबीको आवरणमा ओढाइराखे । उन्ले पब्लिक साइकोलोजी राम्रैसँग बुझेका थिए, कि भारतीय जनता धनी-मानीलाई मनपराउँदैन भन्ने ! महात्मा देखिन तथा नेता बन्न नांगो-भुतुङ्गो, भिकारी र कुरुप हुनुपर्छ भन्ने स्कुलिङ वास्तवमा गान्धीकै हो ।


इन्कार गर्न सकिन्न, बर्तमान विश्व धनमै टिकेको छ । अमेरिकासंग धन छ त्यसैले उसंग शक्ती छ । शक्ती छ, त्यसैले संसार डराउँछ । धन कमाउनु/बनाउनु पनि एउटा कलाकै काम हो । यो कला सितिमिती मान्छेहरुसँग हुँदैन । जोसँग छ त्यस्तो कला छ, सकिन्छ भने उनिहरुको बुद्धीको उपयोग गर्नुपर्छ । उनिहरुलाई निती-निर्माणको ठाउँमा लानु पर्छ । ताकी उनिहरुको संलग्नताले गर्दा देशको आर्थिक निती परीणाममुखी बन्न सकोस् । निती गतिलो भयो भने मात्र हामी पनि विश्व-प्रतिस्पर्धी दौडमा दौडिन सक्छौं । धन र धनीलाई तिरस्कार/इर्ष्या गरेर होइन प्रेम र उपयोग गरेर मात्र हामी पनि धनी बन्न सक्छौ, सम्रिद्ध नेपाल बनाउन सक्नेछौं ।

एउटा गीत सुन्नु भएको होला नि -
'गाँउ-गाँउबाट उठ,
बस्ती-बस्तीबाट उठ,
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ'

गुंण रहस्य पहिल्याउने हो भने योगदानको रुप परिवर्तन मात्र भएको हुन्छ तर बाजा बजाएर भिंड जुटाउने, माइक र प्राबिधिक सहयोग गर्नेहरु, पर्चा छाप्ने मजदुर र प्रेस ब्यवसायी, गाडीप्रबन्ध गर्ने डाइभर गाडी मालिक, पानी-खाजा खुवाउने स्वयंमसेवक र दल चलाऊन चन्दा दिने ब्यापारीले पनि कमबहुत मात्रामा पार्टीलाई उत्तिकै योगदान दिएको हुन्छ, जती जुलुसमा गएर ढुंगा खाने र रगत बगाउनेको हुन्छ । जो सँग जे छ त्यै लिएर देश बनाउन जुट्ने त हो नि !

अत: सभासदको लिस्टमा को-को पर्नुपर्थ्यो वा हुन्नथियो त्यो छलफलको बिषय हुनसक्छ तर राजनीतिक पार्टीहरुले ब्यापारीलाई समानुपातिकबाट सभासदको सिफारिस गरेर ठिकै गरेका छन् । त्यस्तो कदमको बिरोध गर्नुको तुक छैन ।

Thursday, December 19, 2013

लोकल रक्सीको पक्षमा एउटा लघु लेख :

-योगेश कुमार खपाङ्गी

प्रिय मित्रहरु, लामो समयको ब्रेक पछी पुन: 'आकाशबाणी'मा झुल्किदैछु । नरिसाउनु होला है !


धेरै बर्ष अघी एउटा लेखमा पढेको; अन्टार्कटिकाको यात्रामा जानेले अनिवार्य बोक्नु पर्ने तीनवटा कुरो - 1. न्यानो कपडा 2. लाइटर/सलाई 3. रक्सी । यिं मद्धे एउटा मात्र कुरो छुटेमा उस्को मृत्‍यु निश्चित हुन्छ ।

रसिया पनि लगभग अन्टार्कटिका जत्तिकै चिसो ठाउँ हो । त्यसैले स्टालिनले शक्तीमा छँदा जनताको लागि चोक-चोकमा नि:शुल्क भोड्काको ब्यवस्था गरेका थिए । तर मिखाइल गोर्बाचोभ राष्ट्रप्रमुख भए पछी कम्युनिजम मासेर पुँजीबाद भित्र्याए ।  अनी पहिलो काम नै सरकारले दिने नि:शुल्क रक्सी बन्द गराए, जनतालाई बिदेशी रक्सी किनेर खान बाध्य गराए । तर कठ्यांग्रिदो जाडोबाट बच्न रक्सी किनेर खानसक्ने पैसा जनतासँग  थिएन । जस्ले गर्दा उनिहरुले घरेलु मदिरा बनाउन शुरु गरे । गोर्बाचोभ सरकारले घरेलु मदिरा नियन्त्रण गर्ने अनेकौं प्रयास गर्‍यो तर असफल भयो ।

भारतका प्रधानमन्त्री मोरारजी देशाइले पनि रक्सी बन्द गराउने ठुलै अभियान चाले; तर असफल भए । त्यो पछी पनि कयौं कथित सज्जनहरुले घरपारुवा रक्सी निषेध गर्ने प्रयास गरे; तर सबै असफल नै भए । किन ? बिचार  गरौं :

धनीसँग के छैन ?
- बस्नलाई घर छ, न्यानो कपडा छ । समय कटाउन टि.भी छ, इन्टरनेट छ, पत्र-पत्रीका छ, ठुल-ठुला फिलिम हल छ । घुम्न, लग्जरी सामान किन्न सुपरमार्केट-मल छ । साँझमा खाने मासु-सलाद र महँगो व्हिस्की, वाइन र भोड्का छ । पैसा छ, मजा छ ।

गरीबसंग के छ ?
- गरीबसंग गरीबी छ । त्यो बाहेक मनोरन्जनको लागि लोकल रक्सी र श्रीमती/श्रीमानबाट 'फ्री अफ कस्ट'मा पाउने यौनको आनन्द छ । क्षितिजसम्मै हेरे पनि अर्थोक के छ र ऊसँग ?  दिनभरीको कडा परिश्रम, दु:ख र थकान । त्यसैले अलिकती पिउँछ, दु:ख भुल्छ, हल्का मनोरन्जन गर्छ; सुत्छ । अब रक्सी पनि भएन भने अरु के हुन्छ त गरीबसंग मनभुलाउने साधन र जिजिबिशाको त्यान्द्रो !


रक्सी खानु र खुवाउनु राम्रो हो होइन, लामै बहसको बिषय हुनसक्ला । तर जबसम्म गरीबी रहन्छ, तबसम्म लोकल रक्सी बन्द गराउन कसैले पनि सक्नेछैन र गराउनु पनि हुन्न । बरु लोकल रक्सी बनाउने सक्नेहरुलाई स्वास्थ्य तथा सरसफाइ सम्बन्धी तालिम दिएर बिदेशबाट रक्सी आयात गर्न बन्द गरिनु पर्छ । जस्ले गर्दा रक्सीको लागि देश बाहिर जाने करोडौं रुपियाँ जोगिन्छ भने चरम गरीबीको रेखा मुनी रहेका परिवारको जिबिकोपार्जनमा पनि केही टेवा दिन सकिन्छ ।

त्यसैले धनी-पुँजीपती रक्सी उद्द्योग चलाउन तथा सस्तो लोकप्रियाताको लागि 'लोकल रक्सी नियन्त्रण'को नौटंकी तुरुन्त बन्द गरियोस् । रक्सी बनाएर जिविका चलाऊने बर्गको लागि बैकल्पिक ब्यवस्था नगरि उनिहरुको हाँडा-भाँडा फुटाउने, समातेर दु:ख दिने, जरिवाना तिराएर उनिहरुको बाल-बच्चाको पेटमा लात हान्ने काम रोकियोस् । गरीबको बाँच्ने आशा नछिनियोस् !