Friday, December 19, 2008

साराको संकेतको जादुमयी दुनियाँ


-->
गएको सप्ताहन्तमा मैले एउटी यस्ती महिलालाई भेटेको छु जोसँग एकदमै प्रभावकारी, जादुमयी संचार क्षमता छ । जसले तपाईलाई उनको कुराका बारेमा कत्ति पनि अलमलिने समय दिँदैन । मैले भेटेकी यी महिलासँग भएको त्यो जादुमयी संचार क्षमताको बारेमा म तपाईलाई पढ्न अनुरोध पनि गर्दछु, यसकारण कि उनीसँग ती मान्छेका लागि योजना छन्, जो उनको संसारभन्दा परका थिए । उनले जन्मँदै ती मान्छेका संसर्ग पाएकी थिइनन् तर अहिले उनको रूचि, उनको कर्म, उनको योजना, उनको समय सबै ती मान्छेहरूका लागि समर्पित छ ।

भारतका प्रसिद्ध नृत्य निर्देशक संदिप सप्पोरकरले आफ्नो एक अन्तरवार्तामा आफ्नो जीवनको सबैभन्दा बिर्सन नसक्ने क्षण भनेको नेपालमा बहिराहरूलाई ब्याले संयोजन गरेको क्षण रहेको बताएका छन् । सप्पोरकर यस्ता नृत्य निर्दैशक हुन् जसले विश्व प्रसिद्ध गायिका मडोना र शकिरालाई पनि नृत्य सिकाएका छन् र बलिउडमा पनि उनका थुप्रै शिष्यले कमाल देखाइरहेका छन् । यस्ता सप्पोरकरले भनेका छन्, उनलाई विश्वास नै लागेको थिएन बहिराहरूले पनि नाच्न सक्छन् । बलिउडका यी व्यस्त नृत्य निर्देशकलाई मैले कुरा गर्न लागेकी यी महिलाले विश्वाश दिलाइन की बहिराले नाच्छन् र उनीहरूले नृत्यलाई पेशा बनाउन सक्छन् ।

हामी सारा गिरीको र उनको रमाईलो बहिराहरूको संसारको बारेमा कुरा गर्दैछौ । कुनै बेलाको रेडियो नेपालकी समाचारवाचिका अबको उनको परिचय होइन । धेरै संवाददाताले शुरू गरेको झैँ उनको परिचय उनको श्रीमनसँग जोडिएर आउनु उनको क्षमतामाथिको प्रश्न चिन्ह हो । त्यसको बारेमा यो लेखको लेखक पूर्ण रूपले सचेत छ । नेस्नल क्याम्पसको प्राज्ञिक निर्देशक (Director Academics) उनको जागिरे परिचय हो । तर यो लेख बहिरासँगको उनको काम, उनको अनुभव, उनको योजनामा केन्द्रित छ ।

सारालाई बहिराको संसारमा मंगोलजस्ती आँखा भएकी भनेर संकेतद्वारा चिनाइन्छ । उनको बुबा दोस्रो विश्वयुद्धमा नेपाली सेनाका तर्फबाट लडेका थिए, म्यानमारको रंगुनमा आमासँग भेट भयो र उनीहरू त्यही 'सेटल' भए । सारा आफ्नो उमेर २५ भन्दामाथि भन्छिन्, सायद उनलाई बहिराहरूका लागि धेरै काम गर्नुछ । आम मान्छेको औसत आयु १०० बर्ष भन्ने गरिन्छ, उनी आफ्नो उमेरलाई २५ मा रोकेर बहिराहरूका लागि काम गर्ने आफ्नो यात्रा लम्ब्याउन चाहिन्छिन् । यो अनुमान हो, उनीसँगको एकघन्टाको सम्वाद र उनका थुप्रै कामका बारेमा जानकारी पाएपछिको यो अनुमान सायद गलत नहोला !

झन्डै छ बर्ष अघि सारासँग संकेत थिएन । उनको संसारमा सुन्ने मान्छेहरू मात्र थिए त्यसैले जीवन अर्कै एउटा नियमित प्रक्रियामा चलिरहेको थियो । उनी एमबिए पढाउँथिन् बेंगलोरको कलेजमा । तर एउटा घटनाले जीवनमा परिवर्तन ल्यायो । सन् २००२मा चन्द्रशेखर इन्सीच्युट अफ स्पीच एण्ड हियरीङमा सप्ताहन्तको कक्षामा उनी भर्ना भएकी थिइन् । एक साँझ एकजना बहिराले कानसुन्नेले बहिराको कुरा बुझ्नै नसक्ने चुनौती दिए तब उनलाई लाग्यो केही गर्नुपर्छ । केही गर्न सकिन्छ । दश साता लाग्यो उनलाई संकेतमा कुरा गर्न, अनि त उनले आफ्नै घर प्रयोग गरेर बहिराका लागि एउटा फिल्म निर्माण र निर्देशन गरिन् । 'ह्यान्डलिङ डिप्रेशन' नामक उनको फिल्म अहिले पनि भारतको कर्नाटका राज्यका विभिन्न बहिरा विद्यालयहरूमा देखाइन्छ । सारा कुराको बीचबीचमा सांकेतिक भाषा यसरी प्रयोग गरिरहेकी हुन्छिन्, मानौँ उनी साँच्चै बहिरी हुन् । उनी बहिरालाई अपांगको कोटीमा राख्न नहुने धारणा राख्छिन् । उनलाई लाग्छ, हामी जो आफुलाई सुन्ने भन्छौ, अपांग त हामी हौ किनकि बहिराहरूको भाषा हामी बुझ्न सक्दैनौ । उनी भन्छिन, 'बहिराहरू मेरा लागि अल्पसंख्यक समुह हुन् जसलाई बहुसंख्यक सुन्नेहरूले हेपेका छन् । बहिरालाई गलत तरिकाले परिभाषित गरेका छन्'

उनले सिकेको सांकेतिक भाषा अंग्रेजी र हिन्दी थिए । नेपालीको संकेत जान्न उनलाई केही समय लाग्यो तर जब सबै भाषा उनले केही समयमै सिकिन् र बहिराहरूलाई आफ्नै निवासमा बोलाएर ब्याले सिकाउन थालिन् । संदिपले साथ दिए भने थुप्रै कक्षा उनी आफैले पनि लिइन् । उनी चाहन्थिन, बहिराहरूको ब्याले सो गर्ने तर नेपालको राजनीतिक परिवर्तनले उनको योजना पर सर्यो ।
अहिले उनी नेस्नल कलेजमा निर्देशकको कुर्सीमा विराजमान छिन् । उनी कलेज र बहिराको भविष्यको बारेमा एकैसाथ सोच्दैछिन् । उनलाई आफ्नो अधुरो सपना पुरा गर्नुछ र बहिराहरूले कान सुन्नेले भन्दा कुनै कम नाँच्दैनन् भनेर देखाउनु छ । छोराछोरी झैँ माया गरेका बहिराहरूलाई व्यवसायिक कलाकार बनाउनु छ । 'बहिराहरू हावामा लेख्छन्', एउटा दैनिकलाई दिएको अन्तरवार्तमा उनले भनेकी छिन्, 'बहिराहरूका आँखा हावामा आकृति पढ्न अभ्यस्त हुन्छन् । उनीहरूमा कहिल्यै चुप लागेर बस्दैनन्, उनीहरूमा संचार झन् सघन हुन्छ । पाँच, सात जना भेट भए भने यति गर्मागर्मी बहस हुन्छ कि बुझ्नुभयो भने तपाई अचम्म मान्नुहुन्छ ।'
सारा संकेतबाट देखाउँछिन् बहिराहरूको दृश्य संसारको वर्णन गर्ने शक्तिको बारेमा । म बहिराको भाषा जान्दिनँ तर मैले केही संकेत छिटो-छिटो उनीसँगै दोहोर्याउने कोशिस गरेको छु । उनी संकेतबाट देखाउँदैथिन् कि कसरी बहिराहरू मानिसलाई उसको कुनै विशेष कुराबाट चिन्छन् र सम्पुर्ण बहिराहरूमा त्यो परिचयको संचार हुन्छ । बहिराहरूको दृश्य वर्णनको कमाललाई व्यवश्थित र व्यवसायिक बनाउन उनले मद्दत्त गर्ने जमर्को गरिन् । केही समय अगाडि कार्टुनिस्ट योगेश खपांगीलाई उनले बहिराहरूका लागि कार्टुन बनाउने तालिमको प्रशिक्षक हुनका लागि आग्रह गरिन् । सांकेतिक भाषा नजान्ने खपांगीलाई कुरा अनौठो लाग्यो, बहिरालाई कान सुन्ने तर सांकेतिक भाषा नजानेकोले कसरी सिकाउने ? तर साराले खपांगीलाई तयार पारिन्, उनको भाषालाई संकेतमा अनुवाद गरेर । साराले एकसाताको कार्टुन कक्षाको सम्पूर्ण कक्षाहरूलाई संकेतमा अनुवाद गरेकी थिइन् र आफु पूर्णत: बहिराझैं भएर ।

खपांगीले तालिमपछि कान सुन्नेलाई छ महिना लागाएर सिकाने कुरा बहिराहरूले एक सातामा सिकेको प्रतिक्रियाले सारालाई निकै उत्साहित बनाएको छ । उनी दंग हुँदै सुनाउँदै थिइन, 'मेरा केटाकेटी गज्जबका छन्' तर उनलाई यी सबमा अझ रंग भर्ने योजना , पुरा नभएको नृत्यको सो गर्ने र संसारलाई नेपालका बहिराको कला देखाउने। त्यसका लागि उनी पहल गर्दैछिन् । सहयोगी हात खोज्दैछिन् । उनलाई थाहा छ, उनका केटाकेटीले कसैलाई निराश तुल्याउने छैनन् तर कान सुन्नेले आफुलाई सपांग भन्ने यो संस्कृतिमा उनलाई केही घम्साघम्सी गर्नै पर्ने भएको छ ।
उनलाई बहिराका अगाडि बोल्न मन लाग्दैन । बहिरालाई 'अन्डरइस्टीमेट' गर्न खोजेको जस्तो लाग्छ त्यसैले उनी संकेतमा बोल्छिन् । उनलाई लाग्छ, कान सुन्नेहरू कान नसुन्नेको भाषा नसिकेर अपांग हुदैँछन् जसरी थुप्रै जर्मन बोल्नेको बीचमा जर्मन नबुझ्ने अपांगझैँ हुन्छ । त्यसैले जर्मन, जपानिज, अँग्रेजी भाषा सिकेझैँ बहिराको भाषा पनि सिक्नैपर्छ । बहिराहरू अनुदान वा सहयोग खोजीरहेका छैनन्, उनीहरू कान्न सुन्ने समुहसँग काम गर्न चाहन्छन्, कान सुन्नेहरूद्वारा उनीहरूको कामलाई स्वीकार गरून् भन्ने चाहन्छन् । समाजको जिम्मेवार सदस्यको नाताले उनीहरू समाजमा योगदान गर्न चाहन्छन् । साराले बुझाउन खोजेको कुरा यत्ति हो । बहिराहरूसँग काम गरेर उनी बहिराको यो कुरा कान सुन्ने सबै मानिसलाई सुनाउन, बुझाउन चाहन्छिन् । उनी आफ्नो आदर्श व्यक्तिको रूपमा हेलेन केलरको एउटा उद्धरण सम्झन्छिन्, 'अन्धोपनले मानिसलाई वस्तुहरूबाट अलग्याउँछ, बहिरोपनले मान्छेलाई मान्छेहरूबाट एक्लो बनाउँछ' त्यसैले उनी बहिराहरूको कुरा सुन्ने समाजलाई संचार गर्छिन् ताकि बहिराहरू यो समाजबाट नएक्लिउन् ।

सारा कुनै नेतालाई बोलाएर बहिराहरूको बारेमा भाषण गराउन चाहन्न् । उनको योजना अलग्गै छ, एउटा भिडियो प्रस्तुती जसमा कान सुन्नेका लागि आवाजको व्यवस्था गरिएको हुन्छ र त्यो कार्यक्रमको थिम हुनेछ, 'वेलकम टु द वर्ल्ड अफ साइलेन्स'

- आन्विका गिरी
३१ साउन, शुक्रबार २०६५, Fri August 15, 2008 (americadarpan.com)
Post a Comment