Wednesday, September 5, 2012

आफ्नै अन्तरबार्ता


(यो जुनीमा पहिलो पटक मेरा मित्र रमेश बिष्टले रेडियो सगरमाथाको कला कार्यक्रमका लागि मेरो अन्तरबार्ता मेरै आवाजमा प्रशारण गरेका थिए । फेरी अर्को अन्तरबार्ता दिने मौका पाँए । मेरोरिपोर्ट डट नेटले मलाई 'साताको ब्लगर' भनेर चुनेछ ! अन्तरबार्ता यस्तो छ :)


सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ : योगेश खपाङ्गी



स्थायी घर बिर्तामोड झापा भएका योगेश खपाङ्गी हाल युएइको राजधानी शहर अबु धाबीमा बस्छन् । योगेश पेशाले कार्टुनिस्ट र ग्राफिक्स डिजाइनर हुन् । नि:शुल्क, स्वतन्त्र र काँट-छाँट नहुने भएकोले ब्लगिङको माध्यमबाट आफ्नो विचार व्यक्त गर्छन् । उनी कार्टुनिङ, ब्लगिङ, फोटोग्राफी र आर्ट गर्न निकै रुचाँउछन् ।
सूचनाको आदान-प्रदानमा ब्लग लगायत अन्य सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको बताउने योगेशलाई हामीले यस साताको ब्लगरको रुपमा फिचर गरेका छौँ  :

दिनचर्या कसरी बित्छ तपाईंको ? 
नेपालमा छँदा चित्रहरु बनाउने, आवरण डिजाइन तथ प्रेसमा काम गर्ने अनि फुर्सदमा मात्र  ब्लगमा बिताउँथे । हाल यु ए इको प्रेसमा क्वालिटी कन्ट्रोलरको रुपमा काम गर्दैछु । ड्युटीबाट आएपछि पढ्ने, लेख्ने, फेसबुक चलाउने, विभिन्न इन्ट्रेस्टिङ वेभ साइटहरु भिजिट गर्ने जस्ता काम गरेर बित्ने गरेका छन् ।

ब्लगिङकै कुरा गरौँ । कसरी थाल्नु भयो ?
मैले नेपालमा हुन्जेल ब्लगिङ गर्ने फुर्सद कहिल्यै पाइन । यसअघि  सन् २००७ मा सिँगापुर गएको थिएँ । त्यहिँ छँदै हाल चलाईरहेको ब्लग 'आकाशवाणी ' को शुरु गरेको हुँ । हुनत त्यो भन्दा अघि नेपालमा नै छँदा www.yogeshkhapangi.com डोमेन नेम राखेर साइट चलाएको थिएँ तर वर्षै पिच्छे रिन्यु गर्नुपर्ने र महँगो हुने तर यता नि:शुल्क ब्लग स्पेस पाइने हुनाले ब्लग नै ठीक भन्ने लाग्यो  र अन्तत: डट कम बन्द गरेर ब्लग स्पट चलाउन थालेको हुँ ।
के कुराले ब्लगिङ गर्न प्रेरित गर्यो ?
मेरो पत्रकारिता यात्राको शुरुवात मेची क्याम्पस भद्रपुरको भित्ते पत्रिकाको सम्पादक भएर सुरु भएको हो । त्यसपछि मैले विभिन्न पत्र-पत्रिकामा कलुम्निस्टको रुपमा काम गरेँ । कान्तिपुर पब्लिकेशनको साप्ताहिकमा तीन वर्षदेखि निरन्तर कार्टुन स्तम्भ कोरिरहेको छु ।
जागिरको सिलसिलामा कयौँ पटक आफ्नो कार्टुन सम्पादकको सेन्सरमा पर्‍यो । कति पटक त आफूले एउटा कुरा लेखेर फर्कियो भोलिपल्ट अर्कै कुरा प्रकाशित हुने । एउटा कार्टुनिस्टलाई आफूले भन्न खोजेको कुराको मर्म मरेको जस्तो नराम्रो अरु केहि हुँदैन । त्यतिबेला आफ्नै पत्रिका  भइदिएको भए, आफै प्रकाशक भइदिएको भए जस्तो लाग्थ्यो र त्यसको विकल्प खोज्दै जाँदा ब्लगिङ गर्न थालेँ ।
बिशेषगरी आफ्नो ब्लगमा कस्ता कुराहरु उल्लेख गर्नुहुन्छ ?
म आफ्नो ब्लगमा बढी मात्रामा कार्टुनहरु पोस्ट गर्छु । तर कतिपय समाचार र विचारहरु कार्टुनबाट व्यक्त गर्न सम्भव नभएका बेला चाँही लेखेर पोस्ट गर्छु ।
तपाईंको ब्लग 'आकाशवाणी'को बारेमा केही बताइदिनुस न ? 
हाम्रो देशमा गरिबी, अन्धविश्वास, कुरिती, जातियताको आधारमा भेदभाव जस्ता कुराहरुले जरो गाढेर बसेका छन् । त्यसैले मैले यस्तो विकृतिको विरुद्दमा आवाज उठाउन घुमाइफिराइ तिनै कुराहरु व्यक्त गर्ने प्रयास गरेको हुन्छु ।
ब्लगिङ गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ?
ब्लगिङ गर्दा नियमित हुनुपर्छ र निरन्तरता दिनुपर्छ । त्यसमाथि चाख लाग्दा विषयवस्तुको छनौट र दिक्क लाग्दा लामा – लामा लेख लेख्नुहुन्न। अचेल मानिसहरु एकै बसाइमा पढेर भ्याउने लेख रचना मन पराउँछन् त्यसैले म भरसक छोटो लेख्छु ।
अहिले नेपाल र विश्वमा ब्लगिङको कस्तो ट्रेन्ड रहेको छ ? 
अहिलेको विश्वव्यापी ब्लगिङ ट्रेन्डको कुरा गर्दा प्रशस्त फोटो र उदाहरण भएका अनि छोटो मिठो ब्लगहरु भेटिन्छन् । तर हामी कहाँ कम फोटो भएका र लामा लामा लेखहरु र आफ्नै जीवनी लेखिएका ब्लगहरु बढी भेटिन्छन् ।
ब्लगले के प्रभाव पारेको छ ? 
ब्लगले युवा जमातमा सकारात्मक प्रभाव पारेको छ। राजनैतिक , शैक्षिक र व्यवसायीक क्षेत्रमा राम्रैसँग प्रभाव पर्न थालेको छ । कुनै पनि बेला ब्लग सुरु गर्न सकिन्छ त्यो पनि नि:शुल्क । ब्लगले देशमा थिन्क ट्यान्क उत्पादन गर्न मद्दत गर्छ जस्तो लाग्छ मलाई ।
के ब्लगिङले आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गर्छ ?
अवश्य पनि ब्लगिङले छुट्टै पहिचान बनाउँछ । कुनै पनि बेला, कुनै घटनाको तस्बिर र त्यससँग सम्बन्धित विचार तथा खबर पोस्ट गर्न ब्लगर स्वतन्त्र छ ।
ब्लगिङले स्वतन्त्र अभिव्यक्तीमा के भूमिका खेल्छ ?  
ब्लग नहुने हो भने कसैको विचार पनि विशुद्ध र निष्पक्ष रुपमा कसैले पनि पढ्न र थाहा पाउन सक्ने थिएनन् । टेलिभिजन र पत्र-पत्रिका मार्फत विचार प्रस्तुत गर्दा पनि काँट- छाँट हुने भएकोले भाषिक स्वाद हुँदैन । जहिले पनि औपचारिक भाषा मात्र सुन्नुपर्ने हुन्थ्यो ।
ब्लगिङ र मुलधार मिडियामा के फरक छ ?
ब्लग बिल्कुल स्वतन्त्र छ भने मुलधार मिडिया कुनै न कुनै राजनैतिक दल, नेता, व्यवसायीक घरानाको प्रभावमा परेको हुन्छ ।
आफूलाई मन परेको ब्लग पोस्ट ?
मलाई मन परेको ब्लग पोस्ट मेरो बुवा भक्त खपाङ्गीले लेख्नु भएको कथा  'जागित्रले बोलाएपछि'  हो ।
ब्लगबाहेक तपाईँ अरु कुन-कुन सोसल मिडियामा हुनुहुन्छ?
ब्लग बाहेक अन्य सोसल मिडिया मध्य फेसबुक , ट्विटर र गुगल प्लसमा सकृय छु ।
अहिले सोसियल मिडिया पनि प्रभावशाली बन्दै गैरहेको छ । त्यसको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
ब्लगको प्रभाव त अहिले विश्वभरी नै परेको छ । सामाजिक चेतना बृदि गर्न र ठूला - ठूला राजनैतिक परिवर्तन गर्न समेत ब्लगले भूमिका खेलिरहेको छ । तर ब्लगरहरु स्वन्त्रत रहनुपर्छ र निष्पक्ष रहनुपर्छ ।
परिवर्तनका लागि ब्लगिङ र सोसियल मिडियाको भूमिका के रहेको छ ? 
मेरो लागि  सोसल मिडिया समय कटाउने माध्यम मात्र नभएर एक जिम्मेवारी  हो । यदी सोसल मिडिया हुन्थेन भने अहिले विश्वभरी चलिरहेको स्वन्त्रताको आन्दोलनलाई सैनिक र पैसाको आडमा दबाइन्थ्यो । शासकहरु झन् – झन् बलियो र आम जनता अन्यायलाई टुलुटुलु हेर्न बाध्य हुने थिए ।
सूचनाको आदान प्रदानमा सोसल मिडियाले के भूमिका खेलेको छ ? 
सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ । विश्वको कुनै पनि कुनामा रहेका साथीहरु अब टाढा छैनन् । हरेक सूचना एकैछिन्मा  सेयर भइसकेका हुन्छन् । अहिले सूचना लुक्ने र लुकाउने भन्ने हुँदैन । हरेक व्यक्ति  राष्ट्रको पहरेदार भएको छ ।

मेरोरिपोर्टडटनेटको लिङ्क:  http://meroreport.net/page/6365517:Page:89673

No comments: