Monday, March 11, 2013

महिला हिंसाको एक कारण उदार यौनवाद


- भक्त खपाङ्गी

फागुन २५ गते (८ मार्च)का दिन हाम्रो राष्ट्रले पनि नारी दिवस मनायो । वर्षैभरि आइहरने थुप्रै दिवसमध्ये यो पनि एउटा दिवस हो । दिवस तत्सम शब्द हो, यसको अर्थ दिउँसो वा दिन हो । संयुक्त राष्ट्र संघद्वारा विश्वका विभिन्न पक्षका नाममा यस्ता दिवस तोकिँदो रहेछ । यसका सम्पूर्ण सदस्य राष्ट्रहरुले तोकिएको दिवस मनाउने दिवस मनाउने गर्दा रहेछन् । यस्ता दिवसहरुको अन्य राष्ट्रमा केही सार्थकता हुँदो हो तर हाम्रो देशमा भने यस्ता दिवस सामान्य औपचारिकतामै सीमित रहेका देखिन्छन् । राष्ट्र प्रमुख, सरकार प्रमुख र प्रमुख राजनीतिक दलहरुले सञ्चारमाध्यमहरुमार्फत् वक्तव्य प्रसारित गर्छन्, सम्बन्धित पक्षले औपचारिक कार्यक्रमहरुको आयोजना गर्छ, बस् सकिन्छ । सम्बन्धित क्षेत्रमा यसको कुनै असर र प्रभाव परेको भने देखिँदैन । यही नारी दिवसलाई नै हेरौँ, सन् १९०८ देखि यो दिवस मनाउन थालिएको रहेछ । सय वर्ष नाघिसकेछ, यो दिवस मनाउन थालिएको । तर, खोइ के प्रभाव प¥यो ? नेपालमा मात्र होइन, विश्वमै महिला हिंसा, बेचबिखन, शारीरिक–मानसिक शोषण बढ्दो छ ।

नारी दिवसकै अघिल्लो दिन इटहरीको एउटा लजमा हत्या गरिएकी एक महिलाको लास फेला प¥यो । मोरङ बबिया बिर्ता–२ घर भएकी ती महिलाको नाम मङ्गलादेवी चौधरी रहेछ । एक छोरीकी आमा ती महिलाका पति वैदेशिक रोजगारमा रहेछन् । आफ्नो नाठोप्रेमीसित तिनी त्यस लजमा बस्न पुगेकी रहिछन् । ती प्रेमीचाहिँ टङ्की सिनवारीस्थित सशस्त्र प्रहरीको कङ्कालिनी बेस क्याम्पमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार राजकुमार चौधरी रहेछन् । ती पनि एक छोराका बाबु ।


धेरैले यस घटनालाई पनि नारीमाथि भएको अन्याय, शोषण र हिंसाका रुपमा लिन्छन् । कतिले त यसलाई प्रहरी ज्यादती पनि भन्लान् । नारी दिवसप्रतिको व्यङ्ग्य पनि भनिएला । यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटना निरन्तर भइराखेका छन् । महिला हिंसा बढेकामा सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको पाइन्छ । वास्तवमा अहिले महिला हिंसा मात्र बढेको छैन; विविध खाले हिंसात्मक गतिविधि चौतर्फी बढ्दै गएको छ । यस्ता क्रियाकलाप समाजमा त व्याप्त छ नै, अब त घर परिवारभित्र समेत गरिन थालेको छ । यसका पछाडि मुख्यतः दुई कारण देखिन्छन्, एक आर्थिक र अर्को यौन । धनसम्पत्ति, रुपैयाँ–पैसाका लागि मान्छे एक अर्काको ज्यानसम्म लिन पछि पर्दैनन् । अर्थ उपार्जन हुन्छ भने मान्छे आफ्नै श्रीमती, छोराछोरी समेत बेचिदिन तयार हुन थालेका छन् । बाबुआमाबाटै किनेर लाँदै गरेको अवस्थामा युवती पक्राउ परेका समाचार प्रशस्त सुन्न पाइन्छन्, हिजोआज । आफ्नै श्रीमान्द्वारा बेचिएका महिला पनि भेटिने गर्छन् । पैसा लिएर मान्छे मारिदिनेहरु जताततै पाइन थालेका छन् । त्यस्तालाई ‘कन्ट्रयाक्ट किलर’ भनिँदो रहेछ । मान्छे मार्ने कुरा पक्कापक्की गर्नुलाई ‘सुपारी दिनु’ भन्दा रहेछन् । यसरी अचेल के देखिन्छ भने मार्ने र मारिनेबीच कुनै प्रकारको चिनजान, सम्पर्क, लेनदेन, लडाइँ, झगडा, दुश्मनी हुनुपर्दो रहेनछ । यस्ता हत्याराहरुको सम्बन्ध खालि धनसित मात्रै हुँदो रहेछ । यस्तै खाले आपराधिक गिरोहबाट मान्छे अपहरण गर्ने, फिरौती असुल्ने र अन्त्यमा मारिदिनेसम्मका कुकर्म गरिँदोरहेछ । आक्कलझुक्कल मात्र यस्ताहरु सुरक्षा निकायको पकडमा आउँछन् । धेरैजसो त निर्बाध रुपमा आफ्नो कुव्यवसाय चलाएर बसिरहन्छन् । पक्राउ परेकाहरु पनि प्रमाण नपुगेर छुटकारा पाउन सफल हुन्छन् । छुटेपछि फेरि उही काममा संलग्न हुन पुग्छन् । यस्ता आपराधिक कुतत्वहरुबाट अहिले हाम्रो समाज पूरै आक्रान्त र त्रस्त बन्न बाध्य भएको छ ।

अर्को, यौनका कारणबाट पनि समाज अपराधमय बन्न पुगेको छ । कथित आधुनिक विचारको विकासले गर्दा यौन स्वतन्त्रताका पक्षमा धेरै देखिन थालेका छन् । नग्नतालाई आधुनिक फेसनका रुपमा लिइन्छ । यौन सम्बन्ध गाँस्नका लागि बिहे अनिवार्य हुनुपर्छ भन्ने छैन । अहिले परम्रागत बिहेभन्दा कानुनी बिहे, अदालती विवाह, स्टेज विवाहका पक्षमा जनसमर्थन बढ्दो छ । विधिवत् बिहे गरेकै पतिबाट बच्चा जन्माउनुपर्छ भन्ने विचार पुरानो र असभ्य मानिन थालेको छ । भोक लाग्दा खाना खाएजस्तै गरी यौनतृष्णा पनि सहजै मेटाउन पाउनुपर्छ भन्ने विचारको उदय भएको छ । यौन लाजको विषय नै होइन, यसका विषयमा खुला छलफल गरिनुपर्छ, किशोरकिशोरीलाई विवाहपूर्व नै खुला रुपमा यौन शिक्षा दिनुपर्छ भनिन थालिएको छ । अविवाहित आमाबाट जन्मेका बच्चा पनि समाजबाट माया–प्रेमका लागि उत्तिकै हकदार हुन्छ, त्यस्ता आमा र बच्चालाई समाजमा सम्मानपूर्वक स्थापित गराउनुपर्छ भन्ने विचारको उदय भएको छ । फलस्वरुप उहिले ‘बतासे’ भनिने बेवारिसे बच्चाहरु प्रशस्त हुन थालेका छन् ।

यस्तो विचार कत्तिको आधुनिक हो ? यसले समाजलाई राम्रो प्रतिफल दिएको छ ? छैन । समाजमा यौन अराजकता बढेको छ । अनैतिकता र चरित्रहीनताले सीमा नाघ्न आँटेको छ । शिष्टता, मर्यादा र विवेक हराउँदै गएको छ । माया प्रेमको अपव्याख्या हुन थालेको छ, यसको परिभाषा नै बद्लिएको छ । यी सबै कुरालाई उछिनेर, पन्छाएर यौन मात्र अगाडि आएको छ । यस्तो विचारले मान्छे अब दुई खुट्टे प्राणी मात्र बन्न पुगेको छ । यसैकारण यौन विचलनले सीमा नाघ्दैछ । विकृत यौनका कारणबाट वीभत्स अपराध हुन थालेका छन् ।
मानव विकासको क्रममा पशु अवस्था पार गर्ने बखत मानव समुदायमा पनि खुला यौन प्रणाली रहेको बुझिन्छ । निक्कै सचेत भइसक्दा पनि बिहेवारीको चलन आइसकेको थिएन । कसैको पनि आमा मात्र हुन्थिन्, बाबुको पहिचान हुन सक्दैनथ्यो । आद्यशक्ति माईभगवतीबाट उत्पति भएका देउता मानिने आदि पुरुषहरु ब्रह्मा, विष्णु, शिव, इन्द्र, बरुण आदिका बाबुहरुको पहिचान छैन । तर, उनीहरुले भने त्यो अव्यवस्थालाई हटाई बिहेवारी गर्ने प्रचलन सुरु गरी व्यवस्थित मानव समाजको स्थापना गरेका थिए । बृहस्पतिजस्ता गुरुहरुको अगुवाईमा समाजका लागि विविध प्रकारका आचारसंहिताहरु बनाई लागु गराइयो । आचारसंहिता उल्लङ्घन गर्नेहरु दण्डित हुन थाले । सेना, प्रहरी, प्रशासन यसै क्रममा पछि स्थापित हुन पुगे । आचारसंहिताहरुले ऐन, कानुनको रुप लिन पुगे ।

यसरी यौन नियन्त्रित र संयमित हुन पुग्यो, जसबाट समाजलाई सकारात्मक प्रभाव प¥यो, समाज व्यवस्थित भई सभ्यतातिर लम्किँदै गयो । यसलाई फेरि बिथोलेर उही जङ्गली अवस्थातिर फर्काउनु, विवेकपूर्ण काम होला ? पक्कै हुँदैन । यसको दुष्परिणामहरु अहिले हामीले भोग्दैछौँ । हाम्रो समाज यौन विचलनका कारण चेतनाशून्य, विवेकहीन, अराजक, आतङ्कित र असुरक्षित हुँदै जाँदैछ । लाखौँ, करोडौँ वर्षको अनुभव र मेहनतले अग्रजहरुद्वारा निर्मित समाज व्यवस्थालाई बिथोलेर क्षतविक्षत पार्दा हामी आफैँलाई हानि पुग्छ ।

समाजलाई सुव्यवस्थित र सुरक्षित बनाउन नैतिकता, चरित्र, इमान्दारी, विवेक र अनुशासनको आवश्यकता पर्छ । यिनको अभावमा ऐन–कानुन, नियम, दण्ड, जरिवाना, प्रहरी, सेना, प्रशासन हुँदै निरर्थक सावित हुन्छन् । अन्य अपराध जस्तै महिला हिंसा रोक्न पनि यिनै कुराप्रति ध्यान दिनु आवश्यक छ । खासगरी यौन विचलन आउन नदिनु नै महिला हिंसा रोक्ने उपाय हुनसक्छ । यौन विचलनका कारण महिला मात्र पीडित छैनन्, सम्पूर्ण समाज नै अस्तव्यस्त, आतङ्कपूर्ण र असुरक्षित बन्न पुगेको छ ।

पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित
Post a Comment