Monday, September 10, 2012

महाभारतमा कृष्ण


- अभय श्रेष्ठ‍‍‍

यो वर्ष कृष्णाष्टमीताक मेरो गाउँ खासै होहल्लामय भएन। कारण थियो, बत्ती आउने समयमा पनि बारम्बार अघोषित लोडसेडिङ। बिहान ८ देखि १ बजेसम्म बत्ती आउने समयबीच कम्तीमा पाँचपटक बत्ती निभ्थ्यो। नत्र अघिल्ला वर्षहरूमा कृष्णाष्टमी आउनु पाँच दिनअघिदेखि वरपरका पाँच गाउँ हल्लनेगरी भजन, नाचगान हुन्थेे। ‘हे कृष्ण देऊ हाम्रो सारी, कदमको रूखैलाई भो भारी’ भनेर गाउनेमा पुरुष पनि हुन्थे। पुरुष पनि मानौँ कुब्जा, राधा वा गोपिनीजस्तै कृष्णका प्रेमिका बन्न लालायित हुन्थे। ‘दानधर्म’ खुबै चल्थ्यो। कृष्णाष्टमी मनाउन मानिसहरू उदार मनले चन्दा दिन्थे।
••••
हिन्दु धर्ममा कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन्। समाजशास्त्रीय आँखाले हेर्ने हो भने सनातन समाजका यी आदर्श पुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति हुन्। उनको जन्म पाँच हजार वर्षअघि भएको अनुमान छ। त्यतिखेर आर्य जाति उत्तर भारतका नदी किनारतिर फैलिएर त्यहाँका बासिन्दासँग घुलमिल भइसकेको थियो। स-साना गणराज्य थिए। जरासन्ध, कंस, शिशुपाल, द्रुपदलगायत राजा थिए। अहिलेको नयाँ दिल्लीमा सबैभन्दा समृद्ध, शक्तिशाली र व्यवस्थित राज्य हस्तिनापुर थियो। खेती र गाईपालन मुख्य व्यवसाय थिए। युद्धका मुख्य हतियार धनुषवाण र गदा थिए। सवारीका रूपमा रथ र घोडाहरूको उपयोग हुन्थ्यो।
पहिले शौरसेन गणराज्य थियो। त्यहाँका गणपति उग्रसेन थिए। मगधमा गणतन्त्र मासेर जरासन्धले निरंकुश राजतन्त्र लादिरहेका थिए। उनका दुई छोरी अस्ति र प्राप्तिको बिहे उग्रसेनका छोरा कंससँग भयो। निरंकुश राजाका यी दुई छोरीले पतिलाई पनि शौरसेनमा निरंकुश राजतन्त्र चलाउन प्रेरित गरे। फलस्वरूप आफ्नै पितालाई अपदस्थ गरेर कंस निरंकुश राजा भए। अपदस्थ राजा उग्रसेनका भाइ देवक, उनकी छोरी देवकी र ज्वाइँ वसुदेवलाई यो कुरा बिझिरहेको थियो। उनीहरू कंसलाई राज्यच्युत गर्ने गोप्य योजना बनाइरहेका थिए। देवकीलाई पाल्कीमा राखेर वसुदेवकहाँ पुर्‍याउन लाग्दा कंसलाई यो गोप्य सूचना प्राप्त भयो। तत्काल उनले बहिनी-ज्वाइँलाई ‰यालखाना हालिदिए। उनीहरूबाट जन्मेका शिशु मारिदिए।

भाद्र कृष्ण अष्टमीको रात कृष्णको जन्म भयो। चलाखीपूर्वक देवकले कंसका एक प्रहरीलाई मदिरा खुवाएर बेहोस बनाइदिए र वसुदेवले कृष्णलाई यमुना नदी तारेर ब्रजवासी आफ्ना मित्र नन्दकहाँ पुर्‍याए। सट्टामा नन्द र यशोदाले केही दिनअघि मात्र जन्मेकी छोरी वसुदेवलाई दिए। देवकीले छोरी जन्माएको खबर मध्यरातमा कंसकहाँ पुग्यो। जेलको शिलाखण्डमा रहेकी शिशुलाई कंसले मार्न खोज्दा बत्ती निभ्यो। फेरि अर्को बत्ती ल्याउँदा एउटा प्रहरीले शिशुलाई गायब गरिदियो।
अत्यन्त सुन्दर, चलाख, चञ्चल र प्रिय बालसुलभताका कारण कृष्णले यशोदाको मनमात्र जितेनन्, पूरै ब्रजवासीलाई मोहित पारे। शिशु गायब भएपछि कंसलाई आफ्नै राज्यमा विद्रोहीलाई सघाउने नन्द हुन् भन्ने शंका थियो। तर, पर्याप्त प्रमाण थिएन। उनले देवकीपुत्र खोज्न पुतना, शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि गुप्तचर पठाए। कृष्ण र गोपालहरूले चलाखीपूर्वक सबैलाई मारिदिए।
कृष्ण सानैदेखि रसिक र चलाख थिए। युवतीलाई मोहित पार्थे। उनका अनगिन्ती पत्नी थिए। जनताले करस्वरूप कंसकहाँ लान लागेको दही, दूध, घिउ, मह खाइदिन्थे। खाइनसकेको नष्ट गरिदिन्थे। साथीहरूको मद्दतमा उनले यमुना किनारमा बस्ने नागजातिका राजा कालियको हत्या गरे जो कंसका हितैषी थिए। नागबस्ती पूरै ध्वस्त गरिदिए। एक दिन उनले बुढा मामा कंसको पनि बध गरे र आफ्ना बाआमालाई जेलमुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व झनै बढ्यो। यसपछि उनमा अत्यन्त महत्वपूर्ण व्यक्ति बन्ने महत्वाकांक्षा बढ्दै गयो।
••••
भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए पनि राजा धृतराष्ट्र अत्यन्त कुशल र उदार शासक थिए। उनले आफ्ना सय छोरा र स्वर्गीय भाइ पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा युधिष्ठिरलाई उत्तराधिकारी तोके। कडा मिहिनेत र गुरुको कृपाले पाण्डुकै साहिला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि निपुण भए। यो देखेर धृतराष्ट्र अत्यन्त खुसी भए। अर्जुनको नेतृत्वमा कौरव-पाण्डवले कुरु राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए। काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउनेवाला थिए।
जनता सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदूर जस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। अर्जुन, भीम, दुर्योधन, युधिष्ठिर, दुःशासनजस्ता कर्मठ दोस्रो पुस्ता तयार भइसकेको थियो। यस्तो बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महत्वाकांक्षा पूरा हुँदैनथ्यो।
••••
दुर्योधन वीर थिए। गदा युद्धमा भीमले पनि उनलाई जित्न सक्दैनथे। अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ ठहरिए। पिता धृतराष्ट्रदेखि राज्यसभाका सबैले सदैव अर्जुन र पाण्डवहरूकै प्रशंसा गर्थे। यसले दुर्योधनको ईर्ष्या चुलियो। एक दिन राज्य सभा र सारा जनतासामु अर्जुनले अनुपम धनुर्विद्या प्रदर्शन गरे। उनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धारी घोषणा गरियो। त्यसै सभामा कर्णले अर्जुनलाई चुनौती दिए। विचरा कर्ण ‘दलित’ भएकैले अर्जुनसँग प्रतिस्पर्धा गर्न योग्य मानिएनन्। वीरतालाई सम्मान गर्दै दुर्योधनले कर्णलाई अंगदेशको राजा बनाए। कृष्ण कुरुक्षेत्रका राजकुमारहरूबीचको यो द्वन्द्व नियालिरहेका थिए। यही मौका छोपेर उनी कूटनीतिका सोह्र कला प्रदर्शन गर्दै हस्तिनापुर छिरे।
••••
जनता अत्यन्त ‘धार्मिक’ थिए। बाहुन र सन्यासी देवताजस्तै पुजिन्थे। रनिवासमा समेत उनीहरूले बिनारोकतोक प्रवेश पाउँथे। जनता र राजाबीच उनीहरू नै माध्यमको भूमिका खेल्थे। तिनका हरेक कुरा अन्धश्रद्धाका कारण जनता सत्य ठान्थे। कृष्णले त्यतिखेर पुरोहितका नेता वेदव्यास र सन्यासीका नेता नारदको सहारा लिए। आफ्नो हत्या गर्न आउने पुतनालाई दूध चुसेरै मारिदिएको, यमुना किनारबासी नाग जातिका राजा कालियको वध, नागबस्ती ध्वंश, शिशुपाल बध, कंस वध, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, कुप्री बुढी कुब्जालाई मस्त तरुनी बनाइदिएका जस्ता चामत्कारिक खबर वेदव्यास र नारदको मुखबाट फैलाएर कृष्णले भारतवर्षमा आफूलाई ईश्वरका अवतार कहलाउन सफल भए। सत्य जाँच्ने कुनै माध्यम थिएन। ब्राह्मण र सन्यासीका कुरामा शंका गर्नु पाप ठानिन्थ्यो।
धर्मका नाममा उनले पाण्डवहरूमा कौरवविरोधी भावना फैलाए। ब्राह्मणमार्फत सबै गणराज्यमा कौरवप्रति घृणा र पाण्डवप्रति सहानुभूति बटुले। पहिला उनले फुपु कुन्तीलाई हात लिए। त्यसपछि अर्जुनलाई। दुर्योधनलाई यसको आभास भइसकेको थियो। परन्तु, आफूलाई सधैँ मूर्ख भनेर दुत्कार्ने राज्यसभा सदस्यसामु उनले यो कुरा राख्न सकेनन्। राखे पनि कसैले पत्याउने थिएनन्। यस्तो स्थितिमा उनले पाण्डवलाई नसिध्याए आफ्नो सत्ता नबच्ने ठाने। कृष्णले चाहेको आखिर यही थियो।
दुर्योधनले पाण्डवहरूलाई अत्यन्त विष्फोटक पदार्थहरूले बनेको घरमा जलाएर मार्ने योजना बनाए। विदूरबाट यो सुइँको पाएपछि पाण्डवहरूले एक मंगोल महिला र उनका पाँच छोरालाई राखेर लाहाको घर आफैँले जलाइदिए अनि सुरुङको बाटो भागे। कौरवले ती महिला र पाँच छोराछोरीको लास देखेर पाण्डव र कुन्ती मारिएको ठाने। जंगलमा उनीहरूले अनेक दुःख भोग्नुपर्‍यो। कति अवस्थामा उनीहरू दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार धैर्यको पाठ पढाउँथे।
द्रौपदीसित बिहेपछि पाण्डवहरूको शक्ति बढ्यो। कृष्णले युद्ध हुने धम्की दिएपछि दुर्योधनले परिस्थिति आकलन गरेर पाण्डवलाई इन्द्रप्रस्थ राज्य दिए । उनीहरूलाई बस्न त्यति बेलाको सबैभन्दा आधुनिक कलाद्वारा निर्मित महल बनाइदिए। यस्तो महल दुर्योधनकै पनि थिएन। एक दिन उनी पाण्डवको महल भ्रमण गर्न गए। महलको वास्तुकला अनुपम थियो। पानीजस्तो देखिने ठाउँमा जमिन र जमिनजस्तो देखिने ठाउँमा पानी थियो। दुर्योधन जमिन भन्ठानेर गएको ठाउँमा पानी थियो। त्यहाँ उनी डुबे। यो देखेर द्रौपदीले ‘अन्धाको छोरा पनि अन्धै रहेछ’ भनेर अट्टहास गरिन्। सुनेर पाण्डवहरू हाँसिरहे। दुर्योधनले बदला लिने प्रण गरे। कृष्णको कूटनीति अर्कोपल्ट फेरि सफल भयो।
••••
मामा शःकुनीको सहयोगले जुवा खेलेर दुर्योधनले युधिष्ठिरको राज्य, भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर सबैलाई मुक्तमात्र गरिदिएनन्, फेरि राज्य फिर्ता दिए। फेरि पनि युधिष्ठिरले जुवामा सबै हारे। भाइहरू र द्रौपदीसहित वनबास गए। अत्यन्त कष्टकर वनबास सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको प्रेरणामा पाण्डवहरूले युद्ध घोषणा गरे। दुवैतर्फबाट युद्ध तयारी भयो। कौरव पक्ष अत्यन्त सुदृढ थियो। भीष्म, द्रोण, कर्ण, अश्वत्थामा, कृपाचार्यजस्ता महारथी उनीहरूसँग थिए। नकुल-सहदेवका आफ्नै मामा शल्य कौरवपट्टि लागेका थिए।
पाण्डव सेनाका सञ्चालक अर्जुनमात्र थिए। उनी आफ्नो कमजोर स्थितिप्रति पूरै सचेत थिए। उनको मनमा नानाथरीको कुरा खेल्न थाले। ठूला बा, उनका छोरा, द्रोणको माया, बाल्यकालको आपसी स्नेह सम्झँदा अर्जुनलाई युद्ध बेकार लाग्यो। भीष्म, द्रोण, कर्णजस्ता महारथीलाई धर्मयुद्धको नियमअनुसार मार्न सकिन्न भन्ने उनलाई थाहा थियो। यी जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नथ्यो। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्थ्यो। युधिष्ठिरको मूर्खतालाई न्यायोचित साबित गर्न थुप्रै निर्दोष व्यक्ति मारिन्थे।
दुर्योधनलाई द्रौपदीले अपमान गर्नु पितातुल्य धृतराष्ट्रको पनि अपमान थियो। त्यसका लागि पाण्डवहरूले माफी नमाग्नु अर्को गल्ती थियो। त्यसमाथि युधिष्ठिरले जुवा खेलेर राज्य, भाइहरू, आफू स्वयं र द्रौपदीलाई समेत हार्नु महाभूल थियो। त्यस्तोमा पनि कसैलाई ‰यालखाना नराखी त्यसै छाडिदिनु दुर्योधनको ठूलै उदारता थियो। युद्धमा वीरजति सबै मारिएपछि देशको सुरक्षा के होला? यस्तै सोचेर अर्जुनले धनुषवाण भुइँमा राखे र युद्ध नगर्ने घोषणा गरे।
कृष्ण यसका लागि पहिल्यैदेखि तम्तयार थिए। मनोविज्ञानको सहारा लिएर अर्जुनलाई कृष्णले पूरै बदलिदिए। जिते हस्तिनापुर र हारे स्वर्गको सपना देखाए। कहिले उच्च, कहिले नरम स्वरमा बोलेर उनले अनेक ब्रह्माण्डको काल्पनिक नक्सा बनाए र बिगारे। कृष्णको कुराले लएिका अर्जुनले कर्ण, भीष्म, जयद्रथ, द्रोण, दुर्योधन मरेको देखे। अर्जुनलाई कृष्ण नै सर्वसत्ताधारी ईश्वर हुन्, यो जगत् उनकै लीला हो, कुनै पनि कुरा टारेर टर्दैन भन्ने भान पारिदिए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा खेल्नु सबै पूर्वनिश्चित थियो, अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै कृष्णकै इच्छामा भर पर्छ भन्ने भ्रम दिन उनी सफल भए। यसरी अर्जुन युद्धका लागि तयार भए।
••••
कृष्णले भीष्म, विदूरलगायतलाई पनि आफू परमेश्वर भएको भान पारिसकेका थिए। उनी पाण्डवसँग भएपछि यो युद्ध जित्न असम्भव छ भन्ने बारम्बार भीष्म दुर्योधनलाई प्रत्यक्ष-अप्रत्यक्ष सुनाइरहन्थे। दुर्योधनले कौरव सेनापति बन्न आग्रह गर्दा सुरुमै भीष्मले तीन सर्त राखे, १) म सेनापति रहुन्जेल ‘सूतपुत्र’ कर्णले युद्ध गर्न पाउँदैन २) म कुन्तिपुत्रहरूलाई बध गर्दिनँ ३) शिखण्डीविरुद्ध कुनै अस्त्र चलाउँदिनँ।
सेनापतिले यसरी लडाइँ सुरु नहुँदै कौरव सेनाको पराजयको उद्घाटन गरिसकेका थिए। कर्णजस्ता महावीरले युद्धमा भाग लिन नपाउँदा कौरव पक्ष कमजोर हुने पक्का थियो। नभन्दै दसौँ दिनसम्म कौरव सेनाको तुलनामा पाण्डव सेना बलियो भइसकेको थियो। भीम, अर्जुनजस्ता महायोद्धाको अन्त्य नहुन्जेल कौरवको जित असम्भव थियो।
कृष्ण पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी अर्जुनका सारथी हुनुमा विशेष कारण थियो। सेनानीजस्तै लड्न गएका भए उनी अर्जुनसँग हुने थिएनन् र भावनामा बगिरहने अर्जुनले विचार बदल्ने खतरा थियो।
आठौँ दिनसम्म कौरव सेनामा निकै क्षति भएपछि दुर्योधनले कर्णलाई युद्ध गर्ने अनुमित दिन दबाब दिए। नभए सेनापतिबाट भीष्मलाई बर्खास्त गर्ने चेतावनी दिए। बल्ल भीष्मले पाण्डव सेना ध्वस्त पारिदिने वचन दिए। नभन्दै भोलिपल्ट उनीसामु पाण्डव सेना डँडेलोमा परेको पत्करजस्तै भए। यो देखेर युधिष्ठिर आतंकित भए। कृष्णको सल्लाहअनुसार साँझ युद्धविरामपछि उनले भीष्मलाई भेटे। शिखण्डी लड्न आए हतियार त्याग्ने गोप्य भेद भीष्मबाट खुस्काए। युद्धको दसौँ दिन शिखण्डीलाई अगाडि राखेर अर्जुनले भीष्मलाई वाणैवाणको शैयामा सुताइदिए।
युद्ध सुरु हुनै लाग्दा कृष्णले कर्णलाई ‘तिमी कुन्तीपुत्र हौ, त्यसैले पाण्डव पक्षमा लाग’ भनेका थिए। यही रहस्य कुन्तीले कर्णलाई सुनाइसकेकी थिइन्। दुवैलाई कर्णलेे दुर्योधनको उपकारप्रति बेइमानी गर्न नसक्ने बताएका थिए। हो, उनले आफूलाई मर्ममै प्रहार गर्ने अर्जुनबाहेक चार दाजुभाइलाई नमार्ने वचन दिएका थिए। धृतराष्ट्रको पहिलो पुत्र युयुत्सु वैश्य दासी युवतीबाट जन्मेका थिए। यही कारण उनको युवराज हुने हक खोसिएको थियो। कृष्णको इशारामा कुन्ती र पाण्डव उनलाई उचालिरहेका थिए। युद्ध सुरु हुनै लाग्दा आफूलाई इच्छा लागेको समूहमा जान सबैलाई स्वतन्त्रता भएको उद्घोष गरियो। युयुत्सु कौरव सेना छाडी पाण्डव पक्षमा आए।
नकुल-सहदेवका मामा शल्यले कौरवलाई सघाउने थाहा पाएपछि कृष्णले कुन्तीलाई उचाले। कुन्तीले शल्यलाई खै गरिन्। शल्यले भने, ‘धन्ना नमान्नुस्, मौका मिल्नासाथ म कौरव सेनालाई कमजोर पारिदिन्छु।’ नभन्दै उनले ‘अर्जुनसामु तिमी केही छैनौ’ भनेर बारम्बार कर्णको मनोबल गिराइरहे।
••••
चक्रब्यूहमा पारी अर्जुनका छोरा अभिमन्युलाई महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारेका थिए। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा पाए। उनले भोलि सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके आफैँ चितामा जलेर मर्ने उद्घोष गरे। जयद्रथले भाग्न खोजे। द्रोणले अर्जुनलाई जयद्रथसम्म आइपुग्नै नदिने आश्वासन दिए। नभन्दै द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण छाडेर अर्जुन चिता चढ्न तयार भए। कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार भए। दुर्योधनका मामा शःकुनीले जयद्रथलाई भने, शत्रु चितामा जलेर खरानी भएको हेरेर आत्मा शान्त पार। जयद्रथ टुप्लुक्किए। त्यही मौकामा कृष्णको इशारा पाएर अर्जुनले वाण प्रहार गरी जयद्रथको टाउको उडाइदिए। महाभारत कथाअनुसार भने अर्जुन मर्ने भए भनेर कृष्णले लीला गरे। सूर्य अस्ताउन एक घडी बाँकी हुँदै उनले सुदर्शन चक्रले सूर्यलाई छेकिदिए र अन्धकार पारिदिए। अर्जुनले जयद्रथको हत्या गर्नेबित्तिकै चक्र हटाइदिए। झलमल्ल घाम लाग्यो।
भोलिपल्ट पन्ध्रौँ दिनको युद्धमा द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रुपद, विराटलगायत वीर राजालाई मारिदिए। कृष्णले सुझाए, ‘अश्वत्थामाको हत्या नगरी आचार्यलाई शान्त गर्न सकिन्न।’ भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक हात्तीलाई मारिदिए र द्रोणले सुन्ने गरी भने, ‘तपाईँ बेकारमा किन चम्किनुहुन्छ गुरुदेव? भर्खरै मैले तपाईँको छोरा अश्वत्थामालाई मारिसकेँ।’ द्रोणले पत्याएनन्। ‘युधिष्ठिरले भनेमात्र पत्याउँछु’, उनले भने। कृष्णको दबाबमा द्रोणका त्यति ठूला विश्वासपात्र युधिष्ठिरले अर्धसत्य बोले, ‘मान्छे हो वा हात्ती, अश्वत्थामा मारिए।’ ‘मान्छे हो वा हात्ती’ भन्ने वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए, भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले ‘अश्वत्थामा मारिए’ भन्ने वाक्यमात्र सुने। उनी हतियार त्यागेर तुरुन्त योगासनमा बसे। धृष्टद्युम्नले द्रोणको शिर काटिदिए।
धनुर्विद्यामा कर्ण अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै कर्णको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी पांग्रा उचाल्न गए। यस्तो बेला विपक्षमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो। कृष्णको आदेश पाएर यही मौकामा अर्जुनले वाण हानेर कर्णको बध गरे।
युद्धको अन्त्यमा कौरव पक्षका कृतवर्मा, अश्वत्थामा, कृपाचार्य र दुर्योधनमात्र बाँकी रहे। दुर्योधन भागेर द्वैपायन ह्रद नामक तलाउमा लुकेर बसे। युधिष्ठिरले चुनौती दिँदै भने, ‘दुर्योधन, तिमीजस्ता वीर यसरी लुक्न सुहाउँदैन, जिते सारा राज्य, मरे स्वर्ग जाने अवसर गुमाएर किन लुक्छौ? हामीमध्ये जोसँग चाहन्छौ, त्यसैसँग लड, आऊ।’ सुन्नेबित्तिकै पानीबाट बाहिर निस्केर दुर्योधनले भने, ‘मसँग लड्नसक्ने भीम हो। उसैसँग गदा युद्ध गर्छु।’ गदा युद्धमा दुर्योधनले भीमलाई आच्छुआच्छु पारे। कृष्णको इशारामा भीमले नियमविपरीत जाँघमा प्रहार गरे। दुर्योधनको कम्मर खन्द्रम्मै भाँचियो। नियमविपरीत प्रहार गरेको भनी कृष्णका दाजु बलराम स्वयं गदा उचालेर भीमलाई मार्न तयार भए। कृष्णले बलरामलाई थुम्थुम्याए। दिक्क हुँदै बलराम तीर्थयात्रामा हिँडे।
कृष्णकै दूरदर्शिता र चलाखीका कारण पाण्डवहरूले असम्भव युद्ध जिते र राज्य पाए। यी सबै ‘भगवान् कृष्णको लीला’ ठहरियो। उनै ‘ईश्वर’का सन्तान ५६ कोटी यदुवंशी आपसमा काटामार गरेर सकिए। एक व्याधाको वाण लागेर स्वयं कृष्णकै दुःखद् निधन भयो। यसलाई पनि ‘लीला’ भनियो।
••••
केहीअघि महाभारत द्वन्द्वलाई नेपालको आधुनिक राजनीतिसँग जोडेर मैले ‘महाभारत’ शीर्षक एउटा कथा लेखेको थिएँ। यसमा कृष्णको कूटनीतिक खेलमा परेर नेपालका सभासद्हरू मृतक उम्मेदवार दुर्योधनलाई प्रधानमन्त्री जिताइदिन्छन्। कृष्ण नेपालको राजनीति सबै प्रभुको लीला हो भन्ने भ्रम दिन सफल हुन्छन्। उनी भन्छन्, ‘डोन्ट वरी, ईश्वरको कृपाले एक दिन सबै ठीक हुन्छ।’
इच्छाहरूलाई निरन्तर पछ्याइरहने र प्रचारयन्त्र नियन्त्रणमा राख्ने हो भने असम्भव केही नहुने रहेछ।
(संक्षिप्त महाभारत भाग १, २ (गीता प्रेस, भारत), श्रीकृष्ण और गीता (सं- राकेशनाथ, भारत), हिन्दु धर्मका उत्थान औरत पतन (रजनीकान्त शास्त्री, भारत), संक्षिप्त भारत (चक्रपाणि चालिसे, साझा प्रकाशन) मा आधारित)

साभार :  http://satyakura.wordpress.com/ * लेखकको अनुमतीमा
Post a Comment