Tuesday, January 21, 2014

अन्ना हजारे VS. सुब्रह्मण्यम स्वामी

प्रिय मित्रहरु, आज हाम्रो छिमेकी राष्ट्र भारतका दुई सामाजिक कार्यकर्ता तथा भ्रस्टाचारबिरोधी अभियन्ताको बिषयमा कुरा गरौं -

भारतीय राजनीतीमा अहिलेका चर्चित पात्र हुन् - अन्ना हजारे । खासगरी उन्लाई गान्धीबादी सिद्धान्त मान्ने त्यागी र भ्रस्टाचार बिरोधी अभियन्ताको रुपमा चिनिन्छ । तर उन्ले अन्य थुप्रै सामाजिक उत्थानका काम पनि गरेका छन् । त्यस बापत थुप्रै राष्ट्रिय र अन्तररास्ट्रिय पुरस्कार पाएका छन् । उन्को आम्दानीको कुनै स्रोत छैन, सम्पत्ती पनि छैन । आफ्नो जीवनमा अनगिन्ती भोकहड्ताल गरेर हजारेले भारत सरकारलाई हायल-कायल बनाएका छन् ।

त्यसै गरी अर्का पुराना तथा निक्कै नै कम चर्चित पात्र हुन् - डा. सुब्रह्मण्यम स्वामी । उनी पनि भ्रस्टाचार बिरोधी अभियन्ता हुन् । स्वामी सन १९९० मा भारतका वाणिज्य, कानून र न्याय मन्त्री पनि बनेका थिए । वास्तवमा 'स्वामी र बिबाद' पर्यायवाची शब्द हुन् भने पनि हुन्छ । धेरैलाई स्मरण हुनुपर्छ, स्वामीले सोनिया गान्धीलाई भारतको नागरिक नभएको तथा गलत शैक्षिक जानकारी दिएको मुद्धा ठोकेर भारतको प्रधानमन्त्री हुनबाट रोके । जयललिता, ए राजा जस्ता शक्तीशाली ब्यक्तीले गरेका भ्रस्टाचारको भन्डाफोड गर्ने लगायत 2G कान्ड, इलेक्ट्रोनिक भोटिङ मेसिन कान्डको पर्दाफास अनी भारतीय मिडिया मालिक बन्न बिदेशीलाई प्रतिबन्ध लगायतका उल्लेख्य काम सुब्रह्मण्यमले गरेका हुन् ।

अन्ना हजारे र सुब्रह्मण्यम स्वामीको योगदानको तुलनात्मक अध्ययन गर्ने हो भने दुबैको योगदान उत्तिकै छ । तर काम गराइको तरिका एक-आपसमा बिल्कुलै भिन्न छ । हजारे धम्कीको भाषा बोल्छन् ।  स्वामी कानुनको भाषा बोल्छन् । हजारे केही भयो कि अनसन बसी हाल्छन् । स्वामी केही भयो कि प्रमाण जुटाउँछन् अनी मुद्धा ठोक्दिन्छन् । हजारे त्याग गर्नुपर्छ भन्दै मन्दिरको एउटा सानो कोठामा जीवन गुजार्दैछन् । स्वामी आफ्नो परिवारसँग सामान्य जीवन जिउँदैछन् ।  हजारे शब्दै पछी -'देशके लिए, जनताके लिए' भन्छन् । स्वामीको त्यस्तो थेगो छैन तर खुरुखुरु समाज र देशप्रती गर्नुपर्ने कर्तब्य गरिराखेका छन् ।

अन्ना हजारे सांसारिक प्राणी देखिदैनन् । जबकी सुब्रह्मण्यम स्वामी सांसारिक प्राणी देखिन्छन् । समाज र देशको लागि दुबैले लडाईं लड्दैछन् । दुबै अब्बल छन् तर तुलनात्मक रुपमा हेर्दा हजारे पटक-पटक अनसन बस्ने स्व:हिंस्रक तथा 'सेन्टीमेन्टल ब्लाकमेलर' झैं लाग्छन् । बरु सुब्रह्मण्यम स्वामीका हरेक कृयाकलाप हिंसारहित, कानुनसम्मत अनी अनुकरणीय लाग्छ ।

- योगेश कुमार खपाङ्गी

Tuesday, January 14, 2014

बन्द गर भोक हड्तालको नौटंकी !


- योगेश कुमार खपाङ्गी

बच्चाहरुले कहिले काँही आफ्नो माग पुरा गराउन खाना नखाने जिद्दी गर्छन् । खाँदै नखाए पछी बाध्य भएर आमा-बाबुले बच्चाको जायज वा नाजायज माग पुरा गर्दिनु पर्ने हुन्छ । यिं त भए बच्चाको कुरा ! तर ठुलाले पनि अरु नै किसिमका तरिका नअपनाएर किन उही बच्चाले गर्ने काम गरेका ? महान मानिएको माहात्मा गान्धीले पनि त्यै बच्चाले गर्ने हर्कत किन गरेका ?  आफ्नो माग पुरा गराउन अरु नै सशक्त किसिममा उपायको खोजी अहिलेसम्म कुनै विद्वानले समेत बिकास गर्न किन नसकेको ?


भन्न त महात्मा गान्धीले अनसन बस्ने कामलाई अंहिसापूर्ण काम भनेका छन्
, तर ओशोको भनाइमा 'अनसन बस्नु पनि एक किसिमको हिंसा नै हो ।' यस्को पछाडि पनि हिंसा नै लुकेको हुन्छ । जसरी उज्यालोको पछाडि अँध्यारो लुकेको हुन्छ । यस्को ब्याख्या गर्दै उनी थप कुरा बताउँछन् - 'यदी तपाईंलाई कसैले छुराले हान्छ भने त्यो हिंसा हो । तर उस्ले त्यही छुरा आँफैतर्फ फर्काएर मेरो माग पुरा गर नत्र म आत्महत्या गर्छु भन्छ भने, त्यो झन हिंन्स्रक काम हो । तपाईंलाई छुरा हान्न खोज्दा त प्रहरीले बच्चाउन सक्ला, तर आत्महत्या गर्नखोज्नेलाई त प्रहरीले पनि बचाउन सक्दैन ।'

अधिकारी दम्पतीले आफ्नो छोराको हत्यारालाई सजाय दिलाउन गरेको भोक-हडतालको कुरालाई अपबादमा राखेर कुरा गर्ने हो भने वास्तवमा अन्य कुनै पनि बहाना (चाहे समाजको लागि, धर्मको लागि वा गरीबीको कारण)मा अनसन बस्नु राम्रो काम होइन ।

दार्शनिक सुकरातले भनेका छन् -'सबै लट्ठीको दुईवटा छेउ हुन्छ ।' हरेक भोकहड्ताल शुरुमा सामान्य घटना र अहिंसात्मक काम देखिन्छ । तर यस्को भित्री तहमा ठुलो हिंसा लुकेको छ । कथंकदाचित अनसनकर्ताको असमयमै अन्य कुनै कारणले पनि ज्यान गयो भने त्यसपछीका दिनमा ठुलो र थामी नसक्नु हिंसा देशभरी भड्किनसक्छ । एकजना हठी अन्ना हजारे वा गोबिन्द केसीले गर्दा हजारौं/लाखौं मान्छेको ज्यान पनि अनाहकमा जानसक्छ । त्यसैले गान्धी वा हजारेपथ पछ्याउँदै कुनै पनि बहानामा कसैले पनि भोक-हड्तालमा बस्छ भने हरेक सचेत नागरिकले सरोकारवाला समुह वा अनसनकर्ताको बिरोध गर्नु पर्छ । चाहे त्यो सबैको भलाईको लागि भनेर भोकहड्ताल किन नगरिएको होस् !

यसै प्रसंगमा एउटा छोटो कथा :
एकजना खराब केटोले एक सज्जनको छोरीलाई अती मन पराएछ । केटीको हात माग्न त्यो केटो केटीको बाबुकोमा गएछ । तर केटो बिल्कुलै खराब हुनाले केटी र उस्को परिवारले अस्विकार गर्दिएछन् । तर केटो पनि हठी रहेछ । भन्न थालेछ -'यो केटीलाई मसँग बिहे गर्देऊ ! नत्र म तिम्रो घरको द्वारमा अनसन बसेर मर्दिन्छु ।'  तापनी केटी पक्ष राजी नभएकाले केटो बोरा ओछ्याएर केटीको घरको मुख्य-द्वारमा अनसन बसेछ । एक दिन/दुई दिन/एक हप्ता हुँदै महिना दिन पनि हुन लागेछ, केटो अनसन बसेको । केटा त अब मर्ने नै भयो भनेर सारा छर-छिमेक र आफन्तले केटीको बिहे त्यो केटोसँग गर्दिन करकाप गर्नथालेछन् । केटीको पितालाई आपतै परेछ ! दैवसन्जोगले त्यस टोलमा कुनै विद्वान आएका रहेछन् । तिन्ले केटीका पितालाई एक उपाय सिकाइदेछन् ।

उन्ले सिकाएको उपाय अनुसार एउटी अत्यन्तै कुरुप युवतीलाई केही पैसा दिने शर्तमा केटोको नजिकै भोकहड्तालमा राखेछन् । अनी कुरुप केटीको माग चै 'अनसनबस्ने केटोसँग कुनै हालतमा बिहे गर्दिनु पर्यो नत्र भोकहड्ताल गरेर यस्कै सामु प्राण त्याग गर्छु' भन्ने राखिदिछन् ।

अब केटी पनि भोक-भोकै बसेर मर्ने स्थिती भए पछी समाजले त्यो कुरुप केटीलाई त्यही खराब केटोसँग बिहे गर्दिने भएछन् ।

यो थाहा पाएपछी केटो आफ्नो बोरा-बिस्तारा च्यापेर कुलेलम ठोकेछ ।
 

Tuesday, December 31, 2013

धनीको बिरोध किन ?


-योगेश कुमार खपाङ्गी 
नांगो-भुतुङ्गो भएर हिंड्ने महात्मा गान्धीको टेबलमा ब्यापारी जी.डी. बिरलाले साइन गरेको ब्ल्यांक-चेक नै राखिदिएका थिए । जुन पैसाको बलमा गान्धीले देशभरीका जनताको शक्ती एकत्रित गरे अनी अंग्रेजलाई भगाए । गान्धी एउटा बनिया (ब्यापारी) परिवारका ब्यक्ती थिए । तर गान्धीले जहिले पनि आफुलाई गरीबीको आवरणमा ओढाइराखे । उन्ले पब्लिक साइकोलोजी राम्रैसँग बुझेका थिए, कि भारतीय जनता धनी-मानीलाई मनपराउँदैन भन्ने ! महात्मा देखिन तथा नेता बन्न नांगो-भुतुङ्गो, भिकारी र कुरुप हुनुपर्छ भन्ने स्कुलिङ वास्तवमा गान्धीकै हो ।


इन्कार गर्न सकिन्न, बर्तमान विश्व धनमै टिकेको छ । अमेरिकासंग धन छ त्यसैले उसंग शक्ती छ । शक्ती छ, त्यसैले संसार डराउँछ । धन कमाउनु/बनाउनु पनि एउटा कलाकै काम हो । यो कला सितिमिती मान्छेहरुसँग हुँदैन । जोसँग छ त्यस्तो कला छ, सकिन्छ भने उनिहरुको बुद्धीको उपयोग गर्नुपर्छ । उनिहरुलाई निती-निर्माणको ठाउँमा लानु पर्छ । ताकी उनिहरुको संलग्नताले गर्दा देशको आर्थिक निती परीणाममुखी बन्न सकोस् । निती गतिलो भयो भने मात्र हामी पनि विश्व-प्रतिस्पर्धी दौडमा दौडिन सक्छौं । धन र धनीलाई तिरस्कार/इर्ष्या गरेर होइन प्रेम र उपयोग गरेर मात्र हामी पनि धनी बन्न सक्छौ, सम्रिद्ध नेपाल बनाउन सक्नेछौं ।

एउटा गीत सुन्नु भएको होला नि -
'गाँउ-गाँउबाट उठ,
बस्ती-बस्तीबाट उठ,
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ'

गुंण रहस्य पहिल्याउने हो भने योगदानको रुप परिवर्तन मात्र भएको हुन्छ तर बाजा बजाएर भिंड जुटाउने, माइक र प्राबिधिक सहयोग गर्नेहरु, पर्चा छाप्ने मजदुर र प्रेस ब्यवसायी, गाडीप्रबन्ध गर्ने डाइभर गाडी मालिक, पानी-खाजा खुवाउने स्वयंमसेवक र दल चलाऊन चन्दा दिने ब्यापारीले पनि कमबहुत मात्रामा पार्टीलाई उत्तिकै योगदान दिएको हुन्छ, जती जुलुसमा गएर ढुंगा खाने र रगत बगाउनेको हुन्छ । जो सँग जे छ त्यै लिएर देश बनाउन जुट्ने त हो नि !

अत: सभासदको लिस्टमा को-को पर्नुपर्थ्यो वा हुन्नथियो त्यो छलफलको बिषय हुनसक्छ तर राजनीतिक पार्टीहरुले ब्यापारीलाई समानुपातिकबाट सभासदको सिफारिस गरेर ठिकै गरेका छन् । त्यस्तो कदमको बिरोध गर्नुको तुक छैन ।

Thursday, December 19, 2013

लोकल रक्सीको पक्षमा एउटा लघु लेख :

-योगेश कुमार खपाङ्गी

प्रिय मित्रहरु, लामो समयको ब्रेक पछी पुन: 'आकाशबाणी'मा झुल्किदैछु । नरिसाउनु होला है !


धेरै बर्ष अघी एउटा लेखमा पढेको; अन्टार्कटिकाको यात्रामा जानेले अनिवार्य बोक्नु पर्ने तीनवटा कुरो - 1. न्यानो कपडा 2. लाइटर/सलाई 3. रक्सी । यिं मद्धे एउटा मात्र कुरो छुटेमा उस्को मृत्‍यु निश्चित हुन्छ ।

रसिया पनि लगभग अन्टार्कटिका जत्तिकै चिसो ठाउँ हो । त्यसैले स्टालिनले शक्तीमा छँदा जनताको लागि चोक-चोकमा नि:शुल्क भोड्काको ब्यवस्था गरेका थिए । तर मिखाइल गोर्बाचोभ राष्ट्रप्रमुख भए पछी कम्युनिजम मासेर पुँजीबाद भित्र्याए ।  अनी पहिलो काम नै सरकारले दिने नि:शुल्क रक्सी बन्द गराए, जनतालाई बिदेशी रक्सी किनेर खान बाध्य गराए । तर कठ्यांग्रिदो जाडोबाट बच्न रक्सी किनेर खानसक्ने पैसा जनतासँग  थिएन । जस्ले गर्दा उनिहरुले घरेलु मदिरा बनाउन शुरु गरे । गोर्बाचोभ सरकारले घरेलु मदिरा नियन्त्रण गर्ने अनेकौं प्रयास गर्‍यो तर असफल भयो ।

भारतका प्रधानमन्त्री मोरारजी देशाइले पनि रक्सी बन्द गराउने ठुलै अभियान चाले; तर असफल भए । त्यो पछी पनि कयौं कथित सज्जनहरुले घरपारुवा रक्सी निषेध गर्ने प्रयास गरे; तर सबै असफल नै भए । किन ? बिचार  गरौं :

धनीसँग के छैन ?
- बस्नलाई घर छ, न्यानो कपडा छ । समय कटाउन टि.भी छ, इन्टरनेट छ, पत्र-पत्रीका छ, ठुल-ठुला फिलिम हल छ । घुम्न, लग्जरी सामान किन्न सुपरमार्केट-मल छ । साँझमा खाने मासु-सलाद र महँगो व्हिस्की, वाइन र भोड्का छ । पैसा छ, मजा छ ।

गरीबसंग के छ ?
- गरीबसंग गरीबी छ । त्यो बाहेक मनोरन्जनको लागि लोकल रक्सी र श्रीमती/श्रीमानबाट 'फ्री अफ कस्ट'मा पाउने यौनको आनन्द छ । क्षितिजसम्मै हेरे पनि अर्थोक के छ र ऊसँग ?  दिनभरीको कडा परिश्रम, दु:ख र थकान । त्यसैले अलिकती पिउँछ, दु:ख भुल्छ, हल्का मनोरन्जन गर्छ; सुत्छ । अब रक्सी पनि भएन भने अरु के हुन्छ त गरीबसंग मनभुलाउने साधन र जिजिबिशाको त्यान्द्रो !


रक्सी खानु र खुवाउनु राम्रो हो होइन, लामै बहसको बिषय हुनसक्ला । तर जबसम्म गरीबी रहन्छ, तबसम्म लोकल रक्सी बन्द गराउन कसैले पनि सक्नेछैन र गराउनु पनि हुन्न । बरु लोकल रक्सी बनाउने सक्नेहरुलाई स्वास्थ्य तथा सरसफाइ सम्बन्धी तालिम दिएर बिदेशबाट रक्सी आयात गर्न बन्द गरिनु पर्छ । जस्ले गर्दा रक्सीको लागि देश बाहिर जाने करोडौं रुपियाँ जोगिन्छ भने चरम गरीबीको रेखा मुनी रहेका परिवारको जिबिकोपार्जनमा पनि केही टेवा दिन सकिन्छ ।

त्यसैले धनी-पुँजीपती रक्सी उद्द्योग चलाउन तथा सस्तो लोकप्रियाताको लागि 'लोकल रक्सी नियन्त्रण'को नौटंकी तुरुन्त बन्द गरियोस् । रक्सी बनाएर जिविका चलाऊने बर्गको लागि बैकल्पिक ब्यवस्था नगरि उनिहरुको हाँडा-भाँडा फुटाउने, समातेर दु:ख दिने, जरिवाना तिराएर उनिहरुको बाल-बच्चाको पेटमा लात हान्ने काम रोकियोस् । गरीबको बाँच्ने आशा नछिनियोस् ! 

Wednesday, October 9, 2013

मंगलमय शुभकामना !

'आकाशवाणी'का सम्पूर्ण पाठकमित्रहरु, शुभचिन्तक 
तथा दाजु-भाई/दिदी-बहिनीहरुलाई 

बडा दशैं २०७० सालको 
शुभ-उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !


साताको कार्टून



'प्रतिदिन दैनिक'मा प्रकाशित

Friday, September 6, 2013