Tuesday, January 14, 2014

बन्द गर भोक हड्तालको नौटंकी !


- योगेश कुमार खपाङ्गी

बच्चाहरुले कहिले काँही आफ्नो माग पुरा गराउन खाना नखाने जिद्दी गर्छन् । खाँदै नखाए पछी बाध्य भएर आमा-बाबुले बच्चाको जायज वा नाजायज माग पुरा गर्दिनु पर्ने हुन्छ । यिं त भए बच्चाको कुरा ! तर ठुलाले पनि अरु नै किसिमका तरिका नअपनाएर किन उही बच्चाले गर्ने काम गरेका ? महान मानिएको माहात्मा गान्धीले पनि त्यै बच्चाले गर्ने हर्कत किन गरेका ?  आफ्नो माग पुरा गराउन अरु नै सशक्त किसिममा उपायको खोजी अहिलेसम्म कुनै विद्वानले समेत बिकास गर्न किन नसकेको ?


भन्न त महात्मा गान्धीले अनसन बस्ने कामलाई अंहिसापूर्ण काम भनेका छन्
, तर ओशोको भनाइमा 'अनसन बस्नु पनि एक किसिमको हिंसा नै हो ।' यस्को पछाडि पनि हिंसा नै लुकेको हुन्छ । जसरी उज्यालोको पछाडि अँध्यारो लुकेको हुन्छ । यस्को ब्याख्या गर्दै उनी थप कुरा बताउँछन् - 'यदी तपाईंलाई कसैले छुराले हान्छ भने त्यो हिंसा हो । तर उस्ले त्यही छुरा आँफैतर्फ फर्काएर मेरो माग पुरा गर नत्र म आत्महत्या गर्छु भन्छ भने, त्यो झन हिंन्स्रक काम हो । तपाईंलाई छुरा हान्न खोज्दा त प्रहरीले बच्चाउन सक्ला, तर आत्महत्या गर्नखोज्नेलाई त प्रहरीले पनि बचाउन सक्दैन ।'

अधिकारी दम्पतीले आफ्नो छोराको हत्यारालाई सजाय दिलाउन गरेको भोक-हडतालको कुरालाई अपबादमा राखेर कुरा गर्ने हो भने वास्तवमा अन्य कुनै पनि बहाना (चाहे समाजको लागि, धर्मको लागि वा गरीबीको कारण)मा अनसन बस्नु राम्रो काम होइन ।

दार्शनिक सुकरातले भनेका छन् -'सबै लट्ठीको दुईवटा छेउ हुन्छ ।' हरेक भोकहड्ताल शुरुमा सामान्य घटना र अहिंसात्मक काम देखिन्छ । तर यस्को भित्री तहमा ठुलो हिंसा लुकेको छ । कथंकदाचित अनसनकर्ताको असमयमै अन्य कुनै कारणले पनि ज्यान गयो भने त्यसपछीका दिनमा ठुलो र थामी नसक्नु हिंसा देशभरी भड्किनसक्छ । एकजना हठी अन्ना हजारे वा गोबिन्द केसीले गर्दा हजारौं/लाखौं मान्छेको ज्यान पनि अनाहकमा जानसक्छ । त्यसैले गान्धी वा हजारेपथ पछ्याउँदै कुनै पनि बहानामा कसैले पनि भोक-हड्तालमा बस्छ भने हरेक सचेत नागरिकले सरोकारवाला समुह वा अनसनकर्ताको बिरोध गर्नु पर्छ । चाहे त्यो सबैको भलाईको लागि भनेर भोकहड्ताल किन नगरिएको होस् !

यसै प्रसंगमा एउटा छोटो कथा :
एकजना खराब केटोले एक सज्जनको छोरीलाई अती मन पराएछ । केटीको हात माग्न त्यो केटो केटीको बाबुकोमा गएछ । तर केटो बिल्कुलै खराब हुनाले केटी र उस्को परिवारले अस्विकार गर्दिएछन् । तर केटो पनि हठी रहेछ । भन्न थालेछ -'यो केटीलाई मसँग बिहे गर्देऊ ! नत्र म तिम्रो घरको द्वारमा अनसन बसेर मर्दिन्छु ।'  तापनी केटी पक्ष राजी नभएकाले केटो बोरा ओछ्याएर केटीको घरको मुख्य-द्वारमा अनसन बसेछ । एक दिन/दुई दिन/एक हप्ता हुँदै महिना दिन पनि हुन लागेछ, केटो अनसन बसेको । केटा त अब मर्ने नै भयो भनेर सारा छर-छिमेक र आफन्तले केटीको बिहे त्यो केटोसँग गर्दिन करकाप गर्नथालेछन् । केटीको पितालाई आपतै परेछ ! दैवसन्जोगले त्यस टोलमा कुनै विद्वान आएका रहेछन् । तिन्ले केटीका पितालाई एक उपाय सिकाइदेछन् ।

उन्ले सिकाएको उपाय अनुसार एउटी अत्यन्तै कुरुप युवतीलाई केही पैसा दिने शर्तमा केटोको नजिकै भोकहड्तालमा राखेछन् । अनी कुरुप केटीको माग चै 'अनसनबस्ने केटोसँग कुनै हालतमा बिहे गर्दिनु पर्यो नत्र भोकहड्ताल गरेर यस्कै सामु प्राण त्याग गर्छु' भन्ने राखिदिछन् ।

अब केटी पनि भोक-भोकै बसेर मर्ने स्थिती भए पछी समाजले त्यो कुरुप केटीलाई त्यही खराब केटोसँग बिहे गर्दिने भएछन् ।

यो थाहा पाएपछी केटो आफ्नो बोरा-बिस्तारा च्यापेर कुलेलम ठोकेछ ।
 
Post a Comment