Tuesday, December 31, 2013

धनीको बिरोध किन ?


-योगेश कुमार खपाङ्गी 
नांगो-भुतुङ्गो भएर हिंड्ने महात्मा गान्धीको टेबलमा ब्यापारी जी.डी. बिरलाले साइन गरेको ब्ल्यांक-चेक नै राखिदिएका थिए । जुन पैसाको बलमा गान्धीले देशभरीका जनताको शक्ती एकत्रित गरे अनी अंग्रेजलाई भगाए । गान्धी एउटा बनिया (ब्यापारी) परिवारका ब्यक्ती थिए । तर गान्धीले जहिले पनि आफुलाई गरीबीको आवरणमा ओढाइराखे । उन्ले पब्लिक साइकोलोजी राम्रैसँग बुझेका थिए, कि भारतीय जनता धनी-मानीलाई मनपराउँदैन भन्ने ! महात्मा देखिन तथा नेता बन्न नांगो-भुतुङ्गो, भिकारी र कुरुप हुनुपर्छ भन्ने स्कुलिङ वास्तवमा गान्धीकै हो ।


इन्कार गर्न सकिन्न, बर्तमान विश्व धनमै टिकेको छ । अमेरिकासंग धन छ त्यसैले उसंग शक्ती छ । शक्ती छ, त्यसैले संसार डराउँछ । धन कमाउनु/बनाउनु पनि एउटा कलाकै काम हो । यो कला सितिमिती मान्छेहरुसँग हुँदैन । जोसँग छ त्यस्तो कला छ, सकिन्छ भने उनिहरुको बुद्धीको उपयोग गर्नुपर्छ । उनिहरुलाई निती-निर्माणको ठाउँमा लानु पर्छ । ताकी उनिहरुको संलग्नताले गर्दा देशको आर्थिक निती परीणाममुखी बन्न सकोस् । निती गतिलो भयो भने मात्र हामी पनि विश्व-प्रतिस्पर्धी दौडमा दौडिन सक्छौं । धन र धनीलाई तिरस्कार/इर्ष्या गरेर होइन प्रेम र उपयोग गरेर मात्र हामी पनि धनी बन्न सक्छौ, सम्रिद्ध नेपाल बनाउन सक्नेछौं ।

एउटा गीत सुन्नु भएको होला नि -
'गाँउ-गाँउबाट उठ,
बस्ती-बस्तीबाट उठ,
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ'

गुंण रहस्य पहिल्याउने हो भने योगदानको रुप परिवर्तन मात्र भएको हुन्छ तर बाजा बजाएर भिंड जुटाउने, माइक र प्राबिधिक सहयोग गर्नेहरु, पर्चा छाप्ने मजदुर र प्रेस ब्यवसायी, गाडीप्रबन्ध गर्ने डाइभर गाडी मालिक, पानी-खाजा खुवाउने स्वयंमसेवक र दल चलाऊन चन्दा दिने ब्यापारीले पनि कमबहुत मात्रामा पार्टीलाई उत्तिकै योगदान दिएको हुन्छ, जती जुलुसमा गएर ढुंगा खाने र रगत बगाउनेको हुन्छ । जो सँग जे छ त्यै लिएर देश बनाउन जुट्ने त हो नि !

अत: सभासदको लिस्टमा को-को पर्नुपर्थ्यो वा हुन्नथियो त्यो छलफलको बिषय हुनसक्छ तर राजनीतिक पार्टीहरुले ब्यापारीलाई समानुपातिकबाट सभासदको सिफारिस गरेर ठिकै गरेका छन् । त्यस्तो कदमको बिरोध गर्नुको तुक छैन ।
Post a Comment