Tuesday, January 21, 2014

अन्ना हजारे VS. सुब्रह्मण्यम स्वामी

प्रिय मित्रहरु, आज हाम्रो छिमेकी राष्ट्र भारतका दुई सामाजिक कार्यकर्ता तथा भ्रस्टाचारबिरोधी अभियन्ताको बिषयमा कुरा गरौं -

भारतीय राजनीतीमा अहिलेका चर्चित पात्र हुन् - अन्ना हजारे । खासगरी उन्लाई गान्धीबादी सिद्धान्त मान्ने त्यागी र भ्रस्टाचार बिरोधी अभियन्ताको रुपमा चिनिन्छ । तर उन्ले अन्य थुप्रै सामाजिक उत्थानका काम पनि गरेका छन् । त्यस बापत थुप्रै राष्ट्रिय र अन्तररास्ट्रिय पुरस्कार पाएका छन् । उन्को आम्दानीको कुनै स्रोत छैन, सम्पत्ती पनि छैन । आफ्नो जीवनमा अनगिन्ती भोकहड्ताल गरेर हजारेले भारत सरकारलाई हायल-कायल बनाएका छन् ।

त्यसै गरी अर्का पुराना तथा निक्कै नै कम चर्चित पात्र हुन् - डा. सुब्रह्मण्यम स्वामी । उनी पनि भ्रस्टाचार बिरोधी अभियन्ता हुन् । स्वामी सन १९९० मा भारतका वाणिज्य, कानून र न्याय मन्त्री पनि बनेका थिए । वास्तवमा 'स्वामी र बिबाद' पर्यायवाची शब्द हुन् भने पनि हुन्छ । धेरैलाई स्मरण हुनुपर्छ, स्वामीले सोनिया गान्धीलाई भारतको नागरिक नभएको तथा गलत शैक्षिक जानकारी दिएको मुद्धा ठोकेर भारतको प्रधानमन्त्री हुनबाट रोके । जयललिता, ए राजा जस्ता शक्तीशाली ब्यक्तीले गरेका भ्रस्टाचारको भन्डाफोड गर्ने लगायत 2G कान्ड, इलेक्ट्रोनिक भोटिङ मेसिन कान्डको पर्दाफास अनी भारतीय मिडिया मालिक बन्न बिदेशीलाई प्रतिबन्ध लगायतका उल्लेख्य काम सुब्रह्मण्यमले गरेका हुन् ।

अन्ना हजारे र सुब्रह्मण्यम स्वामीको योगदानको तुलनात्मक अध्ययन गर्ने हो भने दुबैको योगदान उत्तिकै छ । तर काम गराइको तरिका एक-आपसमा बिल्कुलै भिन्न छ । हजारे धम्कीको भाषा बोल्छन् ।  स्वामी कानुनको भाषा बोल्छन् । हजारे केही भयो कि अनसन बसी हाल्छन् । स्वामी केही भयो कि प्रमाण जुटाउँछन् अनी मुद्धा ठोक्दिन्छन् । हजारे त्याग गर्नुपर्छ भन्दै मन्दिरको एउटा सानो कोठामा जीवन गुजार्दैछन् । स्वामी आफ्नो परिवारसँग सामान्य जीवन जिउँदैछन् ।  हजारे शब्दै पछी -'देशके लिए, जनताके लिए' भन्छन् । स्वामीको त्यस्तो थेगो छैन तर खुरुखुरु समाज र देशप्रती गर्नुपर्ने कर्तब्य गरिराखेका छन् ।

अन्ना हजारे सांसारिक प्राणी देखिदैनन् । जबकी सुब्रह्मण्यम स्वामी सांसारिक प्राणी देखिन्छन् । समाज र देशको लागि दुबैले लडाईं लड्दैछन् । दुबै अब्बल छन् तर तुलनात्मक रुपमा हेर्दा हजारे पटक-पटक अनसन बस्ने स्व:हिंस्रक तथा 'सेन्टीमेन्टल ब्लाकमेलर' झैं लाग्छन् । बरु सुब्रह्मण्यम स्वामीका हरेक कृयाकलाप हिंसारहित, कानुनसम्मत अनी अनुकरणीय लाग्छ ।

- योगेश कुमार खपाङ्गी
Post a Comment