Showing posts with label Dasain. Show all posts
Showing posts with label Dasain. Show all posts

Sunday, October 21, 2012

मेरो दशैं :

पाराखोपीका किराना पसले पाजुले दसैंमा जहिले पनि दुई छोराहरुलाई पन्चायतकालिन पुलिस ईन्सपेक्टरको जस्तो रेडिमेड लुगा किन्दिन्थे । त्यो लुगामा एउटा सिट्टी, नक्कली बन्दुक र नक्कली मेडलहरु हुन्थ्यो । अनी क्याप पनि सेटमै आएको हुनेरहेछ ! खै किन हो पाजुले जुनसुकै दसैंमा पनि केटाहरुलाई त्यही लुगा किन्दिन्थे । 

'त्यस्तै लुगा लगाएर बन्दुक पड्काउँदै हिंड्न पाये!'- मलाई रहर लाग्थ्यो । किन-किन मलाई त्यो लुगा अत्यन्तै आकर्षक लाग्थ्यो ।

आमालाई त्यस्तै लुगा किन्दिन जिद्दी गरें । तर बुवाले 'त्यस्तो लुगा पनि लाउँछन् ? लाज पो हुन्छ त !' भन्नुभयो र कहिले किन्दिनु भएन ।

'बरु बाबु तलाईं म 'ली'को पेन्ट र 'वारीयर' जुता किन्दिन्छु'- आमाले भन्नु भयो ।

त्यो बेलामा लीको पेन्ट सितिमिती केटाकेटीले लाउन पाउँदैनथे त्यसमाथी वारीयर जुत्ता ! हेर्दा अहिलेको गोल्डस्टार जस्तै मोडलको हुन्थ्यो वारीयर जुत्ता । म बल्ल-बल्ल राजी भयें । अनी त्यो पालीको दसैंमा म लीको पेन्ट, वारीयर जुत्ता र पहेंलो रङको गोलगलाको टि-शर्टमा ठाँटिएर हिंड्न पाँये । तर मलाई पाजुका छोराहरुले लाये जस्तो ईन्सपेक्टरको लुगाले आकर्षित गरिराख्यो !

अहिले सम्झिँदा तीं रहरहरु, त्यो पाराखोपी टोल, त्यो बालापन अनी त्यो दशै खुब रमाइलो लाग्छ !

Saturday, October 13, 2012

दशै कस्को ?

- योगेश खपाङगी


धैंको बर्ष झै यसपाली पनि संसारभरिका नेपालीलाई दशैले झ्याप छोपेको छ । सधैं झै यसपाली पनि शुभकामना दिने-लिने तथा खुशीयाली बाँड्ने क्रम शुरु भएको छ
तर केही भिन्न बिचार राख्नेहरु सधैं झैं 'दसैं बहिस्कार' आन्दोलनमा पनि लागिसके ।

आखिर किन हुन्छ त जहिले पनि दशैको बिरोध ! स्वाभाबिक छ । दशैलाई 'हिन्दूहरुको मात्र चाड' भन्ने गरिएको छ; त्यसैले हुन्छ दशैको बिरोध । तर बुझ्नुपर्ने कुरा के हो भने दसै कुनै अमुक जाति र हिन्दूहरुको मात्र पेवा होइन । यो त सबै धर्म मान्ने नेपाली जातिको साझा संस्क्रिती हो । पहिला दसैं भनेको चैतमा थियो । चैते दसैं भनेको थाहा छ होला नि ! ईतिहास साक्षी छ; चैतमा मौसम अनुकुल नभएको र कामको चटारो हुने बेला भएको हुनाले यस्लाई सफा र ठीक्कको मौसम न जाडो-न गर्मी अनी कामको चटारो पनि नहुने बेला असोजमा सारीएको हो । चैते दसैंलाई सानो दशै र असोजमा आउने दसैंलाई बडा दसैं भन्न थालिएको हो ।

पहिला दशै भनेको सारा नेपालीको साझा चाड थियो । पछी मात्र यस्लाई हिन्दूको चाडको रुपमा प्रचार गरिएको हो । दुर्गा माता र भगवान रामसँग हाम्रो साझा चाड दशैको बारहातको साईनो पनि थिएन र छैन पनि । समयक्रममा पछी यस्लाई ब्राह्मणीकरण गरिएको हो । तागाधारीले 'हाम्रो पेवा चाड' भनेपछी गैरतागाधारीहरुले 'तिमीहरुको चाड हामीले किन मान्ने' भनेर छाड्दै लगेको मात्र हो । बास्तवमा रामले रावणलाई मारेको खुशीयालीमा अथवा दुर्गामाताले महिशासुरलाई मारेको उपलक्ष्यमा हामीले दशै मान्न थालेको पनि होइन । अनी निधारमा लगाउने गरेको रातो चामलको अक्षता पनि कुनै महिशासुरको रगत मुछेर लगाउने गरिएको पनि होइन । बुढापाकालाई सोधे हुन्छ, दही र चामलमा रातो रङ राख्ने चलन त भर्खरै भित्रिएको मात्र हो ।  यो त हाम्रो नितान्त मौलिक र नेपाली मात्रको चाड हो । यदी यो चाड हिन्दूहरुको मात्र थियो भने खै त भारतीय हिन्दूहरुले मानेका ? भारतीय हिन्दूहरुको दशहरा भनेको दशमीदेखी नै सकिन्छ । जबकी हाम्रो खास रमाइलो दशै चैं दशमीदेखी शुरु हुन्छ । नातामा आफुभन्दा ठुलाबाट चामल र दहिमा मुछिएको टिका लगाउने, जमरा लगाउने आशिर्बाद लिने, सानालाई आशिर्बाद दिने, भेला भएर खानपान गर्ने, नयाँ कपडा लगाउने, दक्षिणा दिने, लिङगे पिङ खेल्ने लगायतका कामहरु सम्पूर्ण हिन्दूहरुले गर्दैनन् । त्यसैले पनि हामीले मानी आएको दशै हिन्दूहरुको पेवा भनिठान्नु ठीक हुन सक्दैन ।

हाम्रो साझा चाड दसैंको धार्मिक भन्दा पनि सांस्कृतिक महत्व बढी छ । काम र रोजगारीका लागि टाढा-टाढा पुगेका र लामो समयसम्म भेट नभएको परिवारलाई पुनर्मिलन गराउँछ दशैले । केटा-केटीहरुलाई पारिवारिक महत्व बुझाउँछ दशैले । देश-बिदेशमा रहेका सबै नेपालीलाई एकसुत्रमा बाँध्ने काम गर्छ दशैले । 

दशैलाई 'हिन्दूहरुको महान चाड बिजया दशमी' नभन्नुहोस्, सट्टामा बडा दशै वा दसैं मात्र भन्नुहोस् ।

सबैलाई बडा दशैको शुभकामना !