Sunday, October 21, 2012

मेरो दशैं :

पाराखोपीका किराना पसले पाजुले दसैंमा जहिले पनि दुई छोराहरुलाई पन्चायतकालिन पुलिस ईन्सपेक्टरको जस्तो रेडिमेड लुगा किन्दिन्थे । त्यो लुगामा एउटा सिट्टी, नक्कली बन्दुक र नक्कली मेडलहरु हुन्थ्यो । अनी क्याप पनि सेटमै आएको हुनेरहेछ ! खै किन हो पाजुले जुनसुकै दसैंमा पनि केटाहरुलाई त्यही लुगा किन्दिन्थे । 

'त्यस्तै लुगा लगाएर बन्दुक पड्काउँदै हिंड्न पाये!'- मलाई रहर लाग्थ्यो । किन-किन मलाई त्यो लुगा अत्यन्तै आकर्षक लाग्थ्यो ।

आमालाई त्यस्तै लुगा किन्दिन जिद्दी गरें । तर बुवाले 'त्यस्तो लुगा पनि लाउँछन् ? लाज पो हुन्छ त !' भन्नुभयो र कहिले किन्दिनु भएन ।

'बरु बाबु तलाईं म 'ली'को पेन्ट र 'वारीयर' जुता किन्दिन्छु'- आमाले भन्नु भयो ।

त्यो बेलामा लीको पेन्ट सितिमिती केटाकेटीले लाउन पाउँदैनथे त्यसमाथी वारीयर जुत्ता ! हेर्दा अहिलेको गोल्डस्टार जस्तै मोडलको हुन्थ्यो वारीयर जुत्ता । म बल्ल-बल्ल राजी भयें । अनी त्यो पालीको दसैंमा म लीको पेन्ट, वारीयर जुत्ता र पहेंलो रङको गोलगलाको टि-शर्टमा ठाँटिएर हिंड्न पाँये । तर मलाई पाजुका छोराहरुले लाये जस्तो ईन्सपेक्टरको लुगाले आकर्षित गरिराख्यो !

अहिले सम्झिँदा तीं रहरहरु, त्यो पाराखोपी टोल, त्यो बालापन अनी त्यो दशै खुब रमाइलो लाग्छ !

No comments: