Thursday, March 28, 2013

व्हाइ 'पोलिटिक्स इज नट डर्टी गेम' !


- योगेश कुमार खपाङगी

'पोलिटिक्स इज डर्टी गेम' अर्थात 'राजनिती फोहोरी खेल हो' ।  यो भनाइ कुनै चतुर राजनीतिबाजको हुनुपर्छ । अन्यथा राजनिती फोहरी खेल हुँदै होइन । किनभने राजनिती भनेको नितिहरुमद्धेको राजा-निती अर्थात राजनीति हो । राजनीतिले नै देश र संसार हाँकेको छ । सही निती र बिचारबाट निर्देशित नितिले जनता र देशको भबिस्य निर्धारित गर्छ । यदी कुनै देशमा असल राजनेताहरु नहुनु हो भने अर्को देशले त्यो देशलाई असफल घोषणा गर्दिन्छ र कथित राष्ट्र संघको नियम अन्तर्गत नै रहेर हडपीदिन्छ ।

बिडम्बनाको कुरो अहिले हाम्रो देशको राजनिती नितीबेगरको अनी फोहरी भएको छ । राजनीति आफैमा फोहरी खेल हुँदै होइन । तर यस्का खेलाडीहरु प्राय: सबै फोहरी भएका हुनाले नै राजनीति 'एउटा फोहर खेल हो' भन्ने भ्रम हुनगएको छ । यो भनाइले राजनीतिको नाममा फोहरी खेल खेल्नेहरुलाई चाँही पक्कै राहत मिलेको हुनुपर्छ । किन भने पहिले नै फोहरी खेल भन्दिए पछी त टन्टै साफ भो नि ! निजी स्वार्थ पुरा गर्न जती फोहर खेल खेले पनि भयो नि ! आखिर जनताको दिमागमा पहिल्यै भर्दिएकै छ - 'राजनिती फोहर खेल हो ।' अब फोहर खेलमा फोहरी काम त हुने नै भयो । त्यस्मा आस्चर्य मान्नु पर्ने कारण नै केही रहेन । न रहने भो बाँस, न बज्ने भो बाँसुरी ! कुरा साफ !

बर्तमान समयमा संसारमा असल राजनितिगग्यको कमी छ, खराबको बाहुल्य छ । फटाहा राजनीतिग्य र चतुर ब्यापारिहरु मिलेर जनताको (खासगरी युवाहरुको) ध्यान मोड्न अनी आफ्नो फाईदाकोलागी अनेक थरी उपायहरु बनाएका छन् । टिभीमा चौबिसै घण्टा अश्लील गीतहरु देखाउने; ताकी युवाहरुको मन सेक्सभन्दा अन्त नजाओस् । एम टिभी, भि टिभी, फेशन टिभी, ट्रावल एन्ड टुरिजम । सबैको नियत सेक्स पस्किने मात्र छ । हुँदा-हुँदा प्राय: अधबैंसे तथा बुढाहरु (जुनबर्गलाई सचेतबर्ग पनि भन्नसकिन्छ) ले पढने समाचार पत्रहरुमा समेत नियत भङग गर्ने उत्तेजक-अश्लील फोटोहरु र समाचार दिने अभ्यास हुनथालेको छ । यस मामालामा नेपाली मिडिया पनि काम छैन । जानेरहोस् या अन्जानमै; हाम्रा संचार माध्यमले पनि हामीलाई डरलाग्दो कालो खाडलमा धकेल्दैछन् । होसियार ! यस्ले गर्दा आममानिस बिहान उठेदेखी नै देशको मुल मुद्दामा चासो नदिने, बरु उत्तेजक र अश्लील समाचार खोजी-खोजी पढने अनी पङगु बनिदैछन् । त्यसै गरी महिलाहरुलाई त झनसारो बुद्धिहीन बनाउने कामको शुरुवात भएको छ । चौबिसै घण्टा टिवीमा टाँसिएर बस्नु परेपछी अन्य कुराहरु सोच्ने फुर्सद खै ? एकपछी अर्को तुरुन्त आउँछ ।  फुर्सद भइहालेमा पनि खाली गहना, राम्रा-राम्रा लुगा अनी विवाहइतर सम्बन्ध कसरी बनाउने भन्ने मात्र सोच्ने बनाउने घ्रिणित चाल चलाईँदैछ ।  रियलिटी शो अनी फोकटिया टेलीसिरियलमा आखिर के देखाइन्छ ? आजका बच्चाहरु  रेस्लिङ खेल हेरेर मजा लिदैछन् । भलै त्यो नक्कली खेल हो । तापनी एक मुस्तन्डले अर्कोको खप्पर फुटाएको, रगतको धारा बगाएर लडाईं गरेको देखेर ठुला-साना सबै दङग छौं । त्यसै गरी केही बच्चाहरु चै भिडियो गेममा रमाएका छन् । उनिहरु भर्चुवल दुश्मनलाई छानी-छानी मार्न पाएमा खुशी हुन्छन् । चलचित्र-पत्रपत्रीका र टिभीमा रात-दिन हिङ्सा देखाएको हुन्छ । हामी हिङ्स्रक बन्दै जाँदै छौ ।  हामीहरुलाई देशको मुल समस्या र मुद्धाहरुबारेमा अलग राखेर जिरो पर्सेन्ट नलेजको बनाउने अभ्यास हुँदैछ । सबै केटाकेटी भिडियो गेम/रेस्लिङमा - युवाहरु खेल वा मनोरन्जनमा बिजी छन् ।

'राखी सावन्तको काठमाडौं आउने प्रोग्राम क्यान्सिल भो रे, कट्रिनाले सल्मानलाई छोडेर रणबिरसँग सल्किन रे, ब्रिट्नी स्पेयरको अर्को केटोसँग अफेयर चल्न थाल्यो रे, जेनेट ज्याक्सनले कतारी प्रेमीसँग बिहे गर्ने भई रे, किम कार्डन्सनले बच्चा पाउने भई रे !' - मिडिया भरी यस्तै खबर छ । हाम्रा युवा दु:खी छन् । आफ्नो देशमा के हुँदैछ ? रुपैयाँको भाउ डलरको तुलनामा रातको दिन किन घट्दै छ ? हामी आँफै गरीब भा'को कि बनाइएको ? थाहा पत्तो छैन तर जस्टिन बिबर र लेडी गागाको सबै खबर थाहा छ ।

सन् १९९९ म भारत र पाकिस्तान बिच भयङ्कर युद्ध भएको थियो ।  त्यस युद्धलाई 'कारगिल-युद्ध' भनिन्छ । जुनबेला भारतीय सुरक्षा फौज र गोर्खा सेना ज्यानको बाजी थापेर युद्ध लडिराखेको थियो । त्यतीखेर भारतीयजन लन्डनमा भईराखेको आईसिसी क्रिकेट विश्वकप हेर्न र कमेन्ट्री सुन्नमा ब्यस्त थियो । मिडिया सबै क्रिकेटमय थियो । कुनै-कुनै सानातिना संगठन बाहेक कसैले पनि कारगिल-युद्धबारे 'चुँ' सम्म बोलेन; जबसम्म विश्वकप सकिएन । त्यस्बेलाको विश्वकप अस्ट्रेलियाले हात पारेको थियो । नत्र 'कारगिल जावोस् भाँडमा !' भारतीय युवालाई विश्वकपको मात्र मतलब थियो । यदी भारतले जितेको भये शायद दिपावली मनाइन्थ्यो होला । के थाहा यही तरिका हो भने हाम्रा नेपालीजन पनि भोलीको त्यस्तै कठिन अवस्थामा मनोरन्जनमै ब्यस्त पो हुने हो कि !

जुनसुकै काम गर्न इमान्दारिता र चरित्रवान हुन आवश्यक छ । तर राजनीति मात्र यस्तो ठाउँ छ जहाँ प्रवेश गर्न केही पनि चहिदैंन । खाली एकजमात गुण्डा र छलकपट गर्न जान्ने हुनुपर्छ । केहीलाई छोडेर भन्नुपर्दा अन्य ठाउँमा असफल भएपछी, चाँडो धनी हुन, समाजमा हैकम चलाउन, प्रख्याती वा कुख्याती कमाउन, राष्ट्रिय ढुकुटिमा मोज गर्न अनी पैसा कमाउन बिदेसीको एजेन्ट हुने तथा देश बेच्न परे पनि पछी नपर्नेहरुकै हातमा आज नेपाली राजनीति परेको छ ।
जे होस्, ढिलो-चाँडो नेपालमा फेरी संबिधानसभाको चुनाव हुन लागेको छ । फोहरी भाईरसहरुलाई अब हामी आम दिदी-बहिनी र दाजु-भाइले चिन्ने बेला आएको छ । पक्का छ फेरी पनि तिनै मान्छेहरु फेरी पनि चुनावमा उठ्नेछन् तर यसपटक तिनिहरुको जमानत जफत गराइदिनु पर्छ । अत: क्रिकेट, रेस्लिङ, सिरियल, रियलिटी शो, अश्लील संगीतको पछी नलागौं - रास्ट्रिय पोलिटिक्समा ध्यान दिऔं । सबै मिलेर राजनीतिलाई 'लोकनीती'मा परिणत गरौं । 'पोलिटिक्स इज नट डर्टी गेम - पोलिटिसियन इज डर्टी' । 
Post a Comment