Thursday, May 3, 2012

Funny moments of my life!

ओमबिक्रम बिस्टको डान्स !

एकान्त टोलका मेरा छिमेकी खाती बाबै (उन्को नाम मलाई अझै पनि थाहा छैन) त्यसताकाका प्रख्यात झाँक्री थिए । उनकी श्रीमती झाक्रिनी आमै निक्कै काली थिइन् । उन्लाई गाँउलेहरु बोक्सी बुढी पनि भन्थिए । गरीब पनि र काली पनि भएर होला ! बिचरी खुब माया गरेर मलाई बोलाउथिन् तर उनले बोलायो कि मेरो सात्तोपुत्लो जान्थ्यो । उनिहरुको झुप्रो घरमा म कहिलेकाँही जासुसी गर्थें । एउटा कोठामा बिभिन्न देबिदेवताका तस्बिर, रुद्राक्षका माला, दुम्सिका काँडा, बाङगे लहरो, साँपको काँचुली, ढयाङ्रो, घन्टी, शंख, फूलपाती, धुप लगायतका सामाग्रीहरु देख्थें । मलाई तिं सामाग्री देख्दा डर र आश्चर्य लाग्थ्यो ।

खाती बाबैको अनुहार र ख्याउटे ज्यान अहिले सम्झिंदा निक्कै माया लागेर आउँछ । खाती बाबैलाई मैले देख्दा प्राय: झारफुक गरिरहेका हुन्थे । कहिलेकाँही उनले बकेको पनि सुन्थें । 'बकेको' भन्नाले ढयाङ्ग्रो बजाएर फलाक्नु भन्ने बुजिन्थ्यो । 'हे मनुवा तलाई बिरमसान लाग्या रहेछ ! लौ बिर्मसान तलाईं के चाहिएको हो भनिहाल ! हँ नत्र तेरो... हँ भाकल... हँ देबिदेबता... हँ मसानघाटको माटो... ! भन्दै थर्थरी काम्दै के-के भन्थे भन्थे ! रात्रीकालिन सन्नाहट्मा हामी केटाकेटीको त होशवास नै गायब हुन्थ्यो ।

बाबैले बकेको त्यो बेलामा म दुरुस्तै नक्कल गर्न सक्थें । खै किन हो कुन्नी! उन्ले थर्थरी कामेर बकेको र ओमबिक्रम बिस्टले 'सुन्चाँदी भन्दा महँगो यो ज्यानलाई... ' भन्दै गाएको मलाई उस्तै लाग्थ्यो । त्यसैले उन्को कोड नेम मैले ओमबिक्रम बिस्ट रखिदिएको थिँये । हामी साथीहरु 'ओमबिक्रम बिस्ट आयो ' भनेपछी डरले चुपचाप हुन्थ्यौं । जब उनी निक्कै पर पुग्थे अनी मात्र हाम्रो बोल्ती खुल्थ्यो .

म उनको नक्कल दुरुस्त गर्नसक्ने हुनाले साथीहरु पटक-पटक त्य्स्तै एक्टिङ गर्न लगाउँथे । एक्पटक मैले उन्को नक्कल गर्दै त्यसरिनै फलाक्दै थिए ठ्याक्क बुडा त मेरो छेउमै पो आइपुगेछन् । बाबैले 'के गर्दै छस् ए केटा ?' भन्दा पो म झसंङग भएं र कालो-निलो हुन थाँले । अनी अनायासै मैले जवाफ दियें - 'ओमबिक्रम बिस्टको डान्स गरेको !' बाबैले शायद ओमबिक्रम को हो भन्ने थाहा पाएनन् त्यसैले कुरा बुझने प्रयास पनि नगरि फटाफट बाटो तताए । तर त्यसबेला मेरो अनुहार चाँही हेर्न लायकको भएको थियो ।
Post a Comment