Monday, May 28, 2012

कथा :


जागित्रले बोलाएपछि

- भक्त खपाङ्गी

“भारी पुग्यो बाजे ?”
मुठीको घाँस अघि काटेको थुप्रामा राखेर फेरि चियाको बुटामुनि घाँस काट्न घोप्टिएका रामप्रसाद बाजेका कानमा अनायास यो नारीस्वर गुन्जियो ।
काट्न समातिसकेको घाँस छाडेर झन्डैझन्डै छातीसम्म पुग्ने चियाका बोटभन्दा अग्लो भएर र दक्षिणतिर पहेंला-पहेला देखिने हरिया चियाका मुना डुब्न लागेका घामको टक परेर उज्याला देखिन्थे । झ्याम्म परेका अग्लाअग्ला सिरिसका रुखहरु लामालामा छायाँ तिनै मुनामाथि पारेर ठिङ्ग उभिइरहेका थिए । उत्तरतिर खोल्सो थियो । पारिपट्टि बाक्लो बाँसघारी स्तब्ध थियो बाँसघारी । पर्तिर पनि बगान निकै परसम्म फैलिएको कुरा बाजेलाई थाहा थियो ।
कतै केही चालचुल थिएन, मनमा चिसो पस्यो । आँट गरेर फेरि घाँस काट्ने विचारले चियाका बोटमुनि हात लम्काए । तर हात काम्न लागेझैं भयो । आङ ढक्क फुलेर आयो । मुटु ढुकढुक गर्न थाल्यो । ‘आइमेको सोर हो त्यो त’ भन्ने ठाने । नानाभाँतिका कुरा खेल्न थाले मनमा । फेरि उठेर चारैतिर हेरे । बगानका धुरा र वस्ती-गाउँ) कतैबाट पनि नजिक नपर्ने, बगानको सबैतिर डरलाग्दो ठाउँ ‘छतिउन गाछी’ । कतैबाट पनि नजिक नपर्ने, बगानको सबैभन्दा डरलाग्दो ठाउँ ‘छतिवन गाछी’मा आइपुगेको अवगत भएपछि भने बाजेका खुट्टा काम्न थाले । गाँठैैगाँठा भएको, झ्याम्म परेको डरलाग्दो कहानी बोकेको कुख्यात छतिवनको रुखनेर आफूलाई पाएपछि राम्रैसँग उनको हंसले ठाउँ छोड्डो । दुईवटा ज्यान लिइसकेको ‘जिउदो भूत’ त्यो रुखसँग अब साँच्चै डर लाग्न थाल्यो । पोहोर मात्र रहस्यमय ढङ्गले मरेकी साइँली तामाङ्नीको लास उनका आँखा अगाडि नाच्न थाल्यो । अघिको स्वर ठ्याक्कै उसैको हो भन्ने लाग्यो । सिकार भेटेको खुसीमा आकाशै ढाक्ने गरी आफ्नो आकार बढाउँदै अट्टहास गर्न थाल्यो रुख । सोच्ने, सम्भिmने कुरो केही रहेन त्यहाँ । मुठा पारिएका घाँसमात्र बोकेर बाजे घरतिर हानिए ।
“के भो ? त्यस्तो गर्मीमा सिरक पो ओढ्नु भएछ ।” भित्र गएर असामान्य स्थितिको बोध हुनेबित्तिकै बाजेको निधार छाम्दै बज्यै बोलिन्- “जरो पो आइराखेको छ त !”
“तेरा बूढाका दिन सकिए बूढी अब !” आँखा नउघारी शिथिल स्वरमा बाले बोले ।
“के भन्नुहुन्छ ? हन, के भो ?” बज्यै आत्तिइन् ।
“अब म बाँच्त्तिन, मानो पुगेछ । सारै कचकच गरिरहन्छौ भन्थिस् अब मन बुझा ।”
बाजेले कान्छालाई “आज क्याम्पस नजानू” भने । बज्यै शुश्रुषामा तैनाथ रहिन् ।
……

“शान्तिपुरेले केई लछारपाटो लाएन । इरुङ्टारेलाई बोलाएर ल्याइदेओ न ।” हिजो लगाएको धामीप्रति अविश्वास देखाउदै अर्को धामी ल्याउन आग्रह गरे बाजेले ।
बज्यैले उनको इच्छा पुर्‍याइदिने विचारले छोरा कान्छालाई धामी बोलाउन पठाउन चाहिन् ।
“इरुङ्टारेजस्तो गरुङ (गह्रै) मान्छे यस्ता केटाकेटीले बोलाउँदा आउँदैन । तँ आफैँ जा ।” उनले बज्यैलाई नै पठाए ।
कान्छालाई छेउमा बोलाएर अप्ठ्यारो मान्दै बाजेले भने- “कान्छा, अब म बाँच्तिनँ होला ।”
“कस्तो कुरा गर्नु हुन्छ बुवा ! हिम्मततिलो हुनुस्न । भूत प्रेत, जागित्र-सागित्र सब वाइयात हुन् । तपाईँलाई भ्रममात्रै भ’को हो । तपाईंलाई केई हुँदैन ।” बाबुलाई आँट दिने कोसिश गर्‍यो कान्छाले ।
“म मरे पनि बाँचे पनि यौटा कुरो बताइराख्नु पर्‍यो ।”
एकछिन अडिएको देखेपछि कान्छाले सोध्यो- “के कुरो ?”
“फेरि उई कुरो । के फरक पर्छ र ?” दिक्क मान्यो कान्छाले ।
“कान्छा, म तँलाई खास कुरो भन्छु । बाइर गएर हेर् त । कोई छ कि ?” उनले एकान्त चाहे ।
“कोई छैन, निष्पिmक्री भन्नुस् ।” कान्छाले ढुक्क पार्‍यो ।
“तिमेरु तेसरी मिलेर हिँडडुल गरेको देख्ता मलाई मनमा बढो चिसो पस्छ । म मरिगएँ भने अनर्थ होला कि भन्ने डर छ मलाई अस्तिदेखि नै भनुँला भन्दाभन्दै तेत्तिकै भो । मौकै परेन ।”
बाबुको कुरा बुझेजस्तै लाग्यो कान्छालाई । भन्यो,
“सावित्रा दमिनी हो भनेर त्यसो भन्नु भाको ?”
“कुरो जात अजातको मात्तै होइन, अर्कै छ ।” छोराको अनुहारमा पुलुक्क हेर्दै भने ।
“कस्तो अर्को कुरो ? कुतूहल देखायो कान्छाले ।
रहस्योद्घाटन गरेझैं छोराको अनुहारमा हेर्दै भने उनले, “त्यो तेरी बैनी हो !”
“बैनी ! कसरी ?” छक्क पर्‍यो कान्छो ।
अतीतका पाना पल्टाउँदै बोल्न थाले बा- “तँ बषर्ीको थिइस् । तेरी आमा सारै भई बिरामले । तेतिखेर तेरी मावलीकी हजुरआमा जिउँदै थिइन् । पित्र भइसकेकी । छोरी लगिन् उतै । तेरो ठूल्दाई छुट्टसिकेको थियो । माइलो पर्देस लागिरथ्यो । तँ मावलै थिइस् । तेरा दिदीहरु पनि आ-आफ्ना घर गइसकेका थिए । घरमा कोइ थिएन । तेतिखेर त्यो सावित्राकी आमा सारै दुःख पाएर हाम्रैमा घाँस काटन, भाँडासाँडा मल्न बसेकी थिई । अनि…..त्यस्तै भो । त्यो सावित्रा भर्गमा आइछ । अइलेको तेसको बाउ यौटा मिसिन लिएर भक्खरभक्खर यो बर्नेझोडामा आइरथ्यो । अनेक तालमेल खेलेर सारै होसियारी साथ त्यसलाई जिम्मा लाइदिएँ । था’चै कसैले पाएन । तर….. त्यो केटी तेरी आफ्नै बैनी हो ।”
…..

“बेलुकातिर मत्तै मन्टिन्छ अरे त्यो इरुङटारे भनाउँदो ।” भन्दै बज्यै चाँडै फर्किन् ।
उल्टीबेलातिर एउटी ‘मदर’को ज्यान खाने बगानकी महिला मजदुर लच्छिमी पनि बाजेलाई हेर्न आई । बज्यैले सिकुवामा बसाइन् ।
“एक्ली मान्छे । छोराछोरी ससानै छन् । दिनभरि काममा बेलुकीखेर घाँस काट्न नगए त्यो यौडा भ’को गाई पनि मरिहाल्छ । के गर्नु, भ्याएनभ्याई छ । अगि ब्यान पो सुने बाजे सारै छन् भनेर । कामबड अलि छिट्टै आएर यता आइहालें । अइले बाजेलाई घकस्तो छ ?” ढिलो आउनुको कारण बताउँदै अहिलेको हालत बुझन चाही उसले ।
“उस्तै छ । इरुङटारेलाई आफैं गएर बोलाइरछु । अब त आउने बेला भयो कि ?” हरेस खाएझैं गरी बोलिन् बज्यै ।
“मान्छेको सरीर पनि केई होइनरछ । हिजो बेलुकीसम्म सन्चै घाँस काट्तै गरेको मैले देखेको ।” लच्छिमी आफ्नै धुनमा बोल्न थाली- “अब त बगानमा सप्पैले गाई पाल्ने भएर घाँस पाउनै गारो भइसक्यो । छतिवन गाछीतिर चै तेत्ति मान्छे नगएर होला पाइन्छ अलेलि । हिजो बेलुकाखेर बाजेलाई तेतै घाँस काट्तै गरेको देखेर मलाई पनि आँट आयो । तर म चैं निक्कै वर थिएँ । बाजे चै गाछीकै छेउछाउ काट्तै हुनुहुन्थ्यो । लोग्नेमान्छेको जात हामी आइमेजस्ता डरछेरुवा काँ हुन्छन् र ! हेर कसरी नडराइ घाँस काटिरा’का छन् भने मनमनै मलाई त लाग्दैथियो । तर बाजेलाई देखेर अलि ढुक्क लाग्थ्यो । परै भए पनि बोल्नु पर्‍यो भनेर अलि सारै बोलाएँ ‘भारी पुग्यो बाजे ?’ भनेर । मैले सोधी सक्ता नसक्ता बाजे स्वात्तै पसिहाल्नु भो बोटमुनि । मैले बोलाएको सुन्नु भएन छ क्यार भनेर म चैं भारी बान्न थालेँ । भारी बानिसकेर एक छिनमा त हिँडी पनि हालेँ । अघि ब्यान पो काममा गइसकेर था’ पाएँ बाजे बिरामी भ’को कुरा । भूतले बोलायो कि तर्सायो भन्थे मदिसिनीहरु ।”
चड्किलो स्वरमा लच्छिमीले बोलेको बाजेले भित्रैबाट सुने । उसलाइ भित्रै बोलाएर सोधे-
“हिजो मलाई भारी पुग्यो ? भनेर सोध्ने तिमी नै हौ ?”
“हो त । किन र ?” लच्छिमीले कुरो बुझेझैं गरिन् ।

(कथाकार खपाङ्गी झापाको बुधबारे उच्चमाविका प्रअ हुनुहुन्छ)

Post a Comment