Sunday, February 24, 2013

अरबी कथा


झोला


कदिन मुल्ला नसरुद्दीन आफ्नो गधामा चढेर कतै जाँदै थिए । त्यसै बेला उन्ले सडकमा एउटा दु:खी गरीब आफ्नो भाग्यलाई सरापी-सरापी रोहीरहेको देखे । मुल्लाले नजिकै गएर सोधे- 'के भो ? किन यसरी रोहिरहेको छौ ?'

गरीबले आफ्नो फाटेको थोत्रो झोला देखाँउदै भन्यो -'हेर्नुस् त मेरो पुर्पुरो ! नाथे यो झोलामा राख्न समेत म सँग केही छैन ।'

'यो त एकदमै नराम्रो कुरा भएछ !' - यती भनेर गरीबको हातबाट झोला खोसेर मुल्ला गधामा चढेर चम्पट कसे ।

आफ्नो एक मात्र सम्पत्ती पनि खोसिएकोमा गरीब झन् दु:खी भयो । अनी अझ बढी बिलौना गर्दै रुन थाल्यो । बिचरा गरीब के गरोस् ! हिड्यो लुरुलुरु !

यता मुल्ला झोला लिएर भाग्दै थिए । त्यत्तिकैमा सडकको मोड आइपुग्यो । त्यो थोत्रो झोला उन्ले त्यही सडकको मोड बिचमै राखिदिये । अनी छेवैको झाडीमा लुकेर बसे ।

केही समय पछी सोही गरीब बिलौना गर्दै त्यही मोडमा आइपुग्यो । उस्ले आफ्नो हराएको झोला देख्यो । अनी उस्को खुशीको सिमानै रहेन । हर्षले गदगद हुँदै झोला च्याप्प समाएर छातीमा टाँस्यो । अनी भन्यो - 'मेरो प्यारो झोला; मैले त सोचेंको थिंए त मेरो जीवनबाट सदाको लागि हराइस् .'

झाडीमा लुकेका मुल्ला नसरुद्दीनले मुस्कुराउंदै मनमनमै भने -'यो पनि कुनै दु:खीलाई खुशी बनाउने एक तरिका हो !'

Post a Comment