Tuesday, November 13, 2012

लोककथा


आहारिसेलाई सजाय !

कुनै गाउँमा दुई किसान दाजु-भाइ थिए । बाउले अंशमा बराबर खेत र बचेखुचेको सम्पत्ती दिएको भये पनि भाईको घरमा सुखै-सुख, दाईको घरमा दु:खै-दु:ख थियो । दाईचैंको एउटा घोडा थियो । त्यसैले खनजोत गरेर हात-मुख जोर्दै थियो । अभागी मोरोलाई जताबाट पनि दु:खै-दु:ख; एउटा भएको घोडा पनि मर्यो । खेत जोत्न खाँच्चै परेपछी भाईसँग घोडा माग्न गयो ।

भाईले भन्यो - 'पहिला मेरो खेत जोतिदे अनी मात्र तेरो जोत्न लैजा ! काम सकिने बित्तिकै घोडालाई दाना-पानी ख्वाएर खुरुक्क ल्याउलास् !'
'हस् !'- दाईले बिन्ती बिसायो ।

मरी-मरी भाईको खेत जोतिरहेको थियो । त्यसैबेला कसैले खित्का छोडेर हाँसेको सुन्यो । दांया-बाँया हेर्यो कोही थिएन ।
डराउँदै दाईचैंले भन्यो - 'को हो यसरी मलाई खिल्ली उडाएर हाँस्ने ? अगाडि देखा पर !'
एउटा डरलाग्दो आक्रिती देखा पर्‍यो र भन्यो - 'म तेरो दुर्भाग्य हो ! तेरो घरमा मेरो बास छ । तँलाई म अत्ती मनपराउँछु । त्यसैले तँलाई म जिन्दगी भर छोड्दिन बुजिस् !' भनेर त्यो  डरलाग्दो आक्रितीले फेरी अट्टहास गर्‍यो ।
डरले हतार-हतार भाईको खेत जोतीसकेर आफ्नो खेत जोत्न थाल्यो ।

गरीब भए पनि सधैं हाँसी-खुशी रहने दाईलाई आज अत्ती दुखी देखेर कसैले सोध्यो - 'के भो ? आज किन यती दुखी छौ ?'
फेरी भयभित हुंदै दाई सोध्यो - 'पहिला भन, को हो तिमी ?'
एउटा सानो बाँसको छेस्का देखा पर्‍यो र भन्न लाग्यो - 'म तिम्रो भाग्य हो ! के भो तिमीलाई ? बताऊ !'
अभागी दाईले सबिस्तार सबै कुरा सुनायो ।
उपाय सुझाउंदै बाँसको छेस्काले भन्यो - 'कुनै उपाय गरेर त्यो दुर्भाग्यलाई बोरामा हालेर घरभित्र नै पुरिदेऊ । अनी मलाई लिएर शहर जाऊ, अनी ब्यापार गर !'

अभागी दाईले छेस्काले भने अनुसार नै गर्‍यो र शहरमा गएर टूथपिक (दाँत कोट्याउने बाँसको छेस्का) लगायतको ब्यापार गर्‍यो । ब्यापार चम्किएर दाई चैं शहरकै नामी धनी बन्यो ।

दाई चैं धनी भएर आफु समान भएको थाहा पाएर भाई चैंलाई रात भरी निन्द्रा लागेन । अनी धन कमाएको रहस्य थाहा पाउन एकदिन भाई चैं दाइको घरमा पाहुना लाग्न गयो । खानपान गरिसकेपछी भाईले दाईलाई रहस्य बताउन अनुरोध गर्‍यो । सोझो दाईले सबै कुरा सबिस्तार सुनायो । रहस्य थाहा पाएर मक्ख पर्दै गाँउ फर्कियो । अनी  दाईको घरमुनी बोरामा गाडीएको दुर्भाग्यलाई निकालेर स्वतन्त्र गर्दियो । अट्टाहास गर्दै खुशी भएर दुर्भाग्यले भाई चैंलाई धन्यवाद दियो ! त्यसपछी भाईले भन्यो - 'ए मेरा प्यारा दुर्भाग्य ! तिम्रा मालिक अहिले शहरमा छन् ! जाऊ अब उन्कोमा ! तिमीलाई मैले स्वतन्त्र गर्दियें !'
दुर्भाग्यले खुशी हुँदै भन्यो - 'चिन्नु न जान्नुको ठाउँमा अब म कता जाउँ । मेरो मालिक यो संसारमा कोही छैन । म नै आफ्नो मालिक हुँ । मलाई जता मन लाग्यो त्यतै बस्छु । तिमी यती असल मान्छे रहेछौ । अब म तिमीलाई जिन्दगीभर छोड्ने छैन !'
यती भनेर दुर्भाग्यले फेरी अट्टहास गर्‍यो !
Post a Comment