Sunday, July 15, 2012

धर्मको नाममा...!



– योगेश खपांगी


जुनसुकै साल पनि धर्म गर्न हिंडेका तिर्थयात्रीको नै अकालमा ज्यान किन जान्छ ? चाहे त्यो कैलाशको यात्रामा जानेहरुको होस् या बोलबम धाममा जानेहरुको होस् ! किन ? किनकी धर्मगर्न जतिसक्दो शरीरलाई दु:ख दिनु पर्छ भन्ने हाम्रो धार्मिक मान्यताका कारण !

हामीले जहिले पनि प्रतिकुल मौसममा नै तिर्थ जाने समय राखेका छौं । असाध्यै बिकट ठाँउमा मात्र हामीले मन्दिर बनाएका छौं । भरसक खाली खुट्टा र भोक-भोकै यात्रा गर्दा भगवान खुशी हुन्छन् भन्ने विश्वाश छ् हाम्रो । यस्तो धर्म पनि के धर्म जहाँ पाहिला-पाहिलामा खतरा र दु:ख होस् ! हामीले दु:ख पाउँदा खुशी हुने भगवान पनि के भगवान ! के हामीले धर्मको परिभाषा अब त बदल्नु पर्दैन ? त्यसैको सट्टामा बरु गरीब-अशायहरुको हितहुने काम गरे धर्म हुन्न र ? मठ-मन्दिर र शिवलिङग बनाउने पैसाले स्कुल, पार्क, धर्मशाला, सार्वजनिक सौचालय, धारा, आपतकालिन सेल्टर, हस्पिटल बनाये हुन्न ?

अरु मुलुकमा उत्खनन् गरेमा सुन, चाँदी, हिरा, तेल लगायतका खानी फेला पर्छन् । हाम्रो देशको जहाँ खने पनि शिवलिङ्ग र देवीदेवताका मुर्ति  बाहेक केही फेला पर्दैन । विगतमा हाम्रा पुर्खाले आफुसँग भएको पैसाले मठ–मन्दिर बनाउने बाहेक केही गरेनन् । बरु खाल्डो खनेर धनसम्पत्ती गाडे तर उत्पादक काम केही गरेनन् ।
जता हेरे पनि मन्दिर र मुर्ति बाहेक केही भेटिदैन नेपालमा । गरिबलाई एक रुपियाँ भिख दिनुपरेमा दाँतबाट पसिना चुहाउने हामीहरु ब्राह्मणलाई छपन्नभोग भोजन गराउन पाउँदा धर्म हुन्छ भन्ठान्छौं । पच्चीस हजार तिरेर फ्रिज किन्छौ अनि घरसम्म लैजान भरियाले पच्चीस रुपियाँ माग्यो भने पाँच रुपियाँ भए पनि घटाउँछौं हामीहरु ।

गरीब जनता एउटा सिटामोल किन्ने पैसा नभएर मर्न बाध्यछन् तर हाम्रो मठ–मन्दिरमा सुनको गजुर चढाउन लाखौं दान दिन हरपल तयार छौं हामीहरु । सडकको खाल्डो अझ गहिरो होस् कसैलाई मतलब छैन तर नयाँ मन्दिरको बनाउन मरिमेटेर लाग्न तयार छौं हामीहरु । पशुपतीनाथ लगायत मुलुकका विभिन्न मन्दिरमा करौडौं रकम फ्रिज भएर थन्किराखेको छ तर भत्किएको पुल चैं सरकारले नै बनाओस् भन्ठान्छौं हामीहरु ।

सरकार र छरछिमेकीहरुसँग हाम्रो गुनासो बाहेक केही पनि छैन तर हामी भगवानसँग खुसी छौं । कोही साथी वा छिमेकी रिसाए रिसाओस् तर सनी देवता चैं रिसाउनु हुन्न भन्ने हाम्रो मनसाय हुन्छ । डाक्टरले भनेको बरु हामी मान्दैनौं तर मन्दीरको पुजारीले भनेको अक्षरस पालना गछौं हामी । गरीबलाई एक मुठी चामल दिनुभन्दा हामी मन्दिरमा गएर क्विन्टलका–क्विन्टल सतबिज छर्छौंं । सानो कुरामा पनि नेताको सत्तोसराप गर्ने हामीहरु आफु चैं समाज र राष्ट्रका लागि सिन्को पनि भाँच्न तयार छैनौं ।

हाम्रो देश त्यसै गरीब भएको होइन रहेछ ! धर्मले गरीब र पछौटे बनाएको रहेछ ! अझै पनि मन्दिर बनाउने र धर्मको लागि अन्न, घिऊ र द्रवलाई ’स्वाहा‘ भन्दै भष्म पार्ने काम गरिरहेकै छौं हामीहरु । हामी अझ गरीब र झन दिशाहीन भइरहेछौं ।

अझै समय छ । भावी पिढीलाई सही बाटो देखाऔं । अब पनि कोही धर्मको नाममा मन्दिर, चर्च र मस्जीत तथा गुम्बा बनाउने भन्दै चन्दा माग्न आउँछ भने एक पैसा पनि दान नदिऔं । धर्मको नाममा बली दिने तथा आफु र अरुलाई दुःख दिने काम बन्द गरौं । जात र धर्मभन्दा माथी उठौं । उत्पादक काम गरौं, सकारात्मक सोचौं, सकारात्मक बनौं  ।

Post a Comment