Sunday, June 1, 2014

नेपालमा ‘सनसनी’ पत्रकारिता


- योगेश कुमार खपाङ्गी
भारतीय टिभी च्यानलमा रात्रीकालिन समयमा प्रशारण हुने एउटा कार्यक्रम छ – ‘सनसनी’ । त्यो कार्यक्रम एकजना डरलाग्दो बडील्यांवेज प्रकट गर्ने ब्यक्तीले सन्चालन गर्छन् । उन्को नाम हो श्रीबर्धन त्रिबेदीले । त्रिबेदीको बिषयमा जोक गर्दै भारतकै अर्को टेलिभजन कार्यक्रम ‘ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’मा एक स्टान्डिङ कमेडियनले भने -’कहीं-कोही अपराध घटे तो सिधे इसको पकडो और जेलमे डालो । क्यु कि हर घटना इसको पहेले से पता होता है । असलमे यह वही है जो घटना घटाता है !’ हुन त यो फगत एउटा ठट्टा मात्र हो, तर अचेलको वास्तविकता यस्तै हुन थालेको छ । सनसनी पैदा गराउने घटनामा मिडियाकर्मी र मिडिया हाउसहरु पटक-पटक संलग्न हुन थालेका छन् ।
अहिले भारतका प्राय: टेलिभजन कार्यक्रमहरु सबै त्यही ‘सनसनी फर्मुला’मा निर्माण हुन थालेका छन् । भारत देशको भौगोलिक आकार पनि ठूलो छ, टिभी स्टेशन पनि त्यसै अनुरुप नै छन्, त्यसैले प्रतिस्पर्धा पनि चर्को छ । भारतीय टेलिभिजनमा आफु तर्फ दर्शक आकर्शित गर्नलाई अहिले कती धेरै प्रतिस्पर्धा छ भन्ने कुरा ‘हेडलाइन टुडे’ टेलीभिजनकी एडीटर-एट-लार्ज महरुख इनायातको भनाइबाट प्रस्ट हुन्छ ।

उनी भन्छिन् -

’हाम्रो रिपोर्टरले कुनै पनि समाचार फेला पार्ने बित्तिकै त्यस्को भिडियो तयार गरेर स्टुडियो पठाउँछन् । त्यस्लाई समाचार शाखाले फाइनल गरेर प्रस्तोताले ब्रोडकास्टिङ गर्नलाई जम्मा ३० सेकेन्ड मात्र समय दिइएको हुन्छ ।’

बिचार गर्नुहोस्, जम्मा ३० सेकेन्ड समयमा समाचारको के सम्पादन गरिंदो होला ? प्रशारण गर्न एक्कै छिन् अबेला गर्यो कि, अर्कोले ब्रेक गर्दिन्छ रे ! चर्को प्रतिस्पर्धाका कारण अहिले त्यहाँका टिभीले चौबिसै घन्टा सनसनी मच्चाउने खबरहरु प्रसारण गर्ने गर्छन् । तिल जत्रो घटनालाई पहाडजत्रो बनाएर छिन-छिनमा ब्रेकिङ न्युज दिन्छन् । ब्रेकिङ दिने होडमा मानवीय सम्बेदनालाई समेत ध्यान दिंइदैन । झन अचेल त टेलिभिजनमा ‘पेड न्युज’ दिने चलन पनि भित्रिएको छ । पेडन्युज भन्नाले टिभी कम्पनीलाई निश्चित रकम तिर्ने र आफ्नो अनुकुलको समाचार दिनभरी फुक्न लगाउने । यस्को अर्थ पैसा हुनेले आफू अनुकुल जुनसुकै कार्यक्रम देखाए पनि भयो । दर्शकलाई जबरजस्ती ‘खाए खा, नखाए घिच’ को तरिकाले हेर्न वाध्य बनाए पनि भो । अचेल बिभिन्न ब्यक्तीहरुले समय किनेर आ-आफ्नो धर्म प्रचार गर्ने होडबाजी पनि शुरु भएको छ भने धार्मिक सेन्टिमेन्टलाई ‘क्यास’ गरेर निर्मल बाबा, चमत्कारी माला, औठी, पत्थर बेच्ने जस्ताको ठगी पनि टेलिभिजनको आडमा झन-झन मौलाउन थालेको छ ।
भारतको जनसंख्या एकसय बिस पच्चिस करोडभन्दा बढी भईसकेको छ । त्यसमाथी प्रत्येक दिन नयाँ जन्म लिने शिशुहरुका कारण सरदर साढे तीनलाख जनसंख्या थपिने गरेको छ । यो अनुपातले भारतमा टेलिभिजन भ्युवर्सको संख्या झन-झन बढ्नु पर्ने हो । तर युवा भ्युवर्सको संख्या घट्दो रहेको आँकडाले प्रस्ट पारेको छ । टेलीभिजनको टिआपी (टार्गेट रेटिङ पोइन्ट)घट्दो छ । त्यसमाथी परीपक्व उमेरका दर्शकहरु माझ भारतीय टेलिभिजनप्रतिको जनबिश्वास पनि घट्दो छ ।
आज भारतमा मात्र होइन, विश्वभरी नै टेलीभीजनको दर्शक घट्दो अवस्थामा छ । त्यस्को मूल कारण हो, स्मार्टफोन र इन्टर्नेटको बढ्दो पहुँच तथा टेलीभिजनले उत्पादन गर्ने सनसनीखेज कार्यक्रमहरु प्रतीको घट्दो विश्वस्नीयता ।
सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क स्थित वर्ल्ड ट्रेड सेन्टरमा प्लेन अट्याक हुँदा त्यहाँ अवस्थित बिल्डिङ नम्बर 7 पनि कोल्याप्स भयो । तर कोल्याप्स हुनु २० मिनेट पूर्व नै बिबीसीले आफ्नो पाँच बजेको इभिनिङ न्युज चलीराखेको समयमा कोल्याप्स भएको ब्रेकिङ न्युज दियो । – यो दावी हो अमेरिकाकै अखबार ‘द ट्रुथ टाइम्स’को । ट्रुथ टाइम्स तथा अन्य वेबसाइटको दाबी अनुसार यो दूर्घटना कुनै आतंककारी गतीबिधी होइन । यो सरकारी संम्लग्नतामा घटाइएको पूर्व निर्धारित घटना हो । जस्मा बिबिसी, सिएनएन लगायत प्रसिद्ध मिडियाको पनि संलग्नता छ । यदी यो कुरा असत्य भए ‘द ट्रुथ टाइम्स’ र अनलाइन साइटहरु झुठो ठहरिनेछन् । तर सत्य हो भने त संसारकै विश्वसनीय मानिएको बिबिसि महानतम ‘झुट मिडिया’ तथ ९/११ को घटना यो सताब्दीकै ‘ग्रेट होक्स’ साबित हुनेछ ।

अचेल टेलीभिजनले प्रसारण गरेको कुरालाई कसैले पनि ‘सिरियस्ली’ लिंदैन । टेलिभिजनले प्रशारण गरेका हल्का मनोरन्जन बाहेकका अन्य गम्भिर राजनीतिक बिषयको समेत आम चर्चा-परिचर्चा कसैले पनि सार्वजनिक स्थानमा गर्दैनन् । बरु टिभीले जे सुकै भनोस्-देखाओस् तर पब्लिकले त्यो घटना अखबारमा नआएसम्म पत्यार मान्दैनन् । त्यही कारण भारतमा टेलिभिजन आए पछी अखबारहरु बन्द हुनेछन् भन्ने मिडिया पन्डितहरुको पूर्वानुमान फेल खाएको छ । बरु स्थिती उल्टो छ, भारतमा नयाँ-नयाँ अखबारहरु जन्मिनेक्रम बढेको-बढेकै छ ।
कुरा छापा माध्यमको -
सन २०१२-२०१४ को आँकडा अनुसार भारतको ‘टाइम्स अफ इन्डिया’ १८ लाख ४५ हजार प्रती बिक्री हुन्छ । उस्को रिजनल पत्रीकाको समेत बिक्री जोड्ने हो भने त अंकगणित निक्कै माथि पुग्नेछ । त्यसै गरी जापानको अखबार ‘द असाइ सिम्बुन’ प्रती दिन मर्निङ एडिसन ७७ लाख र इभीनिङ्ग एडिसन २० लाख प्रती सर्कुलेट हुन्छ । यो पत्रीका बिगत १३० बर्षदेखी यसरी नै निरन्तर चलीराखेको छ । यस्का पाठक दिन-दिनै अझ बढ्दो क्रममा छ । यती धेरै मात्रामा पत्रीका बिक्री हुनुको कारणमा असाइ सिम्बुनको विश्वस्नीयता र न्युज ब्यालेन्स नै हो ।
संसारभरी नै छापामाध्यमप्रती मान्छेको विश्वास यती धेरै छ कि, पत्रिकामा छापिएको समाचारको कारण देश-देशका बिचमा धेरै ठुल-ठुला युद्ध पनि भएको ईतिहास छ । भारतीय विद्वान राजीव दिक्षितका अनुसार सन् अस्सीको दशकमा विश्वभरी नै पढिने, प्रतिष्ठित ठुलो साइजको ‘द वासिङ्गटन पोस्ट’ नामको अमेरिकी अखबारले इराक र ईरानको बिचको अवस्थित एक भूभागमा तेल खानि रहेको कुरा लेखीदियो । त्यसपछी त्यो ठाउँलाई दुबै देशले आ-आफ्नो दावी गर्न थाले । झगडा चुलिन थाल्यो । त्यसै बिषयमा इराक र ईरानको बिच सन १९८० देखी १९८८ सम्म ठुलो युद्ध भयो । युद्ध आठ बर्षसम्म चल्यो । युद्धमा करिब साढे १२ लाख ब्यक्तीको मृत्यु भयो । अन्त्यमा त्यहाँ तेल उत्खनन् गर्ने जिम्मा एउटा अमेरिकन कम्पनीलाई दिने गरी झगडालुहरुमा मिलापत्र भयो । उक्त कम्पनीले उक्त स्थानमा तेल उत्खनन् गर्ने ठेक्का पायो । दुबै देशसँग त्यो कम्पनीले करिब १० बर्षसम्मको धेरै ठुलो धनराशी अँठ्यायो पनि तर अन्त्यमा त्यहाँ भूमीगत तेल छैन् भन्ने रिपोर्ट दिएर चम्पट कस्यो । यस बिचमा पश्चिमा देशले दुबै झगडीया देशलाई हतियार बेचेर पैसा पनि कमाए ।
त्यसै गरी हालसालै बेलायतको प्रतिष्ठित अखबार ‘द गार्जियन’ले कतारमा रहेका नेपाली लगायतका कामदारको दयनीय स्थितीबारे रिपोर्टिङ गरेपछी कतारले आफ्नो श्रम नीतीमै परिवर्तन गर्नुपर्‍यो । जस्ले गर्दा विश्वकप खेलाउने कतारी सपनामै झन्डै तुषारापात भएको थियो ।
बाहिरबाट सर्सरी हेर्दा यस्ता घटना प्रकाशमा ल्याएर ठुला अखबारले जनहितको काम गरेको देखिन्छ । तर अखबारहरु अचेल ठुल-ठुला टाइकुनहरुले मात्र सन्चालन गर्न सक्ने हुनाले भित्री राजनीतिक उद्धेश्य अर्कै पनि हुनसक्छ । त्यस्मा यस्ता गम्भिर घटनाहरुलाई मोहरा बनाउने काम पनि गरिएको हुनसक्छ ।
सनसनी अखबारको छोटकरी इतिहास :
सन १९०१ देखी बेलायत ‘ट्याब्लोइड’ पत्रीकाको प्रकाशन शुरुवात भएको हो । यो आकारको हिसाबमा ब्रोडसिट पेपर भन्दा आधा आकारको हुन्छ (नेपालको ‘कान्तिपुर’ पब्लिकेशनको साप्ताहिक’ जत्रो) । पाठकलाई तुरुन्तै ‘हुक’ गर्ने गरी ठुला-ठुला आकर्षक र उत्ताउला फोटो, ज्योतिष, अपत्यारिला खबर, गसिप तथा सनसनीपूर्ण समाचार दिनु यस्को उद्धेश्य हुन्छ । यही सनसनीपूर्ण समाचार दिने पत्रकारीतालाई खबारी भाषामा ‘ट्याब्लोइड जर्नालिजम’ भनिछ । हामीहरु चै यस्लाई ‘सनसनी पत्रकारीता’ पनि भन्न सक्छौं । अचेल नेपालमा सनसनी पत्रकारीता गर्ने सन्ध्याकालिन लगायतका थुप्रै अखबारहरु छन् । उनिहरुको काम नै तिललाई पहाड बनाएर हल्ला मच्चाउने र पत्रीकाको बिक्री बढाउने हुन्छ । हुन त त्यस्ता पत्रीकाको हेडलाइन ‘प्रधानमन्त्री जेलमा’ जस्ता खालका सबैको ध्यान तान्ने खाल्का राखिने पनि भित्री कुरा फिल्मी समाचार टाइपका ‘फास्स न फुस्स’का पनि हुन्छन् तापनी एकपटक न एकपटक मान्छे त झुक्याउँछन् तिन्ले ।
बेलायतमा द सन, डेली मिरर, डेली स्टार, डेली एक्स्प्रेस तथा अमेरिकामा न्युयोर्क पोस्ट, डेलीमेल, डेली न्युज जस्ता स्टेटै पिछेका ट्याब्लोइड छापिन्छन् । बेलायत, अमेरिका तथा युरोप र एसियाभरी नै यस्ता ‘ट्याब्लोइड’ छाप्छाप्ती निस्किन्छन् । गसिप लगायतका चाखलाग्दा र सनसनीपूर्ण खबर हुने हुनाले यस्ता पत्रीकाका पाठक पनि प्राय: अपरिपक्व हुन्छन् । सिरियस पाठक यस्ता पत्रीका खरिद नै गर्दैनन् । तापनी यस्को बजारक्षेत्र निक्कै ठुलो छ । ट्याबोइडले जे पनि समाचार पस्किन्छ, यस्को कुनै यस्तो उस्तो हुनुपर्छ भन्ने नियम छैन । एक हिसाबले यो पत्रकारीताको छाडा साँडे नै हो । तर कहिले-काँही यो पनि नराम्ररी चिप्लिन्छ । युरोपको एउटा अखबारले ‘गे म्यारिज’ बिशेषांक निकालेपछी पत्रीका पाठकको नजरबाट एकदमै गिर्यो । जस्ले गर्दा उस्को सर्कुलेशन पनि ह्वात्तै घट्यो ।

त्यसै गरी बेलायतको एकदमै चलेको ट्याब्लोइडले सनसनीखेज पत्रकारीताकै कारण नराम्रो झट्का खाएर बन्द भयो । १६८ बर्ष पुरानो ‘न्युज अफ दि वर्ड’ नामको त्यो अखबार ‘मिडिया किङ’ रुपोर्ट मर्डोकको हो । बेलायतको राजनीतिमै ‘कि रोल’ गर्न सक्ने सो अखबारले राजनीति पार्टीका नेता, ब्यापारी, समाजका प्रतिष्ठित अगुवा, सैनिक अधिकारी र सर्वसाधारण समेत गरेर करीब चार हजार ब्यक्ती फोन ट्यापिङ गरेर जासुसी गरेको र मान्छेको ब्यक्तिगत जानकारी हासिल गरेको आरोप लाग्यो । आरोप प्रमाणित भए पछी ठुलो हर्जाना तिरेर सन २०११ को १० जुलाईमा ‘थ्यान्क यु अन्ड गुडबाइ’ लेखेर न्युज अफ दि वर्ल्ड सदाको लागि बन्द भयो ।
बेलायतकी राजकुमारी डायनाको मृत्यु पनि ट्याब्लोइडका पापराजी फोटोग्राफर र पत्रकारहरुले खेद्ने र उनी भाग्ने क्रममा कार दूर्घटनाबाट भएको हो भनिन्छ ।
नेपालमा सनसनी पत्रकारीता :
नेपालमा ‘सनसनी टाइप’को अखबार शुरु भएको धेरै लामो इतिहास छैन । पछील्लो समयमा डेढ दशक अघी ‘नयाँ सडक’ नामको पत्रीका निस्किएको थियो । सो पत्रीका झिल्को प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार किशोर नेपालको सम्पादनमा शुरु भएको थियो । तर त्यस्को साइज मात्रा ट्याब्लोइडको थियो । तर समाचार प्रस्तुतीको हिसाबले ब्रोडसिट टाइपको थियो । तर त्यो पत्रीकाको आयु त्यती लामो भएन । त्यसको निक्कै बर्ष पछी बजारमा ‘नयाँ पत्रीका’ नाममा एउटा ट्याब्लोइड देखा पर्‍यो ।
नयाँ पत्रिकाका सम्पादक प्रकाशक कृष्णज्वाला देवकोटा हुन् । उनी नयाँ पत्रिका शुरु हुनुभन्दा पहिले ‘स्पेस टाइम दैनिक’ लगायतमा कोलमिस्ट थिए । पछि उनी अध्ययनको लागि बेलायततिर हान्निए । बेलायतबाट फर्के पछि उन्ले नेपालमा बेलायती अवधारणा अनुसारको सनसनी अखबार ‘नयाँ पत्रीका’को काठमाडौबाट प्रकाशन शुरु गरे । उनका एक करिबीका अनुसार बेलायतबाट फर्किंदा उन्ले एक सुटकेश त बेलायती अखबारहरु नै ल्याएका थिए रे । कुरा कती सत्य हो, उनै जानुन् । तर जे होस्, बेलायतबाट फर्केर उन्ले नेपालमा ‘नयाँ पत्रिका’ नाममा सनसनी अखबार प्रकाशन गरेको चै साँचो हो । शुरुमा त्यस्ले राजदरवार सम्बन्धी केही न्युजहरु सनसनीपूर्ण तरिकाले सम्प्रेषण गर्‍यो । नयाँ रुप-रंग र शैलीमा आएको अखबार ‘नयाँ पत्रीका’ बजारमा सहजै स्थापित पनि भयो । तर केही समय पछी नै त्यस्लाई बिज्ञापनका साइज, छपाइ गर्ने मेसिन लगायतका समस्याका कारण अन्त्यमा त्यो पनि ब्रोडसिट साइजमा जान वाध्य भयो । तर त्यस्को साइज ब्रोडसिटको भए सँगसँगै तेस्को समाचार प्रस्तुती पनि ‘हाइब्रिड’ हुनथाल्यो । हाल सो अखबारको कुनै अंक ब्रोडसिट जस्तो र कुनै अंक ट्याब्लोइड जस्तो रुपमा प्रकाशन हुँदै आएको छ । जस्ले गर्दा यस्का पाठकहरु नै खास कुरा के हो भन्ने रणभुल्लमा पुगेका छन् ।

यस्तै रणभुल्ल पार्ने समाचार थियो; ‘इन्दिरा गान्दीले भारतमा नेपाल गाभ्ने तयारी गरेकी थीइन्’ भन्ने । त्यस्लाई सनसनीखेज बनाउने उस्ले एउटा किताबको हावाला दिएर ठुलै ‘स्कुप’ मारे झैं गरेर पहिलो पृष्‍ठमा छाप्यो । तर त्यो खबरले प्रचारबाजीको बजार खासै तताएन । हालै त्यस्ले अर्को ‘स्कुप’ मारेको छ । त्यो हो गृहमन्त्री बामदेव गौतमले सडकको डोरी नाघ्दै गरेको तस्बिरको । झट्ट हेर्दा गृहमन्त्री जस्तो मान्छेले चोरबाटो बाट हिंड्नु अशोभनीय काम त हो । तर अक्ष्यम्य अपराध चैं होइन । यो घटना जती कम महत्वको भए पनि सनसनी पत्रकारीताले झन ठुलो बनाइदिएको चैं प्रष्ट छ । यस्को असरले एकाएक बाहिरी वातावरणसँगै गर्माएको माहौल अझै पनि सामाजिक सन्जाल र अनलाइनहरुमा सेलाउने छाँट देखिएको छैन । यस्बाट नयाँ पत्रीकाको सनसनी पत्रकारीताको खेतीलाई त केही फाईदा पक्कै भएको हुनुपर्छ । तर एमालेलाई चैं घटना बेक्कारको भाउँतो साबित हुँदैछ । घटनाले सामाजिक सन्जालमा यती धेरै चर्चा-परिचर्चा बटुल्यो कि यसै कुरासँग जोडिएर एसएसपी रमेश खरेलको कान्ड पनि नारिएर देखापरेको छ । खरेल घटनाले अब अर्कै राजनीतिक रंग लिने छाँटकाँट देखाउँदैछ । केही दिनभित्रै राजधानीको कुनै ठाउँमा खरेलको पक्षमा दवाब दिन पचास हजार ब्यक्ती भेला हुने कार्यक्रम तय भएको छ । कुरा अहिले गृहमन्त्रीको पुत्ला दहनसम्म आइपुगेको छ । ‘डोरी नाघेको घटना’ सम्बन्धमा इलाका प्रसाशन कार्यालय लहानका प्रमुख (प्रशासकीय अधिकृत) राजुप्रसाद साहले गृहमन्त्रीलाई ‘गोली ठोक्नु पर्ने’ कुरा अभिब्यक्त गरेपछी भर्खरै प्रशासनले पक्राउ गरेको छ । त्यस्ले पनि आगोमा अलीकती भए पनि घिऊ थप्ने काम गरेको छ । तर अब हुने भनिएको भेला पछीको स्थिती नियन्त्रणभन्दा बाहिर पनि जानसक्छ । सानो कुरामा ठुलो राष्ट्रिय दूर्घटना हुन पनि सक्छ भन्ने टर्कीमा भएको ‘पार्क-कान्ड’बाट पनि सबैले बुझेको हुनुपर्छ ।
नेपालमा सनसनी पत्रकारीताको प्रभाव :
१४ बर्ष अघी भएको ‘ऋतिक रोशन कान्ड’ नेपालको इतिहासमा बिर्सिनै नसकिने घटना हो । त्यसबेला भारतीय अभिनेता ऋतिक रोशनको सिनेमा ‘कहो ना प्यार है’ सुपरहिट भए देखी उनी पनि नेपालमा युवा-युवतीकालागी लोकप्रीय अभिनेता भएका थिए । तर त्यसै बेला वीरगंज तिरको एउटा अखबारले ऋतिक रोशनले नेपाल मनपर्दैन भन्यो’ भनेर अपुष्ट खबर फैलियो । भनेकै थियो भने पनि त्यो ठुलो कुरा होइन । कसैलाई मन पर्नु र नपर्नु उस्को ब्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर हल्लै-हलाको भरमा एकाबिहानै देखी देश नै दन्दनी बल्न थाल्यो । सडकमा टायर बालियो, सडक किनारका बार भाँचिए, धेरै राष्ट्रिय सम्पत्तीको नाश भयो अनाहकमा एक १२ बर्षिया बच्ची सहित चार नेपालीले अमुल्य जीवन गुमाउनु पर्‍यो । १८० जना सर्वसाधारण र ३० जना प्रहरीहरु घाइते भए ।
भिंडको बुद्धी हुँदैन भन्छन् । त्यो बेलाको स्थिती त्यस्तै थियो । जस्ले जता मन लाग्यो त्यतै ढुंगा हान्थ्यो । कयौंको ढुंगाले लागेर टाउको फुट्यो । राजधानीको कान्तीपथ स्थित ज्योतिभवनजो भित्रै अनाम स्थानबाट आएको ढुंगा टाउकोमा बजारिएर ढल्ने भुक्तभोगी मद्धे पंतीकार पनि एक हो । कुनै केही टुंगो थिएन, जस्ले जे पनि गर्न सक्थ्यो । को नेपाली को – भारतीय ! भिंड यती अराजक भइसकेको थियो कि कालो रंगको मान्छे सडकमा देख्यो कि ‘धोती हो, ठोक-ठोक !’ भन्दै हातपात गर्न शुरु हुन्थ्यो ।
घटनाले उग्र रुप लिंदै गरेपछी भारतको बाराणसीबाट नेपाल आउने फ्लाइट पनि क्यान्सिल भएको थियो । तत्कालिन संचारमन्त्री जयप्रकाश गुप्ताले सिनेमा हलवालालाई थप दंगा हुन सक्ने आँकलनमा ऋतिकको फिलिम कुनै पनि हलमा नचलाउन आदेश नै जारी गर्नु पर्‍यो । केवल अपरेटरहरुले भारतीय टिभी च्यानलहरु लामो समय बन्द गरे । अन्त्यमा मुम्बईबाट ऋतिक रोशन आफैले ‘आफुले त्यसो नभनेको, बरु आफुले नेपाली र नेपाललाई निक्कै मन पराउने गरेको’ भनेर स्पष्टिकरण दिए । स्थिती नियन्त्रणमा आएको निक्कै लामो समयसम्म पनि ऋतिकको फिलिम नेपालका सिनेमा हलमा चलाऊन हलवालाहरु डराउनु पर्ने स्थिती आयो । त्यो बेला बडो मुस्किलले स्थित साम्य भएको थियो । तराइ आन्दोलन शरु हुनुमा शुरुवाती झिल्को त्यहाँबाट नै उठेको हो भनियो भने अन्यथा पनि हुनेछैन ।
अन्त्यमा,
हुन त पानीमा बसेर गोहीसँग दुश्मनी गर्नु हुन्न भन्छन् । आफुभन्दा धेरै अग्रज पत्रकारहरुलाई ‘पत्रकारिता यसरी गर, यस्तो लेख, उस्तो लेख’ भनेर सिकाउने ‘दुस्शाहस’ गर्न पंक्तीकार चाहँदैन । तर सबै छापा, टेलिभिजन र अनलाइनमा पत्रकारिता गरिराखेका कनिष्ठ तथा अग्रज पत्रकारबन्धुहरुलाई ब्यवसायिक पत्रकारीता मात्र होइन, जिम्मेवार पत्रकारीता पनि गरौं भन्न चाहन्छु । सनसनीखेज बनाउन वा सस्तो लोकप्रियता कमाउन तिलजत्रो घटनालाई पहाड बनाएर प्रस्तुत नगरौं । देशमा फेरी अर्को ‘ऋतीक रोशन कान्ड’ घटाऊने परिस्थिती सिर्जना नगरौं ।
जसरी बिशेष परिस्थितीमा एम्बुलेन्स, दमकल र प्रहरी फोर्सका गाडीहरु वान वेमा प्रवेश गरेमा अपराध ठहरिंदैन । त्यसै गरी भिंडभाँड, जुलुस र दंगा भएको ठाउँमा गृहमन्त्री मात्र नभएर कसैले पनि सडकको डोरी नाघ्नु त्यती ठुलो र असोभनीय कुरा होइन भन्ने मनन गर्नुपर्छ । आवश्यकता अनुसार फोटो पत्रकारले पनि सडक डिभाइडरमा चढेर फोटो खिचीरहेका हुन्छन् । बिशेष परिस्थिती र बिशेष कामको लागि दैनन्दिन जीवनमा त्यस्ता कुरा भइराखेका हुन्छन् । कतीपय कुराहरुलाई अली ‘प्र्याक्टिकल्ली’ हेर्नुपर्छ । यस मानेमा पश्चिमा देश र हामीमा मुख्य फरक छ । प्र्याक्टिकल हुनु नै हामी नेपाली जातीको धार्मिक र सांस्कृतिक पहिचान हो । यसलाई कायम राखौं । सामान्य कुरालाई अनावश्यक ‘एक्जाजरेट’ नगरेकै राम्रो !
http://www.chandrasoorya.com/
Post a Comment