Thursday, January 31, 2013

कसरी हट्छ भ्रस्टाचार ?

भनिछ भ्रस्टाचार र कालो-बजारी बिकासका प्रमुख बाधक हुन् । सबैले भन्छन् -'यस्लाई नियन्त्रण गर्नु पर्छ !' तर पद र मौका पाउने बित्तिकै जस्तै राष्ट्रबादीको पनि मन डग्मगाउँछ ! आखिर किन ?



- योगेश खपाङगी

धेरैले महान मान्ने गरेका भारतका भ्रस्टाचार बिरोधी अन्ना हजारे र बाबा रामदेव मलाई त्यती महान लाग्दैनन् । किनभने हजारे 'स्वपीडक' हुन् । मेरो सिद्धान्तमा पिडा भन्ने कसैलाई पनि दिनुहुँदैन । चाहे त्यो आफैलाई किन नहोस् । अनसन बसेर माग पुरा गराउन खोज्नेहरुलाई म 'सेन्टिमेन्टल ब्ल्याकमेलर' भन्छु । त्यसैगरी बाबा रामदेव चाँही धर्मको नाममा राजनीति र ब्यापार गर्छन् त्यसकारण मन पर्दैन । खासमा हजारे र रामदेव दुबै 'मिडिया क्रेजी'हरु हुन् । उनिहरुले भ्रस्टाचार र कालोबजारी लगायतका समस्याको उठान गरे तर समाधानको सही बिधी बताउन सकेनन् । दुबैले रुखको पात हल्लाये तर जरा हल्लाउन सकेनन् । 

कडा कानुन बनाएर, डर देखाएर अनी लज्जित बनाउँदैमा भ्रस्टाचार र कालो बजारीको अन्त्य हुँदैन । अनी 'भ्रस्टाचारीको मुखमा किरा परोस' भनेर भगवानसंग प्रार्थना गरेर वा हजारौं अन्ना हजारे र रामदेव जस्ता जन्माउंदैमा पनि कालोबजारी र भ्रस्टाचार घट्ने होइन ।  बरु मान्छेको मनबाट डर हटाउन सक्यो भने स्वभाविक रुपले घुसखोरी, कमिसनखोरी, कालोबजारी, हत्या-हिंसा र अपहरणका घटना हटेर जानेछन् ।

'उल्टो कुरा नगर्नुस् न ! झन् डर पो देखाउनु पर्छ त ! जेल हाल्नु पर्छ । कालो मोसो लगाएर नाङगेझार पार्नु पर्छ' भन्नु होला । तर मैले भन्ने खोजेको डर भनेको 'भविष्यप्रतिको डर' हो ।

आज हरेक नेपालीलाई भोलिको मात्र डर छ । भोली खान-लगाउन नपाउने पो हो कि ? दु:खबिमार हुँदा उपचार गर्न पैसा नभएर अकालमै मरिने वा मारिने पो हो कि ? लगायतका डर छ । खाली पेट भएको मान्छेले खाना बाहेक अर्थोक सम्झिन सक्दैन । उस्को लागि के पाप-के धर्म ? भोलिको के ग्यारेन्टी छ र ? बरु मौका मिलेको बेला 'लुटिहालौं, धुतिहालौं' भन्ने सोच जन-जनमा भएकोले जस्तै इमान्दार पनि पद र मौका पाएकोबेला बेइमान बनेको मुख्य कारण 'भोलीको डर'ले सताएर हो । यदी देशमा प्रसस्त धन हुनु हो भने, जन पनि धनी हुनेथिए । जन धनी हुने बित्तिकै सम्पूर्ण सामाजिक खराबीहरु अटोमेटिक नस्ट हुनेथिए ।

बुद्ध, कृष्ण, राम, महाबिरहरु राजा-रजौटाका सन्तान थिए । उनिहरुसँग प्रसस्त धन थियो र पो पेटभन्दा माथि उठ्न सके । अनी राम्रा दर्शन, बिचार  र सिद्धान्त जन्माउन सके । कार्लमार्क्सले फ्रेडरिक एङेल्सलाई भेटनु अघीसम्म एउटा किताब सम्म छपाउने हैसियत थिएन । एङेल्स धनी थिए त्यसैले मार्क्सको सिद्धान्तले विश्वभरी फैलिने मौका पायो । हाम्रो देशमा पनि धनी नभएका त हुँदैहोइनन् तर तिनिहरु पनि भोलीको डरका कारण सम्पत्ती जोड्नमै ब्यस्त छन्न । यदी हाम्रो देश पनि सम्पन्न भएको भये शायद हरेक टोलमा आइन्स्टाइन, दा-भिन्ची, माइकल अन्जेलो र टल्स्टोयहरु जन्मिनेथिए ।

त्यसकारण अब सबैले के बुझ्नु पर्‍यो भने; अब कुनै बाद र सिद्धान्तका कोरा भाषण गर्दैमा अब कसैलाई पनि मक्क पार्न सकिदैन । आमजनतालाई कट्टर कम्युनिस्ट वा खाँट्टी समाजबादी बनाउंदैमा देशका सबै समस्या छु-मन्तर भएर हटने होइन । जनतालाई रोजगारी, सुरक्षा र भबिष्यको ग्यारेन्टी भये मात्र सबैको मनमा भएको 'भय' हटछ । जब 'भय' हटछ तब बन्छ देश, अनी हुन्छ भ्रस्टाचार र कालो बजारीको मृत्‍युबरण ।

ओशो भन्छन् - 'जबसम्म सम्पतीको अभाव हुन्छ तबसम्म हामीले भ्रस्टाचार रोक्न सक्दैनौं ... भ्रस्टाचार आफैमा रोग होइन, यो रोगको लक्षण मात्र हो । मुख्य रोग त गरीबी हो । भ्रस्टाचार चरम गरीबीको स्वभाबिक परिणाम हो ।'
फोटो साभार :  ekantipur.com
Post a Comment