Wednesday, April 3, 2013

व्यङ्ग्य : पाखे भर्सेज मोर्डन


नेपालीलाई अचेल एउटा गम्भिर खालको आँखाको रोगले च्याप्दै लगेको छ । त्यो रोग नेपाल भित्रिएको खासै धेरै नभए पनि यो एक किसिमको सरुवा रोग भएको हुनाले फैलँदो क्रममा छ । यो रोगको उत्पत्ति युरोपबाट भएको हो । यो भाषाको माध्यमले दिमागमा छिर्छ अनी आँखालाई कामै नलाग्ने बनाउँछ । त्यो रोगको नाम हो ‘अंग्रेजीमेनिया’ ।

यो रोगको मुख्य लक्षण युरोपियन र अमेरिकनहरुले गरेका हरेक काम आधुनिक र वैज्ञानिक देख्नु अनी आफ्नो पिता–पूर्खाले सिकाएका काम र ज्ञानजती सबै अवैज्ञानिक, पुरातन तथा पाखे देख्नु हो । यो रोगले धेरै गाँजेका मान्छेहरुको कुरा सुन्नु भयो भने तपाईंलाई पुरै नसके पनी अर्धपागल चैं बनाउँछन् ।

यो रोगले खासगरी युवा÷युवतीलाई बढी समात्छ । अचेल उनीहरुका अभिभावकलाई पनी यस्ले समात्न थालेको छ । उनीहरुको बिचारमा भुटेको मकै खायो भने पाखे होइन्छ । कसैले घरमा भएको मकै भुटेर सिनिमा हल वा सार्वजनीक ठाउँमा खायो भने लाज हुन्छ । तर त्यही मकैलाई कागजको बट्टामा राखेर ‘मकै होइन पपकर्न हो’ भन्यो भने चैं खान लाज हुँदैन ।

उनीहरुको केही सिद्धान्त छन् । ति यस्ता छन्; ढाका–टोपी-दौरा-सुरुवाल अनी साडी–चोली लायो भने पाखे । युवतीहरुले तिघ्रा देखिने गरी मिनीस्कर्ट वा टाइट जिन्स लगाए भने चैं मोर्डन पहिरन हुन्छ । अनी युवाहरुले चैं कट्टु देखाएर खुस्किन लाग्या जिन्स अनी ५ देखि १० हजार दाम पर्ने बिदेशी जुत्ता लगाए भने त्यो आधुनिक हुन्छ । तर भलादमी तरिकाको पहिरन लगाए पाखे । होटलमा मैदा सडाएर बनाइने पिज्जा, बर्गर र म्याकडोनाल्डको अखाद्य केमिकल राखेर तेलमा तारेको सडेको कुखुरा चैं आधुनिक खाजा अनी अरुले खाने गरेको चना र चिउराको खाजा चैं पाखे खाजा । कार्बोनेटेड वाटर अर्थात् 'ढ्याउ' डकार आउने कोक/पेप्सी चैं मोर्डन पेय अनी फलफुलको जुस वा दही–दुध चैं पाखे पेय । अंग्रेजीमा बोल्नु, टाइ लगाउनु, अंग्रेजी गीत गाउनु, हलिउडको कलाकारको कुरा गर्नु नै मोर्डन लाइफ स्टायल हो । नेपाली लोक वा आधुनिक गीत सुन्यो अथवा मोबाइलमा रिङटोन राख्यो भने पाखे ।

फेसबुक÷टुइटर को स्टाटस कनीकुथी भए पनी अंग्रेजीमै लेख्नु राम्रो । नेपालीमा लेख्यो भने पाखे । नेपाली साहित्य पढ्यो भने पाखे, अंग्रेजी उपन्यास पढ्यो भने स्ट्यान्डर । गोरो छाला राम्रो, कालो नराम्रो । कालो कपाल नराम्रो, गोल्डेन राम्रो । आमा–बुवा भनेको पाखे, मम्मी–ड्याडी भनेको मोर्डन । काका–काकी, मामा–माइजुलाई अंकल भन्यो भने मोर्डन नत्र पाखे । लेखेर पार नलाग्ने हुनाले आजलाई यत्ती नै । अस्तु ।

– योगेश कुमार खपाङ्गी

No comments: