Showing posts with label Social media. Show all posts
Showing posts with label Social media. Show all posts

Wednesday, September 5, 2012

आफ्नै अन्तरबार्ता


(यो जुनीमा पहिलो पटक मेरा मित्र रमेश बिष्टले रेडियो सगरमाथाको कला कार्यक्रमका लागि मेरो अन्तरबार्ता मेरै आवाजमा प्रशारण गरेका थिए । फेरी अर्को अन्तरबार्ता दिने मौका पाँए । मेरोरिपोर्ट डट नेटले मलाई 'साताको ब्लगर' भनेर चुनेछ ! अन्तरबार्ता यस्तो छ :)


सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ : योगेश खपाङ्गी



स्थायी घर बिर्तामोड झापा भएका योगेश खपाङ्गी हाल युएइको राजधानी शहर अबु धाबीमा बस्छन् । योगेश पेशाले कार्टुनिस्ट र ग्राफिक्स डिजाइनर हुन् । नि:शुल्क, स्वतन्त्र र काँट-छाँट नहुने भएकोले ब्लगिङको माध्यमबाट आफ्नो विचार व्यक्त गर्छन् । उनी कार्टुनिङ, ब्लगिङ, फोटोग्राफी र आर्ट गर्न निकै रुचाँउछन् ।
सूचनाको आदान-प्रदानमा ब्लग लगायत अन्य सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको बताउने योगेशलाई हामीले यस साताको ब्लगरको रुपमा फिचर गरेका छौँ  :

दिनचर्या कसरी बित्छ तपाईंको ? 
नेपालमा छँदा चित्रहरु बनाउने, आवरण डिजाइन तथ प्रेसमा काम गर्ने अनि फुर्सदमा मात्र  ब्लगमा बिताउँथे । हाल यु ए इको प्रेसमा क्वालिटी कन्ट्रोलरको रुपमा काम गर्दैछु । ड्युटीबाट आएपछि पढ्ने, लेख्ने, फेसबुक चलाउने, विभिन्न इन्ट्रेस्टिङ वेभ साइटहरु भिजिट गर्ने जस्ता काम गरेर बित्ने गरेका छन् ।

ब्लगिङकै कुरा गरौँ । कसरी थाल्नु भयो ?
मैले नेपालमा हुन्जेल ब्लगिङ गर्ने फुर्सद कहिल्यै पाइन । यसअघि  सन् २००७ मा सिँगापुर गएको थिएँ । त्यहिँ छँदै हाल चलाईरहेको ब्लग 'आकाशवाणी ' को शुरु गरेको हुँ । हुनत त्यो भन्दा अघि नेपालमा नै छँदा www.yogeshkhapangi.com डोमेन नेम राखेर साइट चलाएको थिएँ तर वर्षै पिच्छे रिन्यु गर्नुपर्ने र महँगो हुने तर यता नि:शुल्क ब्लग स्पेस पाइने हुनाले ब्लग नै ठीक भन्ने लाग्यो  र अन्तत: डट कम बन्द गरेर ब्लग स्पट चलाउन थालेको हुँ ।
के कुराले ब्लगिङ गर्न प्रेरित गर्यो ?
मेरो पत्रकारिता यात्राको शुरुवात मेची क्याम्पस भद्रपुरको भित्ते पत्रिकाको सम्पादक भएर सुरु भएको हो । त्यसपछि मैले विभिन्न पत्र-पत्रिकामा कलुम्निस्टको रुपमा काम गरेँ । कान्तिपुर पब्लिकेशनको साप्ताहिकमा तीन वर्षदेखि निरन्तर कार्टुन स्तम्भ कोरिरहेको छु ।
जागिरको सिलसिलामा कयौँ पटक आफ्नो कार्टुन सम्पादकको सेन्सरमा पर्‍यो । कति पटक त आफूले एउटा कुरा लेखेर फर्कियो भोलिपल्ट अर्कै कुरा प्रकाशित हुने । एउटा कार्टुनिस्टलाई आफूले भन्न खोजेको कुराको मर्म मरेको जस्तो नराम्रो अरु केहि हुँदैन । त्यतिबेला आफ्नै पत्रिका  भइदिएको भए, आफै प्रकाशक भइदिएको भए जस्तो लाग्थ्यो र त्यसको विकल्प खोज्दै जाँदा ब्लगिङ गर्न थालेँ ।
बिशेषगरी आफ्नो ब्लगमा कस्ता कुराहरु उल्लेख गर्नुहुन्छ ?
म आफ्नो ब्लगमा बढी मात्रामा कार्टुनहरु पोस्ट गर्छु । तर कतिपय समाचार र विचारहरु कार्टुनबाट व्यक्त गर्न सम्भव नभएका बेला चाँही लेखेर पोस्ट गर्छु ।
तपाईंको ब्लग 'आकाशवाणी'को बारेमा केही बताइदिनुस न ? 
हाम्रो देशमा गरिबी, अन्धविश्वास, कुरिती, जातियताको आधारमा भेदभाव जस्ता कुराहरुले जरो गाढेर बसेका छन् । त्यसैले मैले यस्तो विकृतिको विरुद्दमा आवाज उठाउन घुमाइफिराइ तिनै कुराहरु व्यक्त गर्ने प्रयास गरेको हुन्छु ।
ब्लगिङ गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ?
ब्लगिङ गर्दा नियमित हुनुपर्छ र निरन्तरता दिनुपर्छ । त्यसमाथि चाख लाग्दा विषयवस्तुको छनौट र दिक्क लाग्दा लामा – लामा लेख लेख्नुहुन्न। अचेल मानिसहरु एकै बसाइमा पढेर भ्याउने लेख रचना मन पराउँछन् त्यसैले म भरसक छोटो लेख्छु ।
अहिले नेपाल र विश्वमा ब्लगिङको कस्तो ट्रेन्ड रहेको छ ? 
अहिलेको विश्वव्यापी ब्लगिङ ट्रेन्डको कुरा गर्दा प्रशस्त फोटो र उदाहरण भएका अनि छोटो मिठो ब्लगहरु भेटिन्छन् । तर हामी कहाँ कम फोटो भएका र लामा लामा लेखहरु र आफ्नै जीवनी लेखिएका ब्लगहरु बढी भेटिन्छन् ।
ब्लगले के प्रभाव पारेको छ ? 
ब्लगले युवा जमातमा सकारात्मक प्रभाव पारेको छ। राजनैतिक , शैक्षिक र व्यवसायीक क्षेत्रमा राम्रैसँग प्रभाव पर्न थालेको छ । कुनै पनि बेला ब्लग सुरु गर्न सकिन्छ त्यो पनि नि:शुल्क । ब्लगले देशमा थिन्क ट्यान्क उत्पादन गर्न मद्दत गर्छ जस्तो लाग्छ मलाई ।
के ब्लगिङले आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गर्छ ?
अवश्य पनि ब्लगिङले छुट्टै पहिचान बनाउँछ । कुनै पनि बेला, कुनै घटनाको तस्बिर र त्यससँग सम्बन्धित विचार तथा खबर पोस्ट गर्न ब्लगर स्वतन्त्र छ ।
ब्लगिङले स्वतन्त्र अभिव्यक्तीमा के भूमिका खेल्छ ?  
ब्लग नहुने हो भने कसैको विचार पनि विशुद्ध र निष्पक्ष रुपमा कसैले पनि पढ्न र थाहा पाउन सक्ने थिएनन् । टेलिभिजन र पत्र-पत्रिका मार्फत विचार प्रस्तुत गर्दा पनि काँट- छाँट हुने भएकोले भाषिक स्वाद हुँदैन । जहिले पनि औपचारिक भाषा मात्र सुन्नुपर्ने हुन्थ्यो ।
ब्लगिङ र मुलधार मिडियामा के फरक छ ?
ब्लग बिल्कुल स्वतन्त्र छ भने मुलधार मिडिया कुनै न कुनै राजनैतिक दल, नेता, व्यवसायीक घरानाको प्रभावमा परेको हुन्छ ।
आफूलाई मन परेको ब्लग पोस्ट ?
मलाई मन परेको ब्लग पोस्ट मेरो बुवा भक्त खपाङ्गीले लेख्नु भएको कथा  'जागित्रले बोलाएपछि'  हो ।
ब्लगबाहेक तपाईँ अरु कुन-कुन सोसल मिडियामा हुनुहुन्छ?
ब्लग बाहेक अन्य सोसल मिडिया मध्य फेसबुक , ट्विटर र गुगल प्लसमा सकृय छु ।
अहिले सोसियल मिडिया पनि प्रभावशाली बन्दै गैरहेको छ । त्यसको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
ब्लगको प्रभाव त अहिले विश्वभरी नै परेको छ । सामाजिक चेतना बृदि गर्न र ठूला - ठूला राजनैतिक परिवर्तन गर्न समेत ब्लगले भूमिका खेलिरहेको छ । तर ब्लगरहरु स्वन्त्रत रहनुपर्छ र निष्पक्ष रहनुपर्छ ।
परिवर्तनका लागि ब्लगिङ र सोसियल मिडियाको भूमिका के रहेको छ ? 
मेरो लागि  सोसल मिडिया समय कटाउने माध्यम मात्र नभएर एक जिम्मेवारी  हो । यदी सोसल मिडिया हुन्थेन भने अहिले विश्वभरी चलिरहेको स्वन्त्रताको आन्दोलनलाई सैनिक र पैसाको आडमा दबाइन्थ्यो । शासकहरु झन् – झन् बलियो र आम जनता अन्यायलाई टुलुटुलु हेर्न बाध्य हुने थिए ।
सूचनाको आदान प्रदानमा सोसल मिडियाले के भूमिका खेलेको छ ? 
सूचनाको आदान-प्रदानमा सोसल मिडियाले चामत्कारिक भूमिका खेलेको छ । विश्वको कुनै पनि कुनामा रहेका साथीहरु अब टाढा छैनन् । हरेक सूचना एकैछिन्मा  सेयर भइसकेका हुन्छन् । अहिले सूचना लुक्ने र लुकाउने भन्ने हुँदैन । हरेक व्यक्ति  राष्ट्रको पहरेदार भएको छ ।

मेरोरिपोर्टडटनेटको लिङ्क:  http://meroreport.net/page/6365517:Page:89673