“बेलुकातिर मत्तै मन्टिन्छ अरे त्यो इरुङटारे भनाउँदो ।” भन्दै बज्यै चाँडै फर्किन् ।
उल्टीबेलातिर एउटी ‘मदर’को ज्यान खाने बगानकी महिला मजदुर लच्छिमी पनि बाजेलाई हेर्न आई । बज्यैले सिकुवामा बसाइन् ।
“एक्ली मान्छे । छोराछोरी ससानै छन् । दिनभरि काममा बेलुकीखेर घाँस काट्न नगए त्यो यौडा भ’को गाई पनि मरिहाल्छ । के गर्नु, भ्याएनभ्याई छ । अगि ब्यान पो सुने बाजे सारै छन् भनेर । कामबड अलि छिट्टै आएर यता आइहालें । अइले बाजेलाई घकस्तो छ ?” ढिलो आउनुको कारण बताउँदै अहिलेको हालत बुझन चाही उसले ।
“उस्तै छ । इरुङटारेलाई आफैं गएर बोलाइरछु । अब त आउने बेला भयो कि ?” हरेस खाएझैं गरी बोलिन् बज्यै ।
“मान्छेको सरीर पनि केई होइनरछ । हिजो बेलुकीसम्म सन्चै घाँस काट्तै गरेको मैले देखेको ।” लच्छिमी आफ्नै धुनमा बोल्न थाली- “अब त बगानमा सप्पैले गाई पाल्ने भएर घाँस पाउनै गारो भइसक्यो । छतिवन गाछीतिर चै तेत्ति मान्छे नगएर होला पाइन्छ अलेलि । हिजो बेलुकाखेर बाजेलाई तेतै घाँस काट्तै गरेको देखेर मलाई पनि आँट आयो । तर म चैं निक्कै वर थिएँ । बाजे चै गाछीकै छेउछाउ काट्तै हुनुहुन्थ्यो । लोग्नेमान्छेको जात हामी आइमेजस्ता डरछेरुवा काँ हुन्छन् र ! हेर कसरी नडराइ घाँस काटिरा’का छन् भने मनमनै मलाई त लाग्दैथियो । तर बाजेलाई देखेर अलि ढुक्क लाग्थ्यो । परै भए पनि बोल्नु पर्यो भनेर अलि सारै बोलाएँ ‘भारी पुग्यो बाजे ?’ भनेर । मैले सोधी सक्ता नसक्ता बाजे स्वात्तै पसिहाल्नु भो बोटमुनि । मैले बोलाएको सुन्नु भएन छ क्यार भनेर म चैं भारी बान्न थालेँ । भारी बानिसकेर एक छिनमा त हिँडी पनि हालेँ । अघि ब्यान पो काममा गइसकेर था’ पाएँ बाजे बिरामी भ’को कुरा । भूतले बोलायो कि तर्सायो भन्थे मदिसिनीहरु ।”
चड्किलो स्वरमा लच्छिमीले बोलेको बाजेले भित्रैबाट सुने । उसलाइ भित्रै बोलाएर सोधे-
“हिजो मलाई भारी पुग्यो ? भनेर सोध्ने तिमी नै हौ ?”
“हो त । किन र ?” लच्छिमीले कुरो बुझेझैं गरिन् ।
(कथाकार खपाङ्गी झापाको बुधबारे उच्चमाविका प्रअ हुनुहुन्छ)
1 comment:
गजब लाग्यो। मानसिक डर ले मानिसलाइ कसरी कक्रक्क बानंउछ भन्ने एउटा सुन्दर उदाहरण
Post a Comment