Saturday, October 13, 2012

दशै कस्को ?

- योगेश खपाङगी


धैंको बर्ष झै यसपाली पनि संसारभरिका नेपालीलाई दशैले झ्याप छोपेको छ । सधैं झै यसपाली पनि शुभकामना दिने-लिने तथा खुशीयाली बाँड्ने क्रम शुरु भएको छ
तर केही भिन्न बिचार राख्नेहरु सधैं झैं 'दसैं बहिस्कार' आन्दोलनमा पनि लागिसके ।

आखिर किन हुन्छ त जहिले पनि दशैको बिरोध ! स्वाभाबिक छ । दशैलाई 'हिन्दूहरुको मात्र चाड' भन्ने गरिएको छ; त्यसैले हुन्छ दशैको बिरोध । तर बुझ्नुपर्ने कुरा के हो भने दसै कुनै अमुक जाति र हिन्दूहरुको मात्र पेवा होइन । यो त सबै धर्म मान्ने नेपाली जातिको साझा संस्क्रिती हो । पहिला दसैं भनेको चैतमा थियो । चैते दसैं भनेको थाहा छ होला नि ! ईतिहास साक्षी छ; चैतमा मौसम अनुकुल नभएको र कामको चटारो हुने बेला भएको हुनाले यस्लाई सफा र ठीक्कको मौसम न जाडो-न गर्मी अनी कामको चटारो पनि नहुने बेला असोजमा सारीएको हो । चैते दसैंलाई सानो दशै र असोजमा आउने दसैंलाई बडा दसैं भन्न थालिएको हो ।

पहिला दशै भनेको सारा नेपालीको साझा चाड थियो । पछी मात्र यस्लाई हिन्दूको चाडको रुपमा प्रचार गरिएको हो । दुर्गा माता र भगवान रामसँग हाम्रो साझा चाड दशैको बारहातको साईनो पनि थिएन र छैन पनि । समयक्रममा पछी यस्लाई ब्राह्मणीकरण गरिएको हो । तागाधारीले 'हाम्रो पेवा चाड' भनेपछी गैरतागाधारीहरुले 'तिमीहरुको चाड हामीले किन मान्ने' भनेर छाड्दै लगेको मात्र हो । बास्तवमा रामले रावणलाई मारेको खुशीयालीमा अथवा दुर्गामाताले महिशासुरलाई मारेको उपलक्ष्यमा हामीले दशै मान्न थालेको पनि होइन । अनी निधारमा लगाउने गरेको रातो चामलको अक्षता पनि कुनै महिशासुरको रगत मुछेर लगाउने गरिएको पनि होइन । बुढापाकालाई सोधे हुन्छ, दही र चामलमा रातो रङ राख्ने चलन त भर्खरै भित्रिएको मात्र हो ।  यो त हाम्रो नितान्त मौलिक र नेपाली मात्रको चाड हो । यदी यो चाड हिन्दूहरुको मात्र थियो भने खै त भारतीय हिन्दूहरुले मानेका ? भारतीय हिन्दूहरुको दशहरा भनेको दशमीदेखी नै सकिन्छ । जबकी हाम्रो खास रमाइलो दशै चैं दशमीदेखी शुरु हुन्छ । नातामा आफुभन्दा ठुलाबाट चामल र दहिमा मुछिएको टिका लगाउने, जमरा लगाउने आशिर्बाद लिने, सानालाई आशिर्बाद दिने, भेला भएर खानपान गर्ने, नयाँ कपडा लगाउने, दक्षिणा दिने, लिङगे पिङ खेल्ने लगायतका कामहरु सम्पूर्ण हिन्दूहरुले गर्दैनन् । त्यसैले पनि हामीले मानी आएको दशै हिन्दूहरुको पेवा भनिठान्नु ठीक हुन सक्दैन ।

हाम्रो साझा चाड दसैंको धार्मिक भन्दा पनि सांस्कृतिक महत्व बढी छ । काम र रोजगारीका लागि टाढा-टाढा पुगेका र लामो समयसम्म भेट नभएको परिवारलाई पुनर्मिलन गराउँछ दशैले । केटा-केटीहरुलाई पारिवारिक महत्व बुझाउँछ दशैले । देश-बिदेशमा रहेका सबै नेपालीलाई एकसुत्रमा बाँध्ने काम गर्छ दशैले । 

दशैलाई 'हिन्दूहरुको महान चाड बिजया दशमी' नभन्नुहोस्, सट्टामा बडा दशै वा दसैं मात्र भन्नुहोस् ।

सबैलाई बडा दशैको शुभकामना !

No comments: