Showing posts with label Neplali Cricket. Show all posts
Showing posts with label Neplali Cricket. Show all posts

Tuesday, April 2, 2013

धनीको खेल क्रिकेट, गरीबको खेल डन्डीबियो


क्रिकेट खेलको शुरुवात बेलायतका राजा एड्वर्डका फुच्चे छोराले गरेका रहेछन् सन १५९८ मा (विकिपेडियाका अनुसार)। त्यसबेला दरबारमा राजा-महाराजाहरुको हरहमेसा काम त हुँदैहुदैनथियो । फुच्चेहरुले खेल्थे, समय कटाउन राजा हेरेर बस्थे । पछी-पछी राजालाई मनपर्ने खेल भनेर जनताले पनि खेल्न थालेछन् । बिस्तारै-बिस्तारै क्रिकेट खेल बेलायतको राष्ट्रिय खेल भएछ । पछी साम्राज्यबादी बेलायतीहरुले जुन-जुन देश कब्जा गरे त्यहाँ-त्यहाँ खैरेहरु पुग्थे । अर्थोक काम केही हुन्नथ्यो । त्यसैले उनिहरु क्रिकेट खेल्ने बस्ने काम गर्थे । के गर्ने खाना त पचाउनै पर्‍यो ! एउटै खेल सात-सात दिन सम्म खेल्थे उनिहरु ।

हरेक नोकरलाई मालिक भन्ने लालशा त हुन्छ नै । मालिकले जस्तो लगाउनु, मालिकले जस्तो बोल्नु र मालिकले जस्तो खेल खेल्नु नै उनिहरुको चाहना हुन्थ्यो । त्यसैले जुन-जुन देश बिगतमा बेलायती उपनिवेश थियो, त्यही देशका जनताले क्रिकेटलाई मरिहत्ते गरेर खेल्न थाले । जनताको त काम थियो । सात-सात दिनसम्म खेल खेलेपछी खान-लाउन त कसैले नि फोकटियामा त दिदैन नै थियो । अनी खेलको अवधी घटाएछन् । त्यसपछी 'वनडे म्याच' खेल्न सुरुवात भएछ । आज पनि हेर्नुस् बेलायत र बेलायतका पूर्वदाश देशले मात्र क्रिकेट खेल्छन् । जस्तो - भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बङ्लादेश, श्रीलंका, नुजिलेन्ड, वेष्ट इन्डिज आदी ।

त्यसमद्धे भारतमा हेर्नुस् । क्रिकेट म्याच हुन थाले पछी त्यो देशको समय थामिन्छ । क्रिकेट खेल अवधीभर त्यहाँ उद्द्योगधन्दा-ब्यापार र काम-काज सबै ठप्प हुन्छ । सरकारी कार्यालयको समय नै परिवर्तन गर्नुपर्ने हुन्छ खेलको लागि । त्यती मात्र नभएर करोडौंको रकममा बाजी थाप्ने, म्याच फिक्सिङ गर्ने, ड्रगको कारोबार गर्ने, बेस्याब्रित्ती गराउने जस्ता अनैतीक काम हुनथालेको छ आजको भारतमा । त्यहाँ रातारात बिदेशी लगानीको अखबार र टि.भी च्यानलले क्रिकेटरहरुलाई महान सेलिब्रेटी बनाइदिन्छ । अनी भारतीय जनताले उनिहरुको पूजा गर्न थाल्छ । कपिल देव र सचिन तेन्दुकर महान ब्यक्तिहरु कहलाइन्छन । आज भारतको कुनै पनि बच्चा बैज्ञानिक, चिकित्सक, इन्जिनियर, समाजशास्त्री, शिक्षक, नेता बन्न चाँहदैन । कपिल तेन्दुल्कर बन्न चाहन्छ कि त शहरुख खान । केटी छन् भने केट्रिना कि करिना वा सन्नी लियोनी । अनी तेन्दुल्कर र खानहरुले के गर्छन् थाहा छ ? कि कोक-पेप्सी, आलु चिप्स, बुस्टको बिज्ञापन गर्छन् । 'डरके आगे जित है । बुस्ट इज द सिक्रेट अफ माइ इनर्जी ।' वा यस्तै भन्दै अन्य सामान बेच्छन् - भारतका आइकोनहरुले । स्वदेशमा बसेर बिदेशी मालको प्रचार गर्छन् केट्रिना-शाहरुख-सैफ र तेन्दुलकरहरुले । जनता त के हो र ! रातको दिन देखाए पछी त एकदिन न एक दिन त बिज्ञापनको चँगुलमा फँसीहाल्छ नि ! त्यसैले यो खेलको बिरोधमा अहिले भारतभरीका सचेत नागरिकहरु उठ्न थालेकाछन् ।

हेर्नुस् बिडम्बना, हाम्रो नेपालले पनि यो खेलमा खुब राम्रो शुरुवात गर्न थालेको छ । जो कहिले कसैको दाश थिएन । तर अब क्रिकेटप्रतीको बढ्दो उत्साह र जनसहभागीता हुन थालेको छ । अब बिस्तारै-बिस्तारै सरकारलाई एककिसिमको मनोबैज्ञानीक प्रेशर पर्न थाल्छ - क्रिकेटको बिकासको लागि बजेट छुट्याउने ।  यो खेल बेलायती दब्दबाको निशानी हो । त्यसैले खेल नै त हो भन्ने कदापी सोच्नु हुन्न । यो त्यस्तो खेल हो जहाँबाट देशमा अराजकता भित्रिन्छ । यो खेल हाम्रो होइन - यो हाम्रो माटो सुहाउंदो छैन । बरु डन्डी बियो खेले हुन्छ तर क्रिकेटमा लगानी गर्नु बालुवामा पानी हाले सरह हो ।
- योगेश कुमार खपाङगी