Pages

Pages

Pages

Sunday, March 31, 2013

के नेपाली भाषा बोल्ने जती 'ग्वाँच' गाउँलेहरु हुन् त ?



नेपालमा एउटा ठुलो भ्रम छ; अङ्ग्रेजी भाषा अन्तररास्ट्रिय भाषा हो । यो भाषा नभए देशको बिकास हुन सक्दैन । अङ्ग्रेजी बोल्ने आधुनिक - नेपाली बोल्ने पुरातन 'ग्वाँच' गाउँलेहरु हुन् भन्ने । त्यसको जवाफमा केही आँकडा प्रस्तुत गर्दैछु -


#  बिश्वमा कुल १९४ देशहरु (केही देशहरु फुट्ने र जुट्ने क्रम चलिराखेको हुनाले यती नै हो भन्...ने ठोकुवा गर्न सकिन्न)छन् । त्यसमद्धे ८ वटा देशको मात्र राष्ट्रिय भाषा अङ्ग्रेजी हो ।
#  विश्वको जनसंख्याको आधारमा अङ्ग्रेजी बोल्ने कुल जनसंख्या ५.५% छन् ।
#  सबैभन्दा बढी बोलिने भाषा चाइनिज र दोस्रोमा स्पेनिश हो । तेस्रोमा अङ्ग्रेजी र चौथोमा हिन्दी हो ।
#  संयुक्त राज्य अमेरिकामा कुल ७०% ले अङ्ग्रेजी बोल्छन् । (अङ्ग्रेजी जान्दै नजान्नेहरु पनि उल्लेख्य मात्रामा छन् ।)
#  ल्यटिन अमेरिकाको कुल १ प्रतिशतले मात्र अङ्ग्रेजी बोल्न सक्छन् ।
#  युरोपको ८ प्रतिशतले मात्र अङ्ग्रेजी बोल्न सक्छन् ।
#  अङ्ग्रेजी भाषामा जम्मा १२००० वटा शब्द मात्र मूल शब्दहरु हुन् । बाँकी अन्य भाषाबाट तानतुन गरिएको हो ।
#  टेक्निकल र इन्जिनियरिग सम्बन्धी पुस्तकहरु सबैभन्दा बढी रसियन भाषामा लेखिएको छ ।

चीन, जापान, कोरिया, फ्रान्स, स्पेन, जर्मनी, इटाली, स्विट्जरलेन्ड, बेल्जियम, नेदरल्यान्ड, नर्वे, स्विडेन, फिन्ल्यान्ड लगायतका विश्वका अती बिकसित देशमा अङ्ग्रेजी बोलिदैन । उनिहरुले आ-आफ्नो भाषामा पाठ्यक्रम बनाएका छन् र आफ्नो भाषालाई अन्तररास्ट्रिय रुपमा उभ्याउन कम्मर कसेर लागेका छन् ।

के उल्लेखित देशहरुले अङ्ग्रेजी भाषा जानेको हुनाले बिकास गरेका हुन् त ? अङ्ग्रेजी भाषा अन्तररास्ट्रीय भाषा हो त ? हामी किन अङ्ग्रेजी भाषाका लागि आफ्नो मात्रिभाषाको बली चढाउने ? नेपाली भाषा बोल्न र लेख्न यत्रो हीनताबोध किन ?
- योगेश कुमार खपाङगी

Saturday, March 30, 2013

साताको कार्टून


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Thursday, March 28, 2013

व्हाइ 'पोलिटिक्स इज नट डर्टी गेम' !


- योगेश कुमार खपाङगी

'पोलिटिक्स इज डर्टी गेम' अर्थात 'राजनिती फोहोरी खेल हो' ।  यो भनाइ कुनै चतुर राजनीतिबाजको हुनुपर्छ । अन्यथा राजनिती फोहरी खेल हुँदै होइन । किनभने राजनिती भनेको नितिहरुमद्धेको राजा-निती अर्थात राजनीति हो । राजनीतिले नै देश र संसार हाँकेको छ । सही निती र बिचारबाट निर्देशित नितिले जनता र देशको भबिस्य निर्धारित गर्छ । यदी कुनै देशमा असल राजनेताहरु नहुनु हो भने अर्को देशले त्यो देशलाई असफल घोषणा गर्दिन्छ र कथित राष्ट्र संघको नियम अन्तर्गत नै रहेर हडपीदिन्छ ।

बिडम्बनाको कुरो अहिले हाम्रो देशको राजनिती नितीबेगरको अनी फोहरी भएको छ । राजनीति आफैमा फोहरी खेल हुँदै होइन । तर यस्का खेलाडीहरु प्राय: सबै फोहरी भएका हुनाले नै राजनीति 'एउटा फोहर खेल हो' भन्ने भ्रम हुनगएको छ । यो भनाइले राजनीतिको नाममा फोहरी खेल खेल्नेहरुलाई चाँही पक्कै राहत मिलेको हुनुपर्छ । किन भने पहिले नै फोहरी खेल भन्दिए पछी त टन्टै साफ भो नि ! निजी स्वार्थ पुरा गर्न जती फोहर खेल खेले पनि भयो नि ! आखिर जनताको दिमागमा पहिल्यै भर्दिएकै छ - 'राजनिती फोहर खेल हो ।' अब फोहर खेलमा फोहरी काम त हुने नै भयो । त्यस्मा आस्चर्य मान्नु पर्ने कारण नै केही रहेन । न रहने भो बाँस, न बज्ने भो बाँसुरी ! कुरा साफ !

बर्तमान समयमा संसारमा असल राजनितिगग्यको कमी छ, खराबको बाहुल्य छ । फटाहा राजनीतिग्य र चतुर ब्यापारिहरु मिलेर जनताको (खासगरी युवाहरुको) ध्यान मोड्न अनी आफ्नो फाईदाकोलागी अनेक थरी उपायहरु बनाएका छन् । टिभीमा चौबिसै घण्टा अश्लील गीतहरु देखाउने; ताकी युवाहरुको मन सेक्सभन्दा अन्त नजाओस् । एम टिभी, भि टिभी, फेशन टिभी, ट्रावल एन्ड टुरिजम । सबैको नियत सेक्स पस्किने मात्र छ । हुँदा-हुँदा प्राय: अधबैंसे तथा बुढाहरु (जुनबर्गलाई सचेतबर्ग पनि भन्नसकिन्छ) ले पढने समाचार पत्रहरुमा समेत नियत भङग गर्ने उत्तेजक-अश्लील फोटोहरु र समाचार दिने अभ्यास हुनथालेको छ । यस मामालामा नेपाली मिडिया पनि काम छैन । जानेरहोस् या अन्जानमै; हाम्रा संचार माध्यमले पनि हामीलाई डरलाग्दो कालो खाडलमा धकेल्दैछन् । होसियार ! यस्ले गर्दा आममानिस बिहान उठेदेखी नै देशको मुल मुद्दामा चासो नदिने, बरु उत्तेजक र अश्लील समाचार खोजी-खोजी पढने अनी पङगु बनिदैछन् । त्यसै गरी महिलाहरुलाई त झनसारो बुद्धिहीन बनाउने कामको शुरुवात भएको छ । चौबिसै घण्टा टिवीमा टाँसिएर बस्नु परेपछी अन्य कुराहरु सोच्ने फुर्सद खै ? एकपछी अर्को तुरुन्त आउँछ ।  फुर्सद भइहालेमा पनि खाली गहना, राम्रा-राम्रा लुगा अनी विवाहइतर सम्बन्ध कसरी बनाउने भन्ने मात्र सोच्ने बनाउने घ्रिणित चाल चलाईँदैछ ।  रियलिटी शो अनी फोकटिया टेलीसिरियलमा आखिर के देखाइन्छ ? आजका बच्चाहरु  रेस्लिङ खेल हेरेर मजा लिदैछन् । भलै त्यो नक्कली खेल हो । तापनी एक मुस्तन्डले अर्कोको खप्पर फुटाएको, रगतको धारा बगाएर लडाईं गरेको देखेर ठुला-साना सबै दङग छौं । त्यसै गरी केही बच्चाहरु चै भिडियो गेममा रमाएका छन् । उनिहरु भर्चुवल दुश्मनलाई छानी-छानी मार्न पाएमा खुशी हुन्छन् । चलचित्र-पत्रपत्रीका र टिभीमा रात-दिन हिङ्सा देखाएको हुन्छ । हामी हिङ्स्रक बन्दै जाँदै छौ ।  हामीहरुलाई देशको मुल समस्या र मुद्धाहरुबारेमा अलग राखेर जिरो पर्सेन्ट नलेजको बनाउने अभ्यास हुँदैछ । सबै केटाकेटी भिडियो गेम/रेस्लिङमा - युवाहरु खेल वा मनोरन्जनमा बिजी छन् ।

'राखी सावन्तको काठमाडौं आउने प्रोग्राम क्यान्सिल भो रे, कट्रिनाले सल्मानलाई छोडेर रणबिरसँग सल्किन रे, ब्रिट्नी स्पेयरको अर्को केटोसँग अफेयर चल्न थाल्यो रे, जेनेट ज्याक्सनले कतारी प्रेमीसँग बिहे गर्ने भई रे, किम कार्डन्सनले बच्चा पाउने भई रे !' - मिडिया भरी यस्तै खबर छ । हाम्रा युवा दु:खी छन् । आफ्नो देशमा के हुँदैछ ? रुपैयाँको भाउ डलरको तुलनामा रातको दिन किन घट्दै छ ? हामी आँफै गरीब भा'को कि बनाइएको ? थाहा पत्तो छैन तर जस्टिन बिबर र लेडी गागाको सबै खबर थाहा छ ।

सन् १९९९ म भारत र पाकिस्तान बिच भयङ्कर युद्ध भएको थियो ।  त्यस युद्धलाई 'कारगिल-युद्ध' भनिन्छ । जुनबेला भारतीय सुरक्षा फौज र गोर्खा सेना ज्यानको बाजी थापेर युद्ध लडिराखेको थियो । त्यतीखेर भारतीयजन लन्डनमा भईराखेको आईसिसी क्रिकेट विश्वकप हेर्न र कमेन्ट्री सुन्नमा ब्यस्त थियो । मिडिया सबै क्रिकेटमय थियो । कुनै-कुनै सानातिना संगठन बाहेक कसैले पनि कारगिल-युद्धबारे 'चुँ' सम्म बोलेन; जबसम्म विश्वकप सकिएन । त्यस्बेलाको विश्वकप अस्ट्रेलियाले हात पारेको थियो । नत्र 'कारगिल जावोस् भाँडमा !' भारतीय युवालाई विश्वकपको मात्र मतलब थियो । यदी भारतले जितेको भये शायद दिपावली मनाइन्थ्यो होला । के थाहा यही तरिका हो भने हाम्रा नेपालीजन पनि भोलीको त्यस्तै कठिन अवस्थामा मनोरन्जनमै ब्यस्त पो हुने हो कि !

जुनसुकै काम गर्न इमान्दारिता र चरित्रवान हुन आवश्यक छ । तर राजनीति मात्र यस्तो ठाउँ छ जहाँ प्रवेश गर्न केही पनि चहिदैंन । खाली एकजमात गुण्डा र छलकपट गर्न जान्ने हुनुपर्छ । केहीलाई छोडेर भन्नुपर्दा अन्य ठाउँमा असफल भएपछी, चाँडो धनी हुन, समाजमा हैकम चलाउन, प्रख्याती वा कुख्याती कमाउन, राष्ट्रिय ढुकुटिमा मोज गर्न अनी पैसा कमाउन बिदेसीको एजेन्ट हुने तथा देश बेच्न परे पनि पछी नपर्नेहरुकै हातमा आज नेपाली राजनीति परेको छ ।
जे होस्, ढिलो-चाँडो नेपालमा फेरी संबिधानसभाको चुनाव हुन लागेको छ । फोहरी भाईरसहरुलाई अब हामी आम दिदी-बहिनी र दाजु-भाइले चिन्ने बेला आएको छ । पक्का छ फेरी पनि तिनै मान्छेहरु फेरी पनि चुनावमा उठ्नेछन् तर यसपटक तिनिहरुको जमानत जफत गराइदिनु पर्छ । अत: क्रिकेट, रेस्लिङ, सिरियल, रियलिटी शो, अश्लील संगीतको पछी नलागौं - रास्ट्रिय पोलिटिक्समा ध्यान दिऔं । सबै मिलेर राजनीतिलाई 'लोकनीती'मा परिणत गरौं । 'पोलिटिक्स इज नट डर्टी गेम - पोलिटिसियन इज डर्टी' । 

Tuesday, March 26, 2013

म भरसक 'ब्रान्डेड' सामान खरिद गर्दिन । किन थाहा छ ?

केही बर्ष अघीको कुरा हो । म जमल (काठ्मान्डुको) हुँदै न्युरोड जाँदै थिएँ । घनघोर पानी पर्न थाल्यो । ओत पनि लाग्ने, टाइम पनि किल गर्ने नियतले जनप्रशासन क्याम्पस अगाडिको किताब पसलमा छिरें । थुप्रै किताबहरु सर्सरी पाना पल्टाउँदै पढन थालें । त्यसमद्धे 'फाइनान्सियल टाइम्स'का एकजना कोलमिस्टको किताबमा लेखिएको एउटा सल्लाह चैं अहिलेसम्म याद गरिराख्या छु । 

उन्ले लेखेका थिए - "ब्रान्डेड सामानको नाममा पैसा खेर नफाल्नुहोस् । 'ब्रान्डेड' भनेको बेवकुफ टिनएजरहरु लाई फँसाउने मकडजाल मात्र हो ।" त्यसबेला देखी 'ब्रान्डेड'को नाममा मुर्गा बनिनबाट आफुलाई बचाइ रा'छु । आखिर सस्तो मुल्यमा नै उत्कृष्ट सामान पाइन्छ भने पसिना बगाएर कमाएको पैसा किन खेर फाल्ने ? हैन त ! म त भन्छु - 'भरसक स्वदेशी नै किनौं ।'
- योगेश कुमार खपाङगी

Monday, March 25, 2013

Sunday, March 24, 2013

हिन्दुधर्मसित किन तर्सिन्छन् दलितहरु ?


- भक्त खपाङ्गी

नयाँ मुलुकी ऐन २०२० आउनुभन्दा पहिले नेपाली हिन्दु समाजमा सानो जात, तल्लो जात, अजात आदि नामले चिनिने समुदाय अहिले ‘दलित’ भनेर चिनिन्छन् । २०४६ पछि भएको राजनीतिक परिवर्तनदेखि यता ‘उत्पीडित’ जाति भनिन थालिएको भए पनि अहिले ‘दलित’ नाम नै स्थापित भएको छ । यही समुदायलाई पहिले पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने, अछुत, पानी अचल जातका रुपमा जातका रुपमा लिइन्थ्यो । नेपालको जनसङ्ख्यामा ठुलो हिस्सा ओगट्ने यस समुदायमा थुप्रै जातजातिहरु पर्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार पनि नेपालका प्रमुख १० जातीय समुदायमध्ये सातौं स्थान ओगट्ने ‘कामी’ (४.८ प्रतिशत)देखि लिएर मधेसीमूलका अतिअल्पसङ्ख्यक कलर, कोरी, ककैहिया, खटिक, चिडीमार, पत्थरकट्टा, सरभङ्ग (सरबरिया) जस्ता जातीय समुदाय समेत यही दलित समुदायभित्र पर्छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०५८ चैत ६ गते स्थापित राष्ट्रिय दलित आयोगद्वारा २०६० साल पुस ५ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दलितमा पहाडेमूल र मधेसीमूल गरी दुई भागमा निम्न जातजातिहरु पर्दछन् ।

पहाडेमूल ः गन्धर्व (गाइने), परियार (दमाई, दर्जी, सुचीकार, नगर्ची, ढोली, छुट्के), बादी, विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनराँ, पार्की, टमटा), सार्की (मिजार, चर्मकार, भुल) ।
मधेसीमूल ः कलर, ककैहिया, कोरी, खटिक, खत्वे, चमार, चिडीमार, डोम, तत्मा, दुसाध, धोबी, पत्थरकट्टा, पासी, बाँतर, मुसहर, मेस्तर (हलखोर), सरभङ्ग (सरबरिया) ।
(दलित आयोगले ‘विश्वकर्मा’ सम्बोधन गरेको समुदायलाई हरेक जनगणनामा केन्द्रीय तथ्याङ्क विभागले भने सधैँ ‘कामी’ उल्लेख गर्ने गरेको छ । सम्बन्धित समुदायले पटक्कै मन नपराउने ‘कामी’ का सट्टा विश्वकर्मा, बिके, बिक शब्दको प्रयोग गरेको पाइन्छ । अचेल विश्वकर्मा, दमाई, सार्की भन्दा आआफ्नो थर प्रयोग गर्ने गरिन्छ । सरोकारवालालाई मन नपर्ने शब्द केन्द्रीय तथ्याङ्क विभागले पनि संशोधन गर्नु समयानुकूल हुनेछ ।)

सङ्ख्यात्मक हिसाबले मुलुकको ठुलो हिस्सा ओगट्ने यो समुदाय लामोसमयदेखि अपहेलित र पीडित हुनु परेकाले रुष्ट रहँदै आएको आएको छ । खासगरी पहाडे समुदायका दलितहरु धेरै लामोसमयदेखि मुक्तिका लागि सङ्घर्षरत रहेका छन् । बाग्लुङका सर्वजित विश्वकर्माले विसं. १९९७ मा ‘विश्व सर्वजन संघ’ नामको संस्था स्थापना गरेर विधिवत रुपमा दलित मुक्ति आन्दोलन सुरु गरेको देखिन्छ । २००४ सालदेखि यस आन्दोलनले गति पकडेको देखिन्छ । २००७ सालको परिवर्तनपछि यस क्षेत्रमा झन् उल्लेखनीय प्रगति भएको पाइन्छ । हरेक राजनीतिक परिवर्तनपछि झन्–झन् उत्साहित बनी यस समुदायकाहरु आन्दोलन गर्न अघि सरेका देखिन्छन् । वर्तमानमा त दर्जनौँको सङ्ख्यामा दलितका संघसङ्गठनहरु र सयौँको सङ्ख्यामा गैरसरकारी संस्थाहरु (एनजीओ) अस्तित्वमा छन् ।

विसं. १९९७ देखि विश्व सर्वजन संघको नामबाट सङ्गठित रुपमा सङ्घर्षमा उत्रिएका दलित समुदायका नयाँ–नयाँ सङ्गठनहरु खुल्ने सिलसिला निरन्तर अगाडि बढिरह्यो । टेलर युनियन (२००४), निम्न समाज सुधार संघ (२००८), जाततोड मण्डल (२००८), समाज सुधार संघ (२००९), परिगणित नारी संघ (२०१२), राष्ट्रिय अछूत मुक्ति परिषद् (२०१४), नेपाल राष्ट्रिय दलित जनविकास परिषद् (२०२४), पछौटे जाति सुधार संघ (२०३७), नेपाल राष्ट्रिय समाज कल्याण संघ (२०३९) नेपाल अतिपिछडिएको जनविकास परिषद् (२०३८), जातीय विभेद उन्मूलन मञ्च (२०४४), समता समाज (२०४५), उत्पीडित जातीय उत्थान मञ्च (२०४५), छुवाछूत मुक्ति सङ्गठन (२०४६), नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा (२०४६), जातीय समता समाज, विकासोन्मुख समाज संघ (२०४८), नेपाल उत्पीडित जातीय मुक्ति समाज (२०४९), नेपाल दलित संघ (२०५५), प्रजातान्त्रिक दलित सङ्गठन (२०५५), नेपाल दलित उत्थान मञ्च (२०५७) आदि दलितसँग सम्बन्धित थुप्रै संघसङ्गठनहरु खुले । २०४६ पछि विभिन्न राजनीतिक दलहरुको भातृ सङ्गठनका रुपमा थुप्रै सङ्गठनहरु अस्तित्वमा आए । यस्तै सङ्गठनहरुकै बोलवाला अहिले पनि कायमै छ । स्वतन्त्र सङ्गठनका रुपमा देखिएका गैसस (एनजीओ) हरुको गतिविध ठुलाठुला तारे होटलहरुमा सेमिनार गोष्ठी गर्नमै सीमित रहेका छन् ।

सङ्घर्षको यतिलामो इतिहास, यतिका औधी संघसंस्थाहरुको उपस्थिति र सक्रियता हुँदाहुँदै पनि छुवाछूत लगायत जातीय विभेदका समस्यामा खासै प्रगति देखिँदैन । विशेषगरी देशको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्र अनि तराई क्षेत्रमा जातीय विभेद र हिंसाका घटना बराबर भइरहन्छन् । मन्दिर प्रवेश सर्वत्र खुल्ला हुन सकेको छैन । मध्यक्षेत्रमा पर्ने सिन्धुपाल्चोक जिल्लामा केही दिनअघि एसएलसी २०६९ दिन गाउँबाट आएका दलित विद्यार्थीहरुले बजार क्षेत्रमा जातकै कारण डेरा नपाएको समाचार प्रकाशनमा आएको थियो । डेरा नपाउने समस्या त छुवाछूतमुक्त क्षेत्र जस्तो देखिने पूर्वाञ्चमा समेत कायमै छ । डेरा पाउनकै लागि पनि जात ढाँट्न बाध्य छन्, दलितहरु । यद्यपि, यस यथार्थलाई धेरैले नस्विकार्लान् तर खुकुरीको चोट अचानालाई मात्र थाहा हुन्छ । यो तीतो वास्तबिकता हो । किन यस्तो भइरहेको छ ? मुलुकमा यत्रो परिवर्तन भइसक्दा पनि दुरावस्थामा उल्लेख्य सुधार किन आउन सकिरहेको छैन, गम्भीरतापूर्वक सोच्नु आवश्यक छ ।

परिवर्तनकारी, क्रान्तिकारी विचार राख्ने दलित, गैरदलितहरुले भन्ने गरेका थिए, नेपाल राष्ट्र पञ्चायती व्यवस्था र राजतन्त्रबाट मुक्त नहोउन्जेल यहाँबाट जातीय विभेद र छुवाछूतका समस्या हट्ने छैन । यी दुईबाट मुलुक मुक्त भए पछि यो समस्या स्वतः समाधान हुनेछ । यी दुईका अतिरिक्त त्यस बखत पनि हिन्दु धर्म सापेक्षतालाई महत्वपूर्ण कारणका रुपमा लिइन्थ्यो तर त्यो आवाज त्यति प्रबल थिएन । वामपन्थी विचार बोक्ने गैरदलित र केही दलित नेताहरु यस्तो ठान्थे । २०४६ र २०६३ को परिवर्तनपछि यी तीन वटै तत्वहरु पूर्णतः पाखा लागिसकेका छन् । पञ्चायत अस्तित्वविहीन भएको दुई दशक नाघिसकेको छ । राजतन्त्र हटेको पनि सात वर्ष हुन लागिसक्यो । हिन्दुधर्मलाई राष्ट्रिय धर्मबाट च्युत गरिएको पनि त्यति नै भइसकेको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र बनिसकेको छ । तर, रोग उस्तै छ । यसबाट के पुष्टि हुन्छ भने रोगको सही निदान भएको रहेनछ । यी कुरामाथि विश्वास गर्नु भनेको कान नछामी कागको पछि दगुर्नु जस्तो मात्र हो रहेछ । यसका प्रकारक, प्रवक्ता र समर्थकहरु अहिले पनि यसको दोष हिन्दु धर्मलाई शतप्रतिशत लगाउँछन् । अलिकति पनि गम्भीर भएर मनन् गर्ने भने उपर्युक्त तीनवटै कारण जड (जरो)का रुपमा देखिन्दैनन् ।

कानुनी रुपबाट जातिप्रथाविरुद्ध महत्वपूर्ण कदम पञ्चायतकालमै चालियो । नयाँ मुलुकी ऐन २०२० ले सबै नेपालीलाई कानुनका नजरमा समान बनाएको हो । यो ऐन आउनुमा, लागु हुनुमा राजा महेन्द्रको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसपछि एक पटक त कलाकारहरुले आफ्ना नामकापछि जात उल्लेख गर्नै छाडेका थिए । जस्तो नारायणगोपाल, तारादेवी, प्रेमध्वज, बच्चुकैलाश, शिवशङ्कर, कोइलीदेवी, माणिकरत्न, फत्तेमान आदिको जातथर उल्लेख हुँदैन थियो । राज्यको नीति, निर्माण गर्ने विधायिकामा दलीतहरुको समेत प्रतिनिधित्व गराउने कामको थालनी राजा महेन्द्रबाटै भएको थियो । सहर्षनाथ कपाली, हिरालाल विश्वकर्मा, टेकबहादुर विश्वकर्मा जस्ता दलित प्रतिनिधिहरु पञ्चायतकालीन विधायिकामा पुग्ने गर्थे । पञ्चायती व्यवस्था र राजतन्त्र दुवै नरहेको भारतमा उहिलेदेखि अहिलेसम्म जातीय भेदभाव र छुवाछूतप्रथा धेरै क्षेत्रमा कायम रहेको पाइन्छ । राजतन्त्र र जातीय छुवाछूतप्रथाबीच कुनै सम्बन्ध रहेको देखिँदैन । संसारका ३० वटा भन्दा बढी मुलुकमा अहिले पनि राजतन्त्र कायम छन् । फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९) अघिसम्म युरोपका प्रायः सबै देशमा (एक÷दुई बाहेक) राजतन्त्र, त्यसमा पनि निरङ्कुश, तानासाही राजतन्त्र थिए । त्यहाँ किन जन्मिएन छुवाछूतप्रथा ? राजतन्त्र हुँदैमा छुवाछूतप्रथा कायम हुने, राजतन्त्र नहुँदा कायम नहुने भन्ने कुरा यथार्थ ठहर्दैन ।

अब रह्यो कुरो हिन्दुधर्मको जातीय छुवाछूतप्रथाको जन्मदाता र प्रमुख संरक्षक नै यसैलाई मानिन्छ । संसारमा यो मात्र यस्तो विभेदकारी पक्षपाति धर्म हो जसले आफ्नै अनुयायीहरुलाई ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रमा छुट्याएर एकअर्कामा फुट ल्याइदिएको छ । शूद्रलाई त मानवीय हैसियत पनि प्रदान गरिएको छैन । शूद्रलाई पनि पानी चल्ने र नचल्ने दुई समूहमा छुट्याई फुट ल्याइएको छ । पानी नचल्ने शूद्रको जीवन शोषित, उत्पीडित, पशुवत् र नारकीय छ । यस समुदायले मुक्तिका लागि यस धर्मलाई नै परित्याग गरिदिनुपर्छ र सबै मानिसलाई समान व्यवहार गरिने क्रिस्चियन धर्ममा लाग्नुपर्छ भन्ने शिक्षा दिने काम व्यापक रुपमा भइरहेको छ । धर्मप्रति आस्था हुने दलितहरुको निक्कै ठूलो सङ्ख्या अहिले त्यसप्रति आकर्षित बनाइएका छन् । धर्ममा आस्था नहुने दलितहरुलाई बरु कुनै पनि धर्ममा नलागी नास्तिक भएर बस्नु राम्रो हो । तर, हिन्दुधर्म चाहिँ कसै गरेर पनि त्यागिदिनु बुद्धिमानी हो भन्ने उत्प्रेरणा दिइने काम भइरहेको छ । यसप्रकार पलायनवादलाई प्रोत्साहित गरिँदैछ । यसबाट दुई कुरामा दुष्प्रभाव पर्छ । पहिलो त हिन्दुधर्मावलम्बीको सङ्ख्या घट्छ । अर्को धर्मसंस्कारविहीन असामाजिक जत्था तयार हुन्छ । यस्ता मान्छेहरुलाई समाजमा घुलमिल भएर बाँच्न कठिन पर्ने हुँदा जीनव निरश र कष्टकर हुन जान्छ । संसारका सम्पूर्ण मान्छे कुनै न कुनै धर्मसित सम्बद्ध छन् । हरेक मान्छेको नाम उसले मान्ने धर्मसित सम्बन्धित र आधारित हुन्छ । समाजमा मान्छेले विभिन्न औपचारिकता निर्वाह गर्नैपर्छ, आचारणहरु गर्नैपर्छ । जन्मदेखि मृत्युसम्म र मृत्युपछि पनि सन्ततिले विभिन्न संस्कारहरु गर्नैपर्छ । ती आचरण, संस्कार, शिष्टाचार आदि सबै मानवीय आवश्यक तत्वहरु आफूसम्बद्ध धर्ममा आधारित हुन्छन् । हामी नेपालीका यी सबै कुराहरु परापूर्वकालदेखि हिन्दुधर्मसितै गाँसिएका छन् । हाम्रो नशानशामा, रगतका थोपा–थोपामा यसैको प्रभाव रहेको छ । अर्को धर्ममा प्रवेश गर्दैमा, यसलाई परित्याग गर्दैमा यसको प्रभावबाट मुक्त हुन सकिँदैन ।

परम्परादेखि क्रिस्चियन, मुस्लिम, बौद्धधर्म मानिआएकाहरुको हकमा पनि त्यही कुरा लागु हुन्छ । उनीहरुले पनि आफ्नो धर्म त्याग्नुको कुनै औचित्य हुँदैन । नेपालमा ८० प्रतिशत (८१.३ प्रतिशत) मानिस अहिले पनि हिन्दुधर्मावली रहेको तथ्याङ्कले बताइरहेको छ । यस्तो अवस्थामा केही दलितहरुले मात्र हिन्दुधर्म त्याग्नुको कुनै औचित्य देखिँदैन । यस्तो पलायनले समस्याको समाधान हुँदैन । बरु यसैमा समाहित, समायोजित भएर पछि ऐँजेरुजस्ता पलाएका छुवाछूतजस्तो विकृति, विसङ्गतिलाई शल्यक्रिया गरेर फ्याँकिदिनुपर्छ ।
छुवाछूत हटेपछि जातीय विभेद पनि हट्दै जानेछ । यी दुई विकृति हट्ने हो भने हिन्दुधर्म दलितका लागि कुन अर्थमा अनुपयुक्त छ र ? हिँडे छेउलाग्छ, बसे लेउ लाग्छ, आफैँ पाखा लागियो भने घरको न घाटको भइनेछ ।
जाति भेद र छुवाछूत सामाजिक समस्या हो । तर, यसको उन्मुलनका लागि राजनीतिक समाधानको बाटो खोजिन्छ । कुनै विशेष राजनीतिक दल, खासगरी कम्युनिष्ट पार्टीमा लागेर मात्र यसलाई हटाउन सकिन्छ भन्ने धेरैको धारणा रहेको देखिन्छ । राजनीतिक घोषणाबाट सामाजिक समस्याको समाधान नहुने प्रमाणित भइसकेको छ । नेपालको सर्वशक्तिमान संसदले २०६३ साल जेठ २१ गते नेपाललाई ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा ग¥यो । त्यसपछि विभिन्न ठाउँलाई पनि त्यसरी नै घोषणा ग¥यो । त्यसले केही फरक पा¥यो ? सतीप्रथा, दासप्रथा भन्दा अलग प्रकृतिको समस्या हो यो छुवाछूतप्रथा । यो कुनै विशेष घोषणाबाट समाधान हुँदैन । दलितहरुले पलायनवादी र पृथकतावादी सोचमा परिवर्तन ल्याउनु समायोचित होला । राजनीतिक रुपबाट राज्यले चालेका कदमहरु सबै निरर्थक सावित भएका छन् । उपेक्षित, उत्पीडित र दलित वर्गउत्थान समिति (२०५४), राष्ट्रिय दलित आयोग (२०५८) हरु केही दलितले जागिर खाने ठाउँमात्र भएका छन् ।
यसरी दलितहरुले हिन्दुधर्मसित तर्सिनु आवश्यक छैन । यसैभित्र रहेर आफ्नो हक अधिकार स्थापित गराउनु राम्रो हुनेछ । परधर्म स्वीकार गर्नु वा धर्म निरपेक्ष भई बस्नुको कुनै औचित्य देखिँदैन ।

पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Cartoon of the week


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, March 18, 2013

धर्म निर‌पे‌क्षता घातक सिद्ध

- भक्त खपाङ्गी

ने‌पालको‌ संविधान २०६३ ले‌ ने‌पाललाई गणतन्त्रात्मक मात्र हो‌इन, धर्म निर‌पे‌क्ष र‌ाष्ट्रका रुपमा पनि स्थापित गर‌ायो‌। दो‌स्रो‌ जनआन्दो‌लन ताका ने‌पाली काङ्ग्रे‌स, एमाले‌ जस्ता र‌ाजनीतिक दलले‌ जनताको‌ विश्वास लगभग गुमाइसके‌का थिए। आँधी तुफानजस्तो‌ भएर‌ माओ‌वादीको‌ आगमन र‌ उदय भइर‌ाखे‌को‌ थियो‌। यस दललाई ने‌पाली जनताले‌ एक चामत्कारि‌क शक्तिका रुपमा लिन थाले‌का थिए। लथालिङ्ग भएको‌ र‌ाष्ट्रलाई अब कि त र‌ाजाले‌ नै‌ सम्हाल्न सक्छन् कि त माओ‌वादीले‌ भन्ने‌ ठान्न थालिएको‌ थियो‌। जनता यिनै‌ दुई कित्तामा बाँडिसके‌का थिए। सत्ताबाट पाखा लागे‌का काङ्ग्रे‌स, एमाले‌ जस्ता दलहरु पनि यी दुई शक्तिमध्ये‌ एकको‌ समर्थन गर्न बाध्य बने‌। संवै‌धानिक र‌ाजतन्त्र र‌ बहुदलीय प्रजातन्त्रलाई अङ्गीकार‌ गर्दै‌ आएका यी दलहरुले‌ र‌ाजतन्त्रका विरुद्धमा उभिएको‌ माओ‌वादी दललाई समर्थन मात्र गर‌े‌नन्, सक्रिय सहभागीका रुपमा समे‌त प्रस्तुत भए। ने‌पाली सञ्चार‌माध्यमले‌ त खुले‌र‌ै‌ आन्दो‌लनकार‌ीलाई साथ दिएकै‌ थियो‌। दिनहुँजसो‌ मार‌धाड, तो‌डफो‌ड, आगजनी भइर‌हँदा पनि ‘शान्तिपूर्ण आन्दो‌लन’ भन्न सञ्चार‌माध्यमहरुले‌ छाड्दै‌ छाडे‌नन्। भित्रभित्रै‌ साथ दिँदै‌ आएका विदे‌शी शक्तिहरु पनि खुले‌र‌ै‌ र‌ाजतन्त्रका विरुद्धमा उभिए। र‌ाजतन्त्रवादी क्रमशः कमजो‌र‌ हुँदै‌ गए। उनीहरु हुलमुलमा जीउ जो‌गाउनु नै‌ बुद्धिमानी हुने‌ निक्योर्‌लमा पुगे‌। यस्तो‌ परि‌स्थितिमा र‌ाजतन्त्रविस्थापित भई गणतन्त्र आउनु स्वाभाविकै‌ थियो‌। हुनत काङ्ग्रे‌स, एमाले‌ लगायत सातै‌ दलले‌ आफ्नो‌ विजय ठाने‌ँ। तर‌, वास्तविक विजे‌ता चाहिँ ने‌कपा माओ‌वादी नै‌ थियो‌। जनताले‌ उसै‌लाई साथ दिएका र‌हे‌छन् भन्ने‌ कुर‌ा संविधानसभाको‌ निर्वाचनले‌ पुष्टि गरि‌दियो‌। दुई ठूला दलले‌ पाएको‌ सीट सङ्ख्या जो‌ड्दा उसको‌ छे‌उमा पुग्न सके‌नन्। यस्तो‌ परि‌णामले‌ माओ‌वादीलाई उन्मत्त बनाइदियो‌। यद्यपि, उसको‌ पनि संविधानसभा संसद्मा बहुमत हुन सके‌न। त्यसै‌ले‌ मिलिजुली (गठबन्धन) सर‌कार‌ बन्यो‌, जसको‌ ने‌तृत्व माओ‌वादीबाटै‌ गरि‌यो‌। माओ‌वादी अध्यक्ष कमर‌े‌ड पुष्पकमल दाहाल (प्रचण्ड) ने‌पालका पहिलो‌ गणतान्त्रिक प्रधानमन्त्री बन्नुभयो‌। पहिले‌दे‌खि अधो‌गतितिर‌ लागिसके‌को‌ र‌ाष्ट्रले‌ त्यसपछि त झन् तीव्र गति लियो‌। र‌ाजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शै‌क्षिक क्षे‌त्रमा विचलन आयो‌, अस्तव्यस्तता बढ्दै‌ गयो‌। ने‌पाली भाषालाई र‌ाष्ट्र भाषाको‌ स्थानबाट घो‌क्रे‌ठ्याक लगाइयो‌, दौ‌र‌ासुरुवाललाई सामन्ती पहिर‌न ठाने‌र‌ विस्थापित गरि‌यो‌, चन्द्रसूर्य अङ्कित र‌ाष्ट्रिय झण्डा फे‌नेर्‌ दुस्साहस समे‌त भयो‌, कतिपय ठाउँमा यो‌ डढाइयो‌। ‘ने‌पाल’ शब्दकै‌ विकल्प खो‌ज्न थालिएको‌ भन्ने‌ गाइँगुइँ हल्ला समे‌त सुनिन थालिएको‌ थियो‌। यति हदसम्मको‌ क्रियाकलापलाई ने‌पाली जनताले‌ सहन गर्न सक्ने‌ अवस्था नदे‌खिन थाले‌काले‌ यी दुस्प्रयासहरु त्यतिकै‌ से‌लाए। तर‌, समाजमा चौ‌तर्फी अर‌ाजकता र‌ अस्तव्यस्तता बढ्दै‌ आयो‌। घुसखो‌र‌ी, कमिसनखो‌र‌ी, भ्रष्टाचार‌, महँगी त खपिनसक्नु गर‌ी झाङ्गिदै‌ आयो‌। तर‌, सबै‌भन्दा खतर‌नाक भएर‌ आयो‌ असुर‌क्षा। ने‌पालमा बन्दुके‌ संस्कृतिको‌ विकास हुन गयो‌। यसबाट मुलुकभरि‌ खासगर‌ी र‌ाजधानी र‌ तर‌ाईमा थुप्रै‌ सशस्त्र आपर‌ाधिक गिर‌ो‌हहरु स्थापित भए। लुट, अपहर‌ण, फिर‌ौ‌ती, हत्याका घटना बाक्लै‌ हुन थाल्यो‌। हामी अहिले‌ यही आतङ्कित परि‌वे‌शमा जसो‌तसो‌ बाँचिर‌हे‌का छौ‌ँ। यस स्थितिमा तत्कालै‌ सुधार‌ आउने‌ सङ्के‌त दे‌खिएको‌ छै‌न।

यस्तो‌ अव्यवस्था आउनुमा मूल कार‌ण ने‌पाली र‌ाजनीति नै‌ दे‌खिएको‌ छ। ने‌पाली र‌ाजनीति भनिए पनि यसमा विदे‌शी र‌ाजनीतिको‌ पूर्ण प्रभाव र‌हे‌को‌ दृष्टिगो‌चर‌ हुन्छ। प्रमुख कार‌ण र‌ाजनीति दे‌खिए पनि गम्भीर‌ कार‌णचाहिँ यसै‌ले‌ लिएको‌ गलत धार्मिक नीतिलाई मान्न सकिन्छ। यसै‌का कार‌णबाट पर‌म्पर‌ागत रुपमा स्थापित र‌हे‌को‌ हिन्दु (अधि) र‌ाज्य ने‌पाललाई अनायसै‌ धर्मनिर‌पे‌क्ष र‌ाष्ट्र घो‌षित गरि‌यो‌। ‘कम्प्युटर‌को‌ यस आधुनिक युगमा धर्मको‌ महत्व नै‌ के‌ छ र‌ !’ भन्ने‌ विचार‌ले‌ ओ‌तप्रो‌त कथित आधुनिक बुद्धिजीवी, विद्वान्हरुले‌ यसलाई सहज रुपमा स्वीकार‌ मात्र गर‌े‌नन्, आन्दो‌लनकै‌ ठूलो‌ ‘उपलब्धि’का रुपमा समे‌त लिए। अहिले‌ पनि यसलाई ‘गुमाउन नहुने‌ आन्दो‌लको‌ उपलब्धि’ मान्ने‌हरु पर्याप्त छन्। यसमा पढे‌ले‌खे‌का, सुशिक्षित, आधुनिक, क्रान्तिकार‌ी र‌ प्रगतिशील विचार‌का भनिने‌हरुको‌ सङ्ख्या अत्यधिक दे‌खिन्छ। ‘धर्म वै‌यक्तिक आस्थाको‌ विषय भएको‌ हुनाले‌ र‌ाज्यले‌ नै‌ कुनै‌ विशे‌ष धर्मलाई र‌ाष्ट्रिय धर्मका रुपमा लिनु आवश्यक छै‌न, यसलाई व्यक्तिगत स्वतन्त्रताका रुपमा छाडिदिनुपर्छ, यो‌ पूर्णतः ऐ‌च्छिक विषय हो‌’ भन्ने‌ मान्यता र‌ाखिने‌ गर‌े‌को‌ दे‌खिन्छ। कुनै‌ विशे‌ष धर्म मान्न पाउनु मात्र नागरि‌कको‌ स्वतन्त्रताको‌ हक हो‌इन, कुनै‌ पनि धर्म नमान्न पाउनु पनि उसको‌ मौ‌लिक हक हो‌ भन्ने‌ विचार‌को‌ स्थापना भइसके‌को‌ छ। धर्म वाहियात वस्तु हो‌, अनपढ, अशिक्षित, गँवार‌ र‌ सभ्यताबाट टाढा र‌हे‌काहरु मात्र धर्मको‌ पकडभित्र र‌हन्छन्, सबै‌ कुर‌ा बुझे‌को‌ बुद्धिमान्ले‌ त कुनै‌ खासै‌ धर्म स्वीकार‌ गरि‌र‌हनु आवश्यक छै‌न भन्ने‌ मान्यताको‌ विकास भएको‌ दे‌खिन्छ। खास गर‌ी वामपन्थी विचार‌मा डुबे‌का वामबुद्धिजीवीका लागि त धर्म शो‌षक र‌ सामन्तवर्गले‌ गरि‌ब, निमुखा जनतालाई शो‌षण गनेर्‌ साधन मात्र हो‌। तर‌, धार्मिक आस्था व्यक्तिबाट हटाउन गाह्रो‌ हुने‌ यथार्थलाई स्वीकादैर्‌ यसलाई ‘अफिम’ ठान्छन्, उनीहरु। अफिमलगायत लागुपदार्थको‌ कुलतमा फसे‌कालाई त्यसबाट छुटाउन निक्कै‌ कठिन काम हो‌।

Saturday, March 16, 2013

Cartoon of the week


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, March 11, 2013

महिला हिंसाको एक कारण उदार यौनवाद


- भक्त खपाङ्गी

फागुन २५ गते (८ मार्च)का दिन हाम्रो राष्ट्रले पनि नारी दिवस मनायो । वर्षैभरि आइहरने थुप्रै दिवसमध्ये यो पनि एउटा दिवस हो । दिवस तत्सम शब्द हो, यसको अर्थ दिउँसो वा दिन हो । संयुक्त राष्ट्र संघद्वारा विश्वका विभिन्न पक्षका नाममा यस्ता दिवस तोकिँदो रहेछ । यसका सम्पूर्ण सदस्य राष्ट्रहरुले तोकिएको दिवस मनाउने दिवस मनाउने गर्दा रहेछन् । यस्ता दिवसहरुको अन्य राष्ट्रमा केही सार्थकता हुँदो हो तर हाम्रो देशमा भने यस्ता दिवस सामान्य औपचारिकतामै सीमित रहेका देखिन्छन् । राष्ट्र प्रमुख, सरकार प्रमुख र प्रमुख राजनीतिक दलहरुले सञ्चारमाध्यमहरुमार्फत् वक्तव्य प्रसारित गर्छन्, सम्बन्धित पक्षले औपचारिक कार्यक्रमहरुको आयोजना गर्छ, बस् सकिन्छ । सम्बन्धित क्षेत्रमा यसको कुनै असर र प्रभाव परेको भने देखिँदैन । यही नारी दिवसलाई नै हेरौँ, सन् १९०८ देखि यो दिवस मनाउन थालिएको रहेछ । सय वर्ष नाघिसकेछ, यो दिवस मनाउन थालिएको । तर, खोइ के प्रभाव प¥यो ? नेपालमा मात्र होइन, विश्वमै महिला हिंसा, बेचबिखन, शारीरिक–मानसिक शोषण बढ्दो छ ।

नारी दिवसकै अघिल्लो दिन इटहरीको एउटा लजमा हत्या गरिएकी एक महिलाको लास फेला प¥यो । मोरङ बबिया बिर्ता–२ घर भएकी ती महिलाको नाम मङ्गलादेवी चौधरी रहेछ । एक छोरीकी आमा ती महिलाका पति वैदेशिक रोजगारमा रहेछन् । आफ्नो नाठोप्रेमीसित तिनी त्यस लजमा बस्न पुगेकी रहिछन् । ती प्रेमीचाहिँ टङ्की सिनवारीस्थित सशस्त्र प्रहरीको कङ्कालिनी बेस क्याम्पमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार राजकुमार चौधरी रहेछन् । ती पनि एक छोराका बाबु ।

Weekly Cartoon


साप्ताहिक (कान्तिपुर पब्लिकेशन, काठमान्डु, नेपाल) मा प्रकाशित


Sunday, March 10, 2013

Cartoon of the week


पूर्वको लोकप्रिय अखबार 'प्रतिदिन दैनिक'मा प्रकाशित

Monday, March 4, 2013

हामी किन गरीब ?

- योगेश कुमार खपाङगी


अमेरिकी आर्थिक पत्रीका 'फोर्ब्स'को अर्बपतिहरुको सुचीमा नेपालका बिनोद चौधरी पनि परेछन् । यस अघी कुनै पनि नेपाली धनीहरुको लिस्टमा पर्न सकेका थिएनन् । बधाइ छ गरीब मुलुकका एक्ला धनी बिनोद चौधरीलाई ! यसबाट आमनेपाली खुशी नै छन् । तर प्रश्न यो छ - किन उनिमात्र धनी भये ? हामी किन हुनसकेनौं ? हाम्रो देश किन गरीब भयो ? 


धनी हुनु पनि एउटा कलाकारिताकै काम हो । कलाकार हुनु चानचुने कुरा होइन । त्यसकालागी ठुलो बुद्धी, परिस्रम र साधना चाहिन्छ । त्यसैले धन कमाउने कला अथवा म्याजिक जान्नु जो पायो त्यसको बशको कुरा हुँदैहोइन । तर असम्भव नै चैं भन्ने होइन ।


त्यसो भये हामी गरीब हुनुमा दोश कस्को छ ? कि हाम्रो भाग्य नै यस्तै हो त !

होइन हाम्रो भाग्यको दोश पटक्कै होइन । हाम्रो शिक्षा, संस्कार, हाम्रो धर्म र हाम्रो सोचमै खोट छ । कमजोरी हामी मै छ । काम र धनप्रती हामी कहिलै सकारात्मक भएनौं ।

हाम्रा महाकबीले भने -
'हातको मैला, सुनको थैला, के गर्नु धनले
साग र सिस्नो खाएको बेश आनन्दी मनले'

साथै कबिले 'गरिब' कबिता पनि लेखे र गरीबलाई जती आनन्द अरुलाई छैन भने । हाम्रो कोर्सबुकले लगौंटी मात्र लगाएर 'सादा जीवन' बिताउन प्रेरित गर्ने मोहनदाश करमचन्द गान्धीलाई आदर्श पुरुष भन्यो । हामीले पत्यायौं ।

यस्ता कुराले हाम्रो बालमस्तिष्कमा नराम्ररी डेरा जमायो । अनी हामी सानै देखी धनलाई तुच्छ ठान्न थाल्यौं ।

यतीले मात्र पुगेन हाम्रो धर्मले भन्यो -'यो संसार भनेको दु:खको सागर हो । यस बाट पार पाउन धर्म गर्नु पर्छ । दान गर्नु पर्छ ।' धर्मले दान गर्नु पर्छ त भन्यो तर धन कसरी कमाउने भनेन । यदी हामीसँग धन नै छैन भने के दान गर्ने ? फुँइय्या दान गर्नु ?

अनी पुरोहितहरुले भने- 'धर्म कमाउन यज्ञ गर्नु पर्छ । धान्याचल पर्बत खडा गर । ब्राह्मण भोजन गराऊ । काशी जाऊ । ॠषिकेश जाऊ । बनारस जाऊ । पन्डा-पुरोहितलाई खुशी तुल्याऊ । गंगा, त्रिबेणीमा नुहाऊ । अनी हुन्छ धर्म ।'
'जसो-जसो बाहुन बाजे उसो-उसो स्वाहा !' भन्दै हामीले आगोमा अन्न र घिउ जस्ता प्राकृतिक सम्पत्ती धर्म को नाममा डढाएर भष्म बनायौं । यज्ञ पनि कस्ता कस्ता - खोर्सानी यज्ञ रे ! कालसर्प यज्ञ रे ! अनी अश्व दान, गौदान, स्वर्ण दान । के-के हो के-के ? सबै स्वहा पार्नु पर्ने रे !
 
लाख बत्ती बालेर घिउ र कपासको नाश गर्यौ । शतबीज छर्ने भनेर हजारौं क्विन्टल अन्नको नाश गर्यौ । अनी कहाँबाट हुन्छ हामीसँग पैसा ?

पैसा उठाएर मन्दिर बनायौं, तर बाटो बनाएनौं । विश्वमा हाम्रोमा जती मठ-मन्दिर अन्त छैनन् । बिनोद चौधरीसँग के पैसा छ र ! जती पशुपतीनाथमा छ । मठ-मन्दिरमा करोडौं नगद, सुन-चाँदी त्यत्तिकै फ्रिज भएर बसेको छ । तर मुलुक गरीब छ । कर्णाली र हुम्ला-जुम्लाको के कुरा भो र ! काठमान्डुमै एकदिन काम भएन भने जहान-परिवारले भोकै सुत्नु पर्ने अनगिन्ती गरीब परिवारहरु छन् । त्यसमाथी बेला-बेला हुने 'नेपाल बन्द'ले त उनिहरुको मात्र नभएर अर्थतन्त्र नै तहस-नहस हुने गरेको छ ।

हामी गरीब छौं, त्यसैले हाम्रो सोच छ -'धनी हुन पाप नगरि हुन्न धनीजती गरीबको लुटेर धनी भएका हुन्' । ओशो भन्छन् -'गरिबसँग कहिले सम्पत्ती थियो र धनीले लुट्छ ?'

धनप्रती हामीले कहिलै सम्मान गरेनौं । देबी लक्ष्मीको पूजा आराधना त गर्यौ तर लक्ष्मी कमाउने जतिलाई तिरस्कार मात्र गर्यौ । देशको निती पनि धनीप्रती जहिले पनि नकारात्मक नै रहेको छ । कसरी हुन्छ बढी ट्याक्स लिने भन्ने ध्याउन्नमा मात्र सरकार लागि रह्यो । राजनितिक दलले पनि जनतालाई धन कमाउने अवसरभन्दा दिन्छौ भन्नु भन्दा धनीको धन लुटेर बाँडछौ । सबैलाई समान बनाउँछौ भन्दै आशा मात्र बाँडे ।
सम्पत्तीको नाममा कुखुरा समेत पाल्न नहुने, 'धनी हुनु अभिसाप हो' भन्ने चीनमा देङ स्याओ पिङले 'धनी हुनु राम्रो कुरा हो ।' भने पछीको चीन हेर्नुस् । आज कहाँ पुग्यो । हिजोको गरीब मुलुकहरु भारत, चीन, सिङगापुर, मलेसियाहरु आज संसारका सबभन्दा धेरै धनीहरु बस्ने मुलुकको रुपमा परिचय बनाएकाछन् ।
त्यती भएता पनि विश्व आँकडामा हामी नेपालीको 'ह्याप्पीनेश लेबल' बढी छ रे । आखिर किन ? हामीलाई धर्मले भनेको छ - 'सन्तोषम् परम शुखम् !' अर्थात जत्ती छ त्यत्तीमै चित्त बुजाऊ ।

Sunday, March 3, 2013

Cartoon of the week


पूर्वको लोकप्रिय दैनिक पत्रिका 'प्रतिदिन'मा प्रकाशित

Friday, March 1, 2013

Cartoon of the week


साप्ताहिक(कान्तिपुर पब्लिकेशन,काठमान्डु,नेपाल)मा प्रकाशित